coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोसी तोकिएभन्दा पहिल्यै सम्पन्न गर्न पुनः घिसिङको निर्देशन

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई तोकिएको समयभन्दा अगाडि सम्पन्न गर्ने वातावरण मिलाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः निर्देशन दिएका छन् । 

सो आयोजनामा लगानी गर्ने नेपाल टेलिकम, बिमा संस्थान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषका प्रमुख तथा प्रतिनिधिसहित आयोजनास्थल पुगेका कार्यकारी निर्देशक घिसिङले दोस्रोपटक सो निर्देशन दिएका हुन् । कुल चार सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिट २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य राखिएकामा समयभन्दा अगावै सम्पन्न गर्न प्राधिकरणले उपाय खोजिरहेको छ । 

ऊर्जामन्त्री जनार्दन शर्माले आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न के के उपाय अपनाउन सकिन्छ भन्ने विषयमा तयारी गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए । मन्त्री शर्माको सो निर्देशनपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालक समितिका अध्यक्षसमेत रहेका घिसिङले आयोजनामा प्रमुख लगानी गर्ने साझेदारको बैठकसमेत आयोजनास्थलमा नै राख्नुभएको प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । 

आयोजनाको हाल भौतिक प्रगति करिब ८८ प्रतिशतको हाराहारीमा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शर्माको पटक पटकको स्थलगत अनुगमनका कारण पनि पछिल्लो दिनमा आयोजनाको भौतिक प्रगति उच्च भएको हो । विद्युत् आयातलाई कम गर्न महत्वपूर्ण मानिएको माथिल्लो तामाकोसी आयोजना गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दी नभएको भए यतिखेर सञ्चालनमा आइसक्ने अनुमान थियो । 

आयोजनाको सुरुको लागत रु ३५ अर्ब रहे पनि नाकाबन्दी र भूकम्पका कारण लागत रु ४१ अर्ब पुगेको छ । प्रवक्ता न्यौपानेले आयोजनालाई सहजरुपमा अगाडि बढाउने र तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउन के के गर्न सकिन्छ भनेर कार्यकारी निर्देशक घिसिङले आवश्यक निर्देशन दिएको जानकारी दिए । रासस 

प्रकाशित: १० वैशाख २०७४ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App