coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

स्पामा स्पेसल करिअर

–अम्मर जिसी
कुनै बेला पाँचतारे होटलमा मात्र सीमित थियो, स्पा सेवा । अहिले मध्यम वर्गको पहुँचमा पुगिसकेको स्पा तथा मसाज सेवा नेपाली बजारमा हाँगाबिँगा फिजाउँदैछ । स्पा व्यवसाय व्यापक बन्न थाले पनि यसका लागि चाहिने दक्ष कामदारको भने अभाव कायमै छ ।
विदेशी बजारमा स्पाको आकर्षण त छँदै थियो । नेपालमा पनि यसप्रति  आकर्षण पछिल्लो समय बढ्दो छ । शारीरिक मसाजलाई आधुनिक समाजले वैज्ञानिक पक्षसँग जोड्दै त्यसलाई स्पाका रूपमा आफ्नो स्वास्थ्यअनुकूल अपनाइरहेका छन् ।
रोजगारी वा स्वरोजगारीको आकर्षक विकल्प बन्दै छ, स्पा । पहिलो पटक काठमाडौँमा खुलेर हाल देश तथा विदेशमा दर्जनौँ एकेडेमी तथा सर्भिस सेन्टर चलाउँदै आएको ‘ट्र्यान्कुलिटी इन्टरनेसनल ब्युटी एन्ड स्पा एकेडेमी’मा देखिने युवायुवतीको भीडले पनि यही जनाउँछ ।
छ दिनदेखि छ महिनासम्मको कोर्स
ट्र्यान्कुलिटीमा स्पा एन्ड मसाज थेरापिस्टका साथै ब्युटिसियन, हाउस किपिङ, रिसेप्सनिस्टलगायत स्वरोजगारी दिने किसिमका विभिन्न तालिम सञ्चालित छन् । सबैभन्दा धेरै प्रशिक्षार्थी स्पा एन्ड मसाजमै रहेको ट्र्यान्कुलिटीका सीईओ भुवन फैँजुले बताए । उनका अनुसार खुलेको सात वर्षभित्रै लगभग एक हजारजनाले स्पा एन्ड मसाज थेरापिस्टको तालिम लिइसकेका छन् । स्पामा पनि विभिन्न मोडलका कोर्स सञ्चालित छन् । एड्भान्स्ड डिप्लोमा इन स्पा म्यानेजमेन्ट, डिप्लोमा इन स्पा थेरापी, एड्भान्स्ड स्पा थेरापी, एड्भान्स्ड मसाज थेरापीलगायत कोर्स उपलब्ध छन् ।
‘औपचारिक रूपमा यति नै अवधिको कोर्स वा यही मापदण्ड भन्ने यसमा हुँदैन,’ फैँजुले भने, ‘सबै कुरा विद्यार्थीमा भरपर्छ । उसले के सिक्न चाहेको छ ? हामीले छ दिनदेखि छ महिनासम्मको कोर्स सञ्चालन गरिरहेका छौँ ।’
उनका अनुसार शुल्क पनि विद्यार्थीको आर्थिक अवस्था र कोर्सको समयावधिमा निर्भर गर्छ । १५ हजारदेखि १ लाख १५ हजार रुपैयाँसम्म खर्च हुन सक्ने फैँजु बताउँछन् ।
नेपालमा अत्याधुनिक स्पा थेरापी सेन्टरहरू खुल्दै छन् । थेरापी सेन्टरसहितका तारे होटलको संख्या पनि बढ्दै छ । ‘स्वदेशमै स्पा थेरापिस्टको जनशक्ति अपुग हुँदै गर्दा विदेशबाट आउने माग पूर्ति गर्न सक्ने अवस्थै रहेन,’ फैँजुले भने, ‘सबैभन्दा धेरै स्पा थेरापिस्टको डिमान्ड मलेसियाबाट आउँछ । जहाँ हामीले पनि तीन वटा पाँचतारे होटलमा थेरापी सेन्टर सञ्चालन गरेका छौँ ।’ स्वदेश र विदेशमा गरी डेढ दर्जन थेरापी सेन्टर चलाउँदै आएको ट्र्यान्कुलिटी आफैँलाई जनशक्ति अपुग छ । दुबई, कतारलगायत खाडी मुलुकमा पनि स्पा सिकेका जनशक्तिको माग व्यापक भएको फैँजुको भनाइ छ । पढाइसँगै पार्टटाइम जब गर्न सजिलो होस् भनेर हिजोआज जापान, अस्ट्रेलिया, अमेरिकालगायत विकसित देशमा अध्ययनका लागि जाने विद्यार्थीले समेत यो सीप सिक्ने गरेका छन् ।
कोही यसैलाई पेशाका रूपमा अंगाल्न चाहन्छन् । कोही स्पा व्यवसायी बन्न चाहन्छन् । कोही वैदेशिक रोजगारीमा जाँदा प्राथमिकता र तलब दुवै बढ्ने अपेक्षामा हुन्छन् । ‘मलेसियामा मात्र स्पा थेरापिस्टको मासिक तलब तीन हजारदेखि चार हजार रिंगेटसम्म हुन्छ,’ फैँजुले भने, ‘सीप नसिकेर विदेशमा जाँदा दुःख पाइने बुझेका व्यक्तिहरू स्पाको तालिम लिएर लाखौँ कमाउन सक्ने बनिरहेका छन् ।’
स्पा इन्स्ट्रक्टर रोजिना श्रेष्ठका अनुसार यो कोर्समा लगभग ८० प्रतिशत समय प्रयोगात्मक कक्षालाई दिनुपर्छ । बाँकी सैद्धान्तिक ज्ञानका कक्षाहरू हुन् । मानव स्वास्थ्यसँग जोडिएको विषय भएकाले केही चिकित्सकीय विषय पनि यसमा अध्ययन गर्नुपर्छ । विज्ञानका धेरै कुरा यसमा समेटिएका हुन्छन् । ‘सुरुसुरुमा त मलाई पनि गाह्रो अनुभव भएको थियो,’ उनले आफ्नो अनुभव सुनाइन्, ‘तर, गर्दै सिक्दै जाँदा सजिलो काम रहेछ ।’
अर्की इन्स्ट्रक्टर रुक्मणि श्रेष्ठका अनुसार धेरैले स्पालाई शरीरको तनाव व्यवस्थापनका रूपमा मात्र लिने गरे पनि यो विभिन्न रोगको वैज्ञानिक उपचार पद्धति पनि हो । स्पाअन्तर्गत पर्ने साउना, स्टिम, ज्याकुजी, शिरोधारालगायत विधिबाट शरीरका रोगको निवारणसमेत गर्न सकिने उनको भनाइ छ ।  

 

 

 

प्रकाशित: १० वैशाख २०७४ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App