१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रहेनन् कलाकार प्रदिप सिंह

काठमाडौं- भारतको कलकत्तामा मृगौला रोगको उपचार गराइरहेका निर्माता तथा कलाकार प्रदिप सिंहको ५१ वर्षको उमेरमा शुक्रबार साँझ ५ बजे निधन भएको छ। तीन दशकदेखि फिल्म क्षेत्रमा क्रियाशील उनले भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिसर्च सेन्टरमा अन्तिम सास फेरेका थिए।

नेपालमा उपचारका क्रममा उनले सञ्चारकर्मीलाई २०७२ सालको भूकम्पपछि मात्र आफ्नो दुवै मृगौलाले काम गर्न छाडेको कुरा थाहा भएको बताएका थिए। ‘म त्यो बेला एक फिल्मको सुटिङमा व्यस्त थिएँ। भूकम्पपछि फिल्मको सुटिङसँगै भूकम्पपीडितलाई पनि सहयोग गरिरहेको थिएँ। त्यही क्रममा एक्कासी वान्ता भएपछि स्वास्थ्य परीक्षण गराउँदा डाक्टरले दुवै मिर्गौला फेल भएको बताए,'उनले भनेका थिए।

२०४१ सालमा फिल्म ‘२५ बसन्त'बाट डेब्यु गरेका उनले हाराहारी सय फिल्ममा अभिनय गरेका थिए। ‘चिनो', ‘दुई थोपा आँशु', ‘देउता', ‘रहर', ‘मितज्यू', ‘कोसेली' र ‘बलिदान'लगायतका फिल्ममा अभिनय गरेका उनले ‘मितज्यू' फिल्म निर्माण गरेका थिए। फिल्मलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए। उनले  पछिल्लोपटक अभिनय गरेको फिल्म भने  ‘पदमिनी' थियो।

प्रदिप सिँह चलचित्र कलाकार संघको कार्यसमितिमा दुई–दुई पटक निर्वाचित भएका थिए। संघका अध्यक्ष रामकेशर बोगटीले सिंहको शव सोमबार मात्र काठमाडौं आइपुग्ने सम्भावना रहेको बताए। ‘उहाँको शवलाई शनिबार नै ल्याउने तयारी गरिए पनि अस्पतालमा कागजात नमिलेको कारणले सोमबारसम्मलाई सारिएको छ,' बोगटीले भने, ‘संघको सक्रियतामा सोमबार शवलाई साढे ३ बजे एयरपोर्ट ल्याएर एक घण्टासम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखेर अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लानेछौं।'

बोगटीले सिंह कलाकारितासँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेको बताए। ‘उहाँ बस्ने बौद्ध क्षेत्रमा समाजसेवामा सक्रिय हुनुहुन्थ्यो। अभिनयपछिको फुसर्दिलो क्षणलाई समाजसेवामै  लगाउनुहुन्थ्यो,' बोगटीले सम्भि्कए, ‘तर भूकम्पको कारणले आत्तिएपछि उहालँाई स्वास्थ्यमा समस्या देखियो। अस्पतालमा जाँच गराउँदा दुवै मृगौलाले काम नगरेको रिपोर्ट आयो।' बोगटीका अनुसार सिंहलाई चालिस दिनअघि उपचारका लागि कलकत्ता लगिएको थियो।

आफ्नो फिल्म ‘२५ बसन्त'बाट अभिनयमा आएका कलाकारको निधनको खबरले आफू विक्षिप्त बनेको फिल्मका निर्देशक नीर शाहले बताए। ‘मैले आज बिहानै यो खबर सुन्दा ‘सक' भएँ। उहाँसँग मैले अनगिन्ती फिल्ममा काम गरें। सांस्कृतिक कार्यक्रम र स्टेजका कार्यक्रममा निकै सक्रिय व्यक्ति हुनुहुन्थ्यो। नयाँ मान्छेलाई मौका दिन रुचाउनुहुन्थ्यो' शाहले भने। मिलनसार र सरल किसिमको व्यक्ति भएकाले पनि प्रदिपलाई सधैँ ‘मिस' गरिरहने नीरले जनाए। 

फिल्म ‘कोसेली'बाट अभिनयमा डेब्यु गरेका निर्माता तथा कलाकार केशव भट्टराईले कलाकार सिंह काममा लगनशील व्यक्ति भएको बताए। ‘उहाँ काममा लगनशील र प्रोडक्सन पनि आफै हेर्ने भएकाले जुझारु किसिमको हुनुहुन्थ्यो,' सिंहसँग करिब १५ फिल्ममा सँगै काम गरेका भट्टराईले सम्भि्कए, ‘उहाँको अभिनय पनि आफ्नै किसिमको थियो। विशेषतः आफ्नो गेटअपमा बढी ध्यान दिने भएकाले निर्माता तथा निर्देशकले पनि त्यहीअनुसारको भूमिका दिन्थे। उहाँले मलाई अभिनयमा पनि धेरै कुरा सिकाउनुभएको छ।'

नेपालमा उपचाररत रहँदा उनलाई भूकम्प लगत्तै राहतमा जुटेका कलाकारहरुको संस्था ‘हामी सबैका लागि' र कलाकार किरण केसीलगायतले पनि उपचारका लागि आर्थिक सहयोग गरेका थिए। २०१५ असार १४ गते काठमाडौंको बौद्धमा जन्मिएमा प्रदिपको एक छोरा, दुई छोरी र श्रीमती छन्।

प्रकाशित: १० वैशाख २०७४ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App