७ वैशाख २०८१ शुक्रबार
खेल

करातेकोे अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

‘छैटौं अन्तर्राििष्ट्रय आमन्त्रण सितोरियो कराते प्रतियोगिता’का आयोजक प्रतियोगिताबारे जानकारी दिँदै । तस्बिर : भीम चापागाईं

फिक्कल – जिल्लाको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा ‘छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण सितोरियो कराते प्रतियोगिता’ आयोजना गरिने भएको छ । नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंकाका ४ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् । 

आयोजक सितोरियो कराते संघले फिक्कलमा पत्रकार सम्मेलन आयोजना गरी वैशाख १६ र १७ गते फिक्कल बजारमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो । प्रतियोगितामा इलामका अढाई सय, भारतका ३ सय, श्रीलंकाका २५ भुटानका १५ र बंगलादेशका पनि त्यही हाराहारी खेलाडीले सहभागिता जनाउने संघ अध्यक्ष तथा करातेका अन्तर्राष्ट्रिय निर्णायक योगेश चाम्लिङले बताए । ‘तर, बाहिरी देशबाट आएका थोरै संख्याका खेलाडीले चाहिँ भाग नलिनेसम्म सम्भावना पनि रहन्छ,’ उनले भने, ‘बाहिरबाट आउनेहरूमध्ये केहीले चाहिँ घुम्ने उद्देश्य मात्र राखेका हुन सक्छन् ।’ 

उनले इलामबाहेक नेपालका अन्य जिल्लाबाट खेलाडी सहभागी नहुने बताए । ‘हामी इलामे खेलाडी नै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पर्याप्त छौं भन्ने लागेर अन्य जिल्लाका साथीहरूलाई बोलाइएन,’ चाम्लिङले भने, ‘जिल्लाकै खेलाडीको क्षमता विकास गर्ने र करिअर बनाउने प्रतियोगिताको उद्देश्य हो ।’ चाम्लिङले जिल्लालाई खेलकुद क्षेत्रमा पनि चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । 

प्रतियोगितामा पुरुषतर्फ २० देखि ७५ किलो तौलसमूह र त्यसभन्दा माथि खुला गरी २० बेग्लाबेग्लै समूहमा प्रतिस्पर्धा गराइने छ । महिलातर्फ २५ देखि ६५ र त्यसभन्दा माथि खुला गरी ११ तौल समूहमा प्रतिस्पर्धा गराउने उनले जनाए । प्रतियोगिताका विजेताले मेडल र प्रमाणपत्र पाउने छन् । विजेता र उपविजेता टिमलाई ट्रफी प्रदान गरिने छ । ‘प्रतियोगितामा खेलाडी छान्न जिल्लाका २२ स्थानमा प्रशिक्षण दिइरहेका छौं,’ अन्तर्राष्ट्रिय निर्णायक चाम्लिङले भने, ‘जिल्लाका ७ सय खेलाडीबाट प्रतियोगितामा भाग लिने अढाई सयजति छान्नुपर्नेछ ।’  

सहभागी हुन आउने खेलाडीलाई सूर्याेदय होटल संघको समन्वयमा थोरै मूल्यमा खाने–बस्ने व्यवस्था मिलाइएको छ । करिब ११ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताका लागि     नेपाल आइस मुख्य प्रायोजक रहने भएको छ । जिल्ला समन्वय समिति, सूर्याेदय नगरपालिका कार्यालय, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति, सूर्याेदय होटल संघ, नगरपालिकाका चिया उद्योगहरूलगायतले पनि प्रतियोगिता आयोजनामा सहयोग गर्ने वचन दिएको आयोजकले जनाएको छ । 

जिल्लामा २०४७ सालमै कराते प्रतियोगिता आयोजना गरिएको थियो । तर, खेल विकासका लागि सबै पक्षको चासो र सहयोग नहुँदा कराते खेलको विकास हुन नसकेको चाम्लिङले बताए । ‘हामीले इलाममै अहिलेसम्म ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसक्यौं,’ उनले भने, ‘कहिले दुर्गम गाउँ, कहिले सडकतिर प्रतियोगिता आयोजना गर्दा यसलाई खेल क्षेत्रभन्दा बाहिरका व्यक्तिले धेरै चासो दिएको पाइएन ।’ 

संघका प्रदीप सैजुले प्रतियोगिताका माध्यमबाट खेल कौशलमात्र होइन, जिल्लाको पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने भएकाले यसप्रति सबैको ध्यान जान जरुरी रहेको बताए । ‘विदेश र स्वदेशबाट आउने खेलाडीसँग पनि उनीहरूका आफन्त र अभिभावक आएका हुन्छन्,’ सैजुले भने, ‘प्रतियोगिता हेर्न आउने दर्शक र पाहुनाका कारण पनि स्थानीय व्यवसायीले प्रत्यक्ष फाइदा लिइरहेका हुन्छन् ।’ उनले यो पटकको प्रतियोगितामा भने विगत वर्षहरूको भन्दा निकै खेलप्रेमीले चासो देखाएकाले प्रतियोगिता भव्य हुने आशा गरेको सुनाए ।

    

प्रकाशित: १० वैशाख २०७४ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App