८ वैशाख २०८१ शनिबार
अन्य

शंकराचार्यपूर्व ब्रह्मसूत्रको व्याख्या

हाँडीगाउँको डबलीबाट पूर्वतिर ओर्लेपछि सत्यनारायणको मन्दिर आउँछ। मन्दिरअगाडि एउटा गरुडध्वज स्तम्भ छ, जसमा एउटा अभिलेख कुँदिएको छ।

लिच्छवीकालीन राजा वसन्तदेवका पालामा अनुपरमले कुँदेको विश्वास गरिने यस अभिलेखको लिच्छवीकालीन अभिलेखमा छुट्टै महत्व रहेको छ। ७३ पंक्ति रहेको अभिलेखमा महर्षि द्वैपायनको स्तुति लेखिएको छ। यस अभिलेखमा अनुपरमले ब्रह्मसूत्रका बारेमा केही उल्लेख गरेको इतिहासका जानकार ज्ञानमणि नेपाल बताउँछन्।

पतञ्जली ब्रह्मसूत्रको भाष्य आठौँ शताब्दीमा दक्षिण भारतका आदि शंकराचार्यले गरेको भनिन्छ, त्यसअघि नै नेपालमा भइसकेको इतिहासविद् नेपाल बताउँछन्। यसको प्रमाण हाँडीगाउँको अभिलेख भएको र उक्त अभिलेखमा उल्लेख भएका केही पंक्तिले यसलाई पुष्टि गर्ने नेपालको तर्क छ। शंकराचार्यले ब्रह्मसूत्रको व्याख्या गर्नुभन्दा दुई सय वर्षअघि नै हाँडीगाउँको उक्त अभिलेखसहितको स्तम्भ अनुपरमले लगाएको विश्वास गरिन्छ।

हाँडीगाउँको अभिलेखले लिच्छवीकालमै नेपालमा वेदाध्ययन, महाभारतको पठन तथा दर्शनशास्त्रको चिन्तन–मनन हुन्थ्यो भन्ने पुष्टि हुने इतिहासविद् बताउँछन्। हाल ब्रह्मसूत्रबारे शंकराचार्यले भाष्य गरेको शांकरभाष्यलाई सबैभन्दा पुरानो भाष्य मानिन्छ। हाँडीगाउँमा अहिले पनि अस्तित्वमा रहेको यो अभिलेखको माथिल्लो भाग टुटफुट भएर शिलालेख मेटिइसकेको छ।

संस्कृतिविद् डा. जगमान गुरुङ वेदव्यासले बनाएको ब्रह्मसूत्रलाई शंकराचार्यले भाष्य गर्नुपहिले नै नेपालका अनुपरमले भाष्य गरेको जीवित इतिहासका रुपमा हाँडीगाउँको गरुडध्वज अभिलेख रहेको बताउँछन्। ‘ब्रह्मसूत्रको भाष्य पहिलोपटक दक्षिण भारतका आदि शंकराचार्यले गरेको भनेर संसारभर चर्चा गरिन्छ। तर, त्यसभन्दा पहिले नै नेपालमा वेदान्तको अध्ययन हुन्थ्यो भन्ने प्रमाण हाँडीगाउँको अभिलेख हो,' गुरुङले भने।

धनबज्र बज्राचार्यको ‘लिच्छवीकालका अभिलेख' पुस्तकमा अभिलेखको अन्त्यमा रहेको पंक्तिले अभिलेख अनुपरमले रचना गरेको प्रमाणित हुने उल्लेख गरिएको छ। अनुपरम को हुन् भन्नेबारे पशुपतिको आभिरीको अभिलेखमा उल्लेख गरिएको छ। सो अभिलेखमा लिच्छवीकालीन सहायक शासक भीमगुप्तकी आमा आभिरीले आफ्नो पतिका नाममा शिवलिंग स्थापना गरेको र अभिलेखमा अनुपरमेश्वर स्थापना गरेको कुरा लेखाएको उल्लेख छ। सो अभिलेखले अनुपरम भीमगुप्तका पिता तथा राजखलक भएको पुष्टि हुने इतिहासविद् नेपालको दाबी छ।

ब्रह्मसूत्रका बारेमा वेद–वेदान्तका जानकारले मात्र व्याख्या तथा भाष्य गर्न सक्छन् भन्ने विश्वास गरिन्छ। हाँडीगाउँको अभिलेखले लिच्छवीकालमै नेपालमा वेदाध्ययन, महाभारतको पठन तथा दर्शनशास्त्रको चिन्तन–मनन हुन्थ्यो भन्ने पुष्टि हुने इतिहासविद् नेपाल बताउँछन्। हाल ब्रह्मसूत्रबारे शंकराचार्यले भाष्य गरेको शांकरभाष्यलाई सबैभन्दा पुरानो भाष्य मानिन्छ। हाँडीगाउँमा अहिले पनि अस्तित्वमा रहेको यो अभिलेखको माथिल्लो भाग टुटफुट भएर शिलालेख मेटिइसकेको छ। बाँकी भाग भने अहिले पनि स्पष्ट देख्न सकिन्छ।

यसको संरक्षणका लागि भने कुनै पहल भएको छैन। ऐतिहासिक सम्पदाको संरक्षण गर्ने पुरातत्व विभागले यसको संरक्षणका लागि हाल कुनै पहल नगरेको जनाएको छ। विभागका एक अधिकारीका अनुसार त्यस स्थानमा रहेका अन्य पुरातात्विक वस्तुको संरक्षण भए पनि स्तम्भलाई अन्य स्थानमा सार्न नमिल्ने भएकाले त्यसको संरक्षणमा खासै पहल नभएको हो।

के हो ब्रह्मसूत्र?

हिन्दूधर्म दर्शनका ६ दर्शनमध्ये ब्रह्मसूत्रलाई एउटा महत्वपूर्ण दर्शन मानिन्छ। वेदान्त सूत्र समेत भनिने यस दर्शनका रचयिता बादरायण मानिन्छन्। वेदान्तका मुख्य तीन स्तम्भमा उपनिषद्, भागवद्गीतासँगै ब्रह्मसूत्र पनि एक मानिन्छ। तीनमध्ये ब्रह्मसूत्रलाई न्याय प्रस्थान भनिन्छ। ब्रह्मसूत्रले वेदान्तलाई तर्कपूर्ण ढंगले प्रस्तुत गर्ने भएकाले यसलाई न्याय प्रस्थान भनिने हिन्दू धर्मका जानकार बताउँछन्। ब्रह्मसूत्रका विभिन्न चार अध्याय रहेका छन्। जसलाई समन्वय, अविरोध, साधन र फलका रूपमा जानिन्छ। ब्रह्मसूत्रमा कुल पाँच सय ५५ सूत्र रहेको जनाइन्छ। 

शंकराचार्य र ब्रह्मसूत्रको सम्बन्ध?

पछिल्लो समय ब्रह्मसूत्रका विभिन्न भाष्य लेखिएको छ। त्यसमध्ये शंकरभाष्य सबैभन्दा पुरानो मानिन्छ। सन् ७८८ मा दक्षिण भारतको केरलामा जन्मिएका शंकराचार्यले १६ वर्षको उमेरमा ब्रह्मसूत्रको शांकरभाष्य गरेको विश्वास गरिन्छ। आठ वर्षको उमेरमा चार वेदका ज्ञाता, १२ वर्षमा सबै शास्त्रका जानकार र ३२ वर्षमा शरीर त्यागेका शंकराचार्यलाई भगवान्को अवतारका रुपमा हेरिन्छ। विशेषगरी भारत लगायत हिन्दू बाहुल्य क्षेत्रमा उनलाई नै ब्रह्मसूत्र भाष्यकर्ताका रुपमा लिइन्छ। उनले त्यसको भाष्य गर्नुपहिले नै नेपालमा ब्रह्मसूत्र भाष्य गरेको जीवित इतिहासका रूपमा अनुपरमको अभिलेख रहेको छ।

प्रकाशित: १० वैशाख २०७४ ०५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App