८ वैशाख २०८१ शनिबार
खेल

हसन २०-ट्वान्टीको नयाँ कप्तान

ढाका- बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले शनिबार अलराउन्डर शाकिब अल हसनलाई ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कप्तानका रूपमा नियुक्त गरेको छ। शाकिबले संन्यास लिइसकेका तीव्र गतिका बलर मासरफ मोर्ताजालाई कप्तानका रूपमा स्थानान्तरण गर्नेछन्।

श्रीलंकाविरुद्ध हालै सम्पन्न शृंखलादौरान मासरफले छोटो स्वरूपको क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। मासरफले संन्यास लिए पनि नयाँ कप्तान नियुक्त गरिनसकेको बिसिबीले शनिबार मुख्यालय ढाकामा बसेको वैठकबाट शाकिबलाई जिम्मेवारी दिने निर्णय गरेको थियो।

‘मासरफले संन्यास लिइसकेको अवस्थामा नयाँ कप्तानका रूपमा बंगलादेशको ट्वान्टी–२० अन्तर्राष्ट्रिय टिमको नेतृत्व शाकिबलाई दिने विषयमा बोर्डमा सर्वसम्मत निर्णय भयो,' बिसिबीका अध्यक्ष नाजमुल हसनले बैठकपछि पत्रकारहरूसँग भने, ‘केही अरू नाममाथि पनि छलफल भएको थियो। तर अन्त्यमा हामी सबै जना शाकिबलाई नेतृत्वको जिम्मेवारी दिनेमा सहमत भयौं।'

शाकिबले जुलाईमा पाकिस्तानविरुद्ध हुने शृंखलामार्फत कप्तानका रूपमा जिम्मेवारी वहन गर्नेछन्। शाकिबले यसअघि २००९ देखि २०११ सम्म सबै स्वरूपका क्रिकेटमा बंगलादेशी टिमलाई नेतृत्व गरेका थिए। त्यति बेला बंगलादेशले चार ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको थियो। ती सबमा बंगलादेश पराजित भएको थियो।

ट्वान्टी–२० मा शाकिबलाई कप्तान नियुक्त गरेपछि बंगलादेशी क्रिकेटमा तीन स्वरूपमा तीन फरक कप्तान हुने भएका छन्। टेस्ट टोलीको नेतृत्व मुस्पि्ककर रहिमले गरिरहँदा एकदिवसीय अन्तर्राष्ट्रियमा अझैसम्म मासरफ नै कप्तान छन्।

प्रकाशित: १० वैशाख २०७४ ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App