१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

रङमा रमाएको परिवार

–रामकुमार डिसी
‘यता पट्टिको मेरो, उताको चाहिँ छोराको,’ काठमाडौँ, छाउनीस्थित घरमा छिर्नेबित्तिकै कलाकार किरण मानन्धरले पेन्टिङले भरिएको आफ्नो स्टुडियो  घुमाउँदै भने । स्टुडियो उनको अढाईतले घरको भुइँतलाभरि फैलिएको छ ।
किरणको पारिवारिक माहोल नै कलामय छ । ‘हाम्रो घर नै स्टुडियो र स्टुडियो नै घर हो,’ उनले भने । छ जनाको परिवार हो उनको । पेन्टिङमा किरण एक्ला छैनन् । छोरा सागर उनका बलिया खम्बा हुन् । सागर काठमाडौँ विश्वविद्यालयमा फाइन आर्ट पढाउने पनि गर्छन् ।
किरणकी श्रीमती सरिता आफैँ पेन्टिङ गर्दिनन् तर ब्रस, रङ र  क्यानभासहरूसँग भने उनको गहिरो लगाव छ । ‘म पेन्टिङ नगरी बस्दा उनी मलाई काम गर्न प्रेरणा दिन्छिन्,’ किरणले श्रीमतीको सहयोगबारे सुनाए, ‘ब्रस, रङ र क्यानभासमा सघाउँछिन् ।’
छोरी करुणाको  विवाह भैसकेको छ । उनी पनि पेन्टिङ गर्छिन् । कलाभन्दा व्यवस्थापनको पढाइ रोजेपछि उनको काममा भने केही सुस्तता आएको छ । उनी अहिले सिम्रिक एयरलाइन्समा म्यानेजर छिन् । त्यस्तै, किरणकी बुहारी रुबी पेशाले पोषणविद् हुन् । सागर र उनकी तीन महिनाकी सानी छोरी छिन् । रुबीलाई पनि कलामा रुचि छ ।
मध्यवर्गीय परिवारमा जन्मिएका हुन्, किरण । उनका बुबा मेकानिक थिए । त्यसैले छोरा इन्जिनियर बनिदेओस् भन्ने चाहन्थे । ‘त्यता मेरो रुचि नै नभएकाले पेन्टिङतिर लागियो । बुबाको चाहना पूरा गर्न सकिनँ,’ किरणले भने । घरलाई आफ्नो कलाको पहिलो विश्वविद्यालय मान्ने उनी विष्णुमतीको किनारलाई दोस्रो विश्वविद्यालय मान्छन् । ‘स्कुलभन्दा बढी विष्णुमतीको किनारमा जान्थें। बालुवाको थुप्रोसँग खेल्थेँ,’ उनले भने, ‘त्यहीँका मन्दिर र मूर्तिबाट प्रभावित भएर चित्रकला सिकेँ ।’
मानान्धर परिवारमा अधिकांश समय ब्रस, रङ र क्यानभासकै कुरा हुन्छ । ‘भान्सामा सरीता गीत गाउँछिन्, म क्यानभासमा चित्र कोर्छु,’ किरणले भने, ‘मेरो पेन्टिङमा धेरै सहयोग उनी नै गर्छिन् । म माध्यम मात्रै हुँ ।’ उता, सरीता चित्रकारिता आफ्नो भान्साकोठासम्मै छिरेको बताउँछिन् । ‘खाना बनाउँदा पनि कलाकै कुरा हुन्छ,’ उनले भनिन्, ‘खाना खाने टेबुलमा पनि कलाकै कुरा हुन्छ ।’
एउटा कला प्रर्दशनीमा २०३७ सालमा किरण र  सरीताको भेट भयो । भेटघाटको एक वर्षपछि उनीहरूले लगनगाँठो कसे । ‘एक वर्षसम्म एक अर्कालाई बुझ्यौँ,’ किरणले सम्झिए, ‘दुवै जनाले सँगै जुनी बिताउन सक्छौँ भन्ने भएपछि बिहे ग¥यौँ ।’
उनीहरूबीच कहिलेकाहीँ समान्य कुरामा ठाकठुक भए पनि यसले ठूलो रूप भने लिन भ्याउँदैन । ‘सम्झाउनुपर्ने, फकाउनुपर्ने गरी हाम्रो विवाद नै हुँदैन,’ सरीताले भनिन्, ‘बिहेअघि नै एकअर्कालाई राम्रोसँग बुझ्यौँ । अहिले सायद त्यही समझदारीले काम गर्दैछ ।’ लगत्तै किरणले थपे, ‘धेरै रिसाए म पेन्टिङ गर्न छोड्छु । त्यो रिस पनि उनका कारण लामो समय टिक्दैन ।’
छोरा सागरका अनुसार उनीहरूको परिवारभित्र आमाबुबा, छोराछोरीभन्दा मित्रताको सम्बन्ध बलियो छ । ‘परिवारमा हामी  साथीभाइजस्तै छौँ,’ उनले भने ।
आफ्नो कामलाई छोराछोरीले पनि निरन्तरता दिएपछि किरण दंग छन् । ‘छोराले बाजेको बिँडो थाम्ला जस्तो लागेको थियो,’ उनले भने, ‘तर, उसले पनि इन्जिनियरिङ नपढेर कला पढ्यो, पेन्टिङमा लाग्यो । छोरी पनि राम्रो पेन्टिङ गर्छिन् ।’
बुबाबाट छोराले पेन्टिङ कसरी सिके त ? ‘सानो छँदा  पेन्टिङमा खासै रुचि थिएन,’ सागरले भने, ‘तर, घरमा कलाको माहोल थियो । बुबाको स्टुडियोमा छिर्थें, जानी नजानी क्यानभासमा ब्रसले रङ पोत्थेँ । क्यानभास बिर्गादा बुबाले गाली होइन, प्रोत्साहन गर्नुहुन्थ्यो । राम्रो भनेर प्रशंसा गर्नुहुन्थ्यो । बिस्तारै कलामा रस बस्न थाल्यो ।’
पेन्टिङबारे परिवारमा विमर्श पनि हुन्छ । ‘मेरो पेन्टिङमा उनीहरूले फिड्ब्याक दिन्छन् । म उनीहरूकोमा दिन्छु । यसो गर्दा राम्रो हुन्थ्यो भनेर भन्छु,’ किरणले भने, ‘उनीहरूले राम्रो छ भनेपछि मात्रै काम रोक्छु ।’ यद्यपि, उनी चित्र कोर्ने काम कहिले पनि पूरा नहुने बताउँछन् । ‘म अझै पनि राम्रोसँग चित्र कोर्न जान्ने भएको छैन,’ उनको तर्क छ, ‘म जान्ने भएपछि चित्र कोर्न छोड्छु ।’
पेन्टिङमा मात्र होइन, भान्सामा पनि किरण–सरीता सहकार्य जारी छ । किरण खाना पकाउन निकै सोखिन छन् । सरीता भन्छिन, ‘भान्सामा पनि उहाँ सहयोगी हुनुहुन्छ । बे्रकफास्ट बनाउनुहुन्छ ।’

उनीहरू बेलाबेला बाहिर गएर पनि खान्छन् ।  प्रायः दरबारमार्ग पुग्छन् । शनिवार भने उनीहरू घरमै जमघट भएर रमाइलो गर्छन् । ‘शनिवार छोरी–ज्वाइँ पनि आउँछन् । सबै घरमै बसेर रमाइलो गर्छौं,’ सरीताले भनिन् ।
अहिले खुशी र सुखी मानन्धर परिवार कुनै बेला अप्ठ्यारोमा थियो । ‘अहिले जस्तो उस बेला चित्रकारिताको  सम्मान पनि थिएन, पैसा पनि थिएन,’ किरणले सम्झिए, ‘त्यो बेला धेरै अप्ठ्यारा झेलियो । सानो आवश्यकता पूरा गर्ने हैसियत पनि हाम्रो परिवारको थिएन ।’ तर, सामान्य कुरामा पनि रमाउन सक्ने भएकाले धेरै दुःख भने भोग्न नपरेको उनको भनाइ छ । ‘केही नहुँदा पनि हामी खुशी नै भयौँ,’ उनले भने, ‘खान नपाउँदा पनि घरमा कलह भएन ।’ अहिले चित्रकारिताप्रतिको सम्मान बढ्नुका साथै आर्थिक उपार्जन पनि राम्रो हुन थालेको उनले बताए । ‘अहिले एउटै पेन्टिङ लाख रुपैयाँसम्म बिक्री हुन्छ,’ उनले भने ।
बाबु र छोराका पेन्टिङ गर्ने तरिका भिन्न छ । ‘म मन, मस्तिष्कले जे गर भन्छ, त्यही  पेन्टिङमा उतार्छु,’ उनले भने, ‘तर, सागर अध्ययन र अनुसन्धानपछि मात्रै पेन्टिङ गर्छ । चित्रबारे ऊ लेख्ने पनि गर्छ ।’ बाबुको शैलीबारे सागरको धारणा छ, ‘पेन्टिङमा उहाँको एउटा आफ्नै शैली बनिसकेको छ । नारीप्रधानता उहाँको पेन्टिङको विशेषता हो । म आफ्नै शैली बनाउन खोज्दैछु । पेन्टिङलाई प्राज्ञिक बनाउन र अनुसन्धानसँग जोड्न कोसिस गर्दैछु ।’
मानन्धर परिवारमा रङमा रमाएको छ । पेन्टिङलाई साथ दिने परिवार भएकाले किरण आफूलाई धन्य सम्झन्छन् । ‘घरको आधाभन्दा बढी भागमा स्टुडियो छ,’ उनले भने, ‘पेन्टिङलाई साथ नदिने परिवार भइदिएको भए यो कसरी सम्भव हुन्थ्यो ?’ तर, सागर भने परिवार नै पेन्टिङमा हुँदा बेफाइदा भएको तर्क गर्छन् । ‘किरण मानन्धरको छोरा भएपछि मेरो पेन्टिङ धेरै राम्रो हुनुपर्छ भन्छन् । मप्रति अरूको अपेक्षा उच्च हुन्छ,’ उनले भने, ‘कतिपयले त मेरो पेन्टिङ भन्दा पत्याउँदैनन् । ‘बुबाले गरिदिएको होला’ भन्छन् । कतिपय चाहिँ ‘बाउ कलाकार भएपछि छोराले पेन्टिङ गर्नु के ठूलो कुरा भयो र ?’ भन्छन् । आफ्नो सिर्जनाको उचित मूल्यांकन नगरिदिँदा दुःख लाग्छ ।’
किरण भने नयाँ पुस्ताबाट आफूले धेरै आशा गरेको बताउँछन् । भन्छन्, ‘पुरानो पुस्ता खुम्चिएर बसेकाले पेन्टिङमा खासै केही गर्न सकेन । नयाँ पुस्तामा धेरै क्षमता छ ।’

(नागरिक परिवारबाट)

प्रकाशित: १० वैशाख २०७४ ०९:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App