७ वैशाख २०८१ शुक्रबार
समाज

महाँकाल-चुच्चेपाटी क्षेत्रमा बढ्यो कष्ट

काठमाडौं- सडकको एक कुना निर्माण औजारले पुरै ढाकेको छ भने अर्को छेउ हिलाम्मे छ। त्यहीँ ठाउँबाट खनिएको माटो सडकभरि थुपारिएको छ। यो चुच्चेपाटी–महाँकालको दुर्दशा हो। यहाँका बासिन्दाले सडकको दुर्गतिबाट मार खेपेको भूकम्पअघिदेखि नै हो। तर, पछिल्लोपटक सडक खन्ने क्रममा खानेपानीको पाइप नै फुटाइएपछि यतिबेला ठूलै समस्यामा परेका छन् स्थानीयहरु। अव्यस्थित ढंगले ओच्छ्याउँदा पाइप फुटेको स्थानीयको भनाइ छ।

मेलम्चीको पानी ल्याउन यस क्षेत्रमा पनि आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम गरिरहेको छ। निर्देशनालयले भूमिसुधार मन्त्री विक्रम पाण्डेको निर्माण कम्पनी कालिका कन्सट्रक्सनलाई उक्त ठाउँमा पाइप बिच्छ्याउने जिम्मा दिएको छ। यो कम्पनीले लापरबाही ढंगले काम गर्दा  स्थानीयलाई खानेपानीको समेत समस्या परेको छ। ‘पाँच/सात दिनदेखि पानी आएको छैन्,’ स्थानीय मधुसुदन न्यौपानेले भने, ‘किन पानी आएन भनेर कारण बुझ्दै जाँदा पाइप बिच्छ्याउने क्रममा खानेपानीको पाइप पो काटिएको रहेछ।’ यो थाहा पाएपछि स्थानीयवासी शुक्रबार सडकमै उत्रिए। उनीहरु सडकम उत्रिदाँ सम्बन्धित निकायले एकअर्कोलाई देखाएर पन्छिन खोजे। ‘निर्देशनालयले कालिकाले गर्ने हो भन्छ,’ न्यौपानेले भने, ‘कालिकाचाहीँ हामीले होइन भनेर पन्छिरहेको छ।’ कालिका कन्सट्रक्सनका जिम्मेवार व्यक्तिसँग त्यसबारे बुझ्ने प्रयत्न फोन रिसिभ नहुँदा सफल भएन। 

निर्देशनालयका अनुसार पाइप बिच्छ्याउने क्रममा अन्य पाइपहरु टुटफुट भएमा निर्माण कम्पनीले नै मर्मत गर्नुपर्छ। तर फुटेको खानेपानीको पाइप मर्मत गर्न कालिका कन्सट्रक्सन कम्पनीले अटेर गर्दै आएको छ। ‘टुटफुट भएका पाइप कालिकाले तत्कालै मर्मत गर्नुपर्ने हो,’ निर्देशनालयका निर्देशक तिरेसप्रसाद खत्रीले भने, ‘कालिकाले अटेर गर्दा स्थानीयले समस्या पाइरहेका छन्।’ उनका अनुसार स्थानीयको दबाबपछि निर्देशनालयले तत्कालै पाइप जोड्ने व्यवस्था मिलाएको छ। ‘हामीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पाइप तत्कालै जोड्न पत्राचार गरेका छौं,’ निर्देशक खत्रीले भने, ‘पाइप जोड्न शुक्रबारै काम सुरु भएको छ।’ उनका अनुसार निर्माण कम्पनी आफैंले नगरेको खण्डमा क्षतिपूर्ति काटेर भुक्तानी गरिने जनाए।

उसो त कम्पनीले सडकमै माटो थुपार्ने, जथाभाबी पाइप, निर्माण औजार राखेर पनि समस्या खडा गरेको छ। जसले उक्त सडकमा हिँडिसक्नु छैन। गन्तव्यमा पुग्न वैकल्पिक सडक खोज्दै भौतारिनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

महाँकाल–चुच्चेपाटीमा पाइप बिच्छ्याउने कार्य थोरै मात्र बाँकी छ। निर्माण कम्पनीले धमाधम काम गरेको खण्डमा ८/१० दिनमै पाइप बिच्छ्याउने कार्य सकिने निर्देशनालयले जनायो। निर्देशनालयले महाँकाल र चुच्चेपाटीसँग जोडिएका केही भागमा पाइप बिच्छ्याएर कालोपत्रे पनि गरिसकेको छ। बाँकी ठाउँमा पनि निर्माण कम्पनीलाई दबाब दिएर छिटो काम गराई कालोपत्रे गरिने निर्देशनालयका निर्देशक खत्रीले जनाए।

प्रकाशित: १० वैशाख २०७४ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App