coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टिम चौराहलाई डिपिएल उपाधि

सुजन श्रेष्ठ/दिलबहादुर छत्याल

धनगढी- अप्रत्याशित रूपमा प्लेअफ यात्रा तय गरेको धनगढी टिम चौराहले शनिबार विराटनगर किंग्सलाई ६२ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको उपाधि जितेको छ। समूहचरणको पहिलो तीन खेलमा जितविहीन भएकोे टिम चौराहले अन्तिम खेलमा रूपन्देहीलाई हराएपछि रनरेटका आधरमा प्लेअफ पक्का गरेको थियो। त्यसअघि चौराहले काठमाडौं गोल्डेन्सलाई हराएको थियो।

समूह चरणमा विराटनगरसँग २३ रनले पराजित भएको टिम चौराहलाई फाइलन जिताउन आरिफ शेखले अलराउन्ड प्रदर्शन गरे। आरिफले ३० बलमा ५४ रन बनाए भने ३ ओभरमा १६ रन दिएर २ विकेट लिए।

‘पहिलो तीन खेलमा पराजित भएपछि हामीलाई सबै खेल जित्नै पर्ने थियो। जित्नुको विकल्प थिएन,' चौराहका कप्तान पारस खड्काले भने, ‘खेलाडीहरूले मिहिनेत गरे। चाहिएको समयमा उनीहरूले राम्रो प्रदर्शन गरे। जुन उत्सुकताका साथ उनीहरूले खेले त्यसको परिणाम हामी उपाधि जित्न सफल भएका छौं।'

सेती अञ्चल प्रहरी कार्यालयको क्रिकेट मैदानमा टस जितेर ब्यािटङ गरेको धनगढी टिम चौराहले राम्रो सुरुआत गर्न सकेको थिएन। ओपनर राजु रिजाललाई शून्य र अनिलकुमार मण्डललाई २ रनमा गुमाएको चौराहको इनिङ कप्तान पारस खड्का र आरिफ शेखले सम्हालेका थिए। राजु र अनिल दुवैलाई सुशील कँडेलले पवेलियनको बाटो देखाएका थिए। यससँगै विराटनगरका सुशील कँडेल प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन्। ७ इनिङमा २५ ओभर बलिङ गर्दै १७ विकेट लिन सफल सुशील म्यान अफ दी सिरिज घोषित भए। सुशीलले टिभिएसको आरटिआर २०० मोटरबाइक जितका छन्। दोस्रो स्थानमा रूपन्देहीका शाहब आलमले १६ विकेट लिएका छन्। प्रतियोगितामा आफूलाई प्रमाणित गर्न सके पनि फाइनलमा पराजित हुँदा रमाउन नसकेको सुशीलले प्रतिक्रिया दिए।

‘विराटनगरले जुन विश्वास गर्‍यो त्यसमा म खुसी छु। बिरामी भएर खेल्न सक्छु कि सक्दिनँ भन्ने दुबिधा थियो तर आज ममाथि टिमले गरेको विश्वासलाई न्याय गर्न सकेकोमा खुसी छु,' सुशीलले थपे, ‘आज फाइलन जित्न पाएको भए मेरो प्रदर्शनले अझै सार्थकता पाउने थियो।'

पारस र आरिफले सम्हालेको टिम चौराहको इनिङमा अमर राउटेलाको आक्रामक ब्याटिङ थपिएपछि कप्तानले टस जितेर ब्यािटङ गर्ने निर्णय सही साबित भएको थियो। अमरले १५ बलमा ३ चौका र २ छक्कासहित अविजित ३१ रन जोडे। उनले पाँचौं विकेटका लागि आरिफसँग ६३ रनको साझेदारी गरेका थिए भने सौरभ खनालसँग छैटौं विकेटका लागि १५ रनको अविजित साझेदारी गरेपछि चौराहले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन जोडेको थियो। त्यसमध्ये १ सय १८ रन पछिल्लो १० ओभरमा जोडेको थियो। १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८.१ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्र जोड्न सक्यो।

विराटनगरका कप्तान शरद् भेषावकरले पनि आरिफ र अमरसिंहको प्रशंसा गर्न छुटाएनन्। ‘पारसले एउटा आधार बनाइदिएका थिए। पछि आरिफ र अमरले जुन ब्याटिङ गरे त्यसले खेलको मोड परिवर्तन गर्‍यो। उनीहरूले उत्कृष्ट ब्याटिङ गरे,' विपक्षी टोलीले राम्रो ब्याटिङ गरेको भन्दै शरदले थपे, ‘यो सानो मैदानमा १ सय ५९ रनको लक्ष्य पछ्याएर जित्न नसक्ने भन्ने होइन। विकेट हातमा राखेर पछि खेल्ने योजना थियो तर १० ओभरपछि लामो सट खेल्दा विकेट गुमायौं। चौराह जितको हकदार थियो। उनीहरूले राम्रो क्रिकेट खेले।'

त्यसअघि २८ बलमा ४ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरेका आरिफले पारससँग ४४ रनको महŒवपूर्ण साझेदारी गरेका थिए। आरिफलाई जितेन्द्र मुखियाले अनिल शाहमार्फत क्याच गराए। पारसले ३४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए। पारस प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्। पारसले प्रतियोगितामा ८ इनिङ खेल्दै १ सय ७५ रन बनाए। १ सय ६८ रन बनाएका चौराहकै आरिफ दोस्रो स्थान छन्।

१ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले राम्रो सुरुआत गर्न सकेन। चौथो ओभरको पहिलो बलमा ओपनर आसिफ शेखलाई गुमाएको विराटनगरले त्यसपछि निरन्तर विकेट गुमायो। विराटनगरका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। कप्तान शरद भेषावकर २ रनमा पवेलियन फकर्िंदा आश गरिएका युवा खेलाडी दीपेन्द्रसिंह ऐरी पनि १३ रन जोड्दा सुसन भारीको बलमा एलबिडब्लु आउट भए। प्रनित थापामगरले बनाएको २७ रन विराटनगरको इनिङमा बनेको सबैभन्दा धेरै रन रह्यो। प्रनितले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे। ओपनर अमित श्रेष्ठले २७ बलमा ४ चौकासहित २६ रन बनाए। अनिल शाह र दीपेन्द्रसिंह ऐरीले समान १३ रनको स्कोर बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टिम चौराहका सुसन भारीले ३ विकेट लिए भने आरिफ र सौरभ खनालले समान २/२ विकेट लिए। रामनरेश गिरी र ललित राजवंशीको नाममा १/१ विकेट रह्यो।

प्रकाशित: १० वैशाख २०७४ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App