८ वैशाख २०८१ शनिबार
अन्य

कामको उमेर हुँदैन

–रामकुमार डिसी

तन्नेरीले झैँ सक्रिय जीवन बाँचिरहेका ज्येष्ठ नागरिक धेरैका आदर्श हुन् । अर्कातिर, पेट पाल्नका लागि बुढेसकालमा हड्डी घोट्ने पनि छन् ।
‘म कहिल्यै बुढो हुनेछैन । मेरा लागि वृद्धावस्था १५ वर्षको किशोरवयजस्तै हो’– बेलायती लेखक फ्रान्सिस बेकनको घतलाग्दो टिप्पणी हो यो ।
बुढो हुन अस्वीकार गर्ने बेकनजस्तै पात्रहरू नेपाली समाजमा पनि छन्, जो उमेरले पाको भए पनि ऊर्जा र क्रियाशीलताका हिसाबले तरोताजा तन्नेरीझैँ छन् ।
संस्कृतिविद् सत्यमोहन जोशी आउँदो वैशाख ३० गते ९७ वर्ष पूरा भई  ९८ वर्षमा हिँड्नेछन् । उनको सक्रियता युवाले पनि आह्रिस गर्ने खालको छ । ‘कार्यक्रममा प्रमुख अतिथि, अतिथि बन्न आइदिनुप¥यो भनेर बोलाउँछन्,’ जोशी भन्छन्, ‘टार्न नसकेर गइदिन्छु ।’ उनी हप्तामा दुई÷तीनवटा कार्यक्रममा पुगेकै हुन्छन् । चस्मा लगाए पनि मज्जाले लेखपढ गर्न सक्छन् । दिनहुँ लेखपढ गर्छन् । केही पुस्तकको समीक्षा लेखिराखेको बताउँछन् ।
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मी ७० वर्षका भए । उनी  मोटरबाइक चलाएर पत्रकारिता पढाउन कलेज जान्छन् । रेग्मी अहिले मदन भण्डारी र कान्तिपुर सिटी कलेजमा पत्रकारिता तथा आमसञ्चारको कक्षा लिन्छन् । दुवै कलेजमा गरेर उनी हप्ताको १० कक्षा लिन्छन् । त्यस्तै, ८० वर्ष काटिसकेका लाल देउसा राई त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागमा प्राध्यापनरत छन् । राई मदन भण्डारी कलेजमा पनि पत्रकारिता पढाउँछन् । उनी त्यहाँ हप्ताको तीन कक्षा लिन्छन् ।
सामान्य जीवनशैलीले सक्रिय
काठमाडौँ उपत्यकाको शहरिया परिवेशमा जन्मेका वरिष्ठ संस्कृतिविद् जोशी जागिरको सिलसिलामा नेपालका विभिन्न ग्रामीण भेगमा पुगेका छन् । गाँउघरमा घुम्दा त्यहाँका मानिसको समान्य जीवन शैलीमा घुलमिल हुने अवसर पाएको र त्यसबाट प्रभावित भएको उनी बताउँछन् । त्यहीँबाट आफूले ‘प्लेन लिभिङ, हाई थिङ्किङ’ अर्थात् ‘सादा जीवन, उच्च विचार’ को जीवनदर्शन सिकेको र अहिलेसम्म सक्रिय हुन सकेको उनी सुनाउँछन् । ‘जीवनसम्बन्धी ठूलो हैन, एउटा कोरा दर्शन छ मेरो,’ उनी भन्छन्, ‘सन्तोष नै जीवनको ठूलो दर्शन हो । यसले नै मलाई अहिलेसम्म सक्रिय हुन मद्दत गरेको छ ।’ उनी आफूसँग कुनै ठूलो योजना वा महत्वाकांक्षा नभएको बताउँछन् । ‘म चिन्ताभन्दा चिन्तन गर्छु,’ उनी भन्छन् ।
उता, रेग्मी भने आफू कहिल्यै दिक्क मानेर नहिँड्ने बताउँछन् । उनी स्वयंलाई ‘मोटिभेट’ गरिरहेका हुन्छन् । ‘म दिक्क मानेर कहिले पनि बस्दिनँ,’ रेग्मी भन्छन्, ‘आफँैले आफूलाई सकारात्मक कुरामा उत्प्रेरित गर्छु । त्यसले सक्रिय बनाउँदो रहेछ ।’ स्वावलम्बनमा विश्वास गर्ने रेग्मी  सकेसम्म आफ्नो काम आफैँ गर्छन् । ‘अहिले पनि किनमेल आफैँ गर्छु,’ उनी भन्छन्, ‘बत्तीको बिल पनि आफँै तिर्छु । मोटरसाइकल बनाउन आफैँ जान्छु ।’
त्यस्तै, प्राध्यापक राईको जीवनशैली पनि सामान्य खालको छ । उनी अहिले पनि दैनिक ४५ मिनेट हिँड्छन् । पैदलै कलेज जान्छन् । ‘म कहिल्यै पनि आफूलाई कमजोर ठान्दिनँ,’ राई भन्छन्, ‘स्वास्थ्यसम्बन्धी कुनै ठूलो समस्या छैन ।’ उनी आफूसँग जीवनप्रति दुखेसो पोख्ने र निराश हुने फुर्सद नभएको बताउँछन् ।
कपिलवस्तुकी चन्द्रवदन श्रेष्ठ ७५ वर्षकी भइन् । उनी राजनीतिमा सक्रिय छिन् । राष्ट्रिय जनमोर्चा पार्टीबाट राजनीतिमा सक्रिय उनी अहिले पार्टीको कपिलवस्तु जिल्लाको सल्लाहकार र पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्यसमेत हुन् । उनी अहिले पनि पार्टीको संगठन विस्तारमा सरिक हुन्छिन् । कार्यक्रमहरूमा सहभागी भइरहन्छिन् । सामाजिक असमानता र घरेलु हिंसाले उनलाई राजनीतिमा आउन प्रेरित गरेका हुन् । ‘पति र घरबाट लामो समय हिंसा भोगेँ,’ उनी भन्छिन्, ‘मैले भोगेको जस्तो विभेद र हिंसा अरूले भोग्न नपरोस् । मेरो राजनीति भनेकै विभेद र असमानताविरुद्ध लडाइँ हो ।’
पेट पाल्ने बाध्यता
पेट पाल्नका लागि वृद्धावस्थामा समेत काम गर्नुपर्ने बाध्यता हुनेहरू पनि धेरै छन् । असन, काठमाडौँका नारायण मानन्धर त्यस्तै पात्र हुन् । उमेरले ८३ वर्षका भए । उनका एक बहिनी र एक भाइ छन् । उनीहरू तीनै जनाको बिहे भएको छैन् । अघिपछि कोही पनि नभएपछि उनीहरूको रेखदेख गर्ने पनि कोही छैन । आफ्नो पेट भर्न आफैँ काम गर्नुपर्ने बाध्यताले मानन्धर एउटा तौल नाप्ने यन्त्र र केही लाइटर राखेर न्युरोड गेटमा बस्छन् । ‘कहिले एक÷दुई सय हुन्छ, कहिले एक सुको पनि हुँदैन,’ उनी भन्छन्,‘ पैसा भएको बेला खाने हो, नत्र भोकै ।’ उनी ढाड, टाउको दुख्ने समस्याबाट पीडित छन् ।
मकवानपुरका ७० वर्षीय कृष्णप्रसाद घिमिरेलाई पनि सुबिस्ता छैन ।  २०६१ सालको पहिरोले खेत र २०७२ सालको भूकम्पले घर खाइदिएपछि उनी अहिले काठमाडौँमा छन् । घरबारविहीन उनको १२ जनाको परिवार असनमा डेरा लिएर बस्छ । उनी रत्नपार्कस्थित शान्तिबाटिकाको गेटमा बसेर सानोतिनो व्यापार गर्छन् । केही चक्लेट, चुरोट, पुकार र  मोबाइलका रिचार्ज कार्ड फिँजारेर सडकपेटीमा बस्छन् । उनका दुई छोरा पनि यस्तै व्यापार गर्छन् । ‘काम नगरी ज्यान केले पाल्ने ?’ उनी भन्छन्, ‘मान्छेको उमेर भए पनि कामको उमेर हुँदैन रहेछ ।’

(नागिरक परिवारबाट)

 

प्रकाशित: १० वैशाख २०७४ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App