coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

काठमाडौँमा जयपुरी ज्याकेट

–रचना श्रेष्ठ
आजभोलि काठमाडौँका सडकमा कतिपय युवती जयपुरी ज्याकेटमा चिटिक्क परेर हिँडेका देखिन्छन् । भारतीय एथनिक ज्याकेटलाई धेरैले मन पराइरहेको काठमाडौँ, न्युरोड, खिचापोखरीस्थित ‘न्यू दी वस्त्र’ बुटिककी लुमती पुतुवारले बताइन् । ‘कुर्ता, सारी, जिन्स र सट्र्स सबैसँग जयुपरी ज्याकेट लगाउन सकिन्छ,’ उनले भनिन्, ‘त्यसैले यो एथनिक ज्याकेट धेरैको रोजाइमा पर्न थालेको छ ।’
भारतमा चलेको जयपुरी ज्याकेटको फेसन नेपालमा पनि छाउन थालेको छ । हिन्दी फिल्म तथा विभिन्न भारतीय च्यानलबाट प्रसारण हुने टेलिसिरियलमा कलाकारहरूले फरक–फरक डिजाइन र फरक–फरक पोशाकसँग लगाएको देखेर उनीहरूलाई ‘फलो’ गर्दे धेरै युवतीले जयपुरी ज्याकेट लगाउन थालेको पुतुवारको भनाइ छ ।
बलिउड अभिनेत्री आलिया भट्टको जयपुरी ज्याकेट देखेर आफू पनि त्यस्तो ज्याकेट खोज्दै न्युरोड, पशुपति प्लाजाको पसल ‘जोन’ मा आइपुगेकी काठमाडौँ, नक्साल बस्ने २३ वर्षीया रोश्ना लिम्बूले बताइन् । ‘फिल्म ‘हम्प्टी शर्मा की दुल्हनिया’को प्रमोसन कार्यक्रममा आलियाले रातो कुर्ती र हलुका हरियो पटियाला सुरुवालसँग यस्तै ज्याकेट लगाएकी थिइन्,’ लिम्बूले भनिन्, ‘आलियाको त्यो ड्रेसअप मलाई कस्तो मन प¥यो । मैले पनि त्यस्तै ज्याकेट किनेँ ।’ यो वर्ष पनि लामो कुर्तासँग जयपुरी ज्याकेट लगाउने सोच उनले बनाएकी छिन् । ‘इन्डियन टेलीसिरियलमा हिरोइनहरूले लगाएको देख्दा लोभै लाग्थ्यो । ज्याकेट पोहोर पनि लगाएँ, यो वर्ष पनि लगाउँछु । अहिले फेसनमा त्यही छ ।’
रोश्नासँगै आएकी २० वर्षीया सोयता शाक्यले आफूलाई पनि जयपुरी ज्याकेट मन पर्ने बताइन् । ‘म बढीजसो साधारण टिसर्ट नै लगाउँछु,’ उनले भनिन्, ‘साथीहरूले ‘धेरै सिम्पल भयो’ भन्छन् । साधारण ड्रेसमा पनि एक्स्ट्रा देखिन टिसर्टमाथि जयपुरी ज्याकेट लगाउँछु । यो ड्रेसअपमा अलि स्मार्ट देखिन्छु जस्तो लाग्छ ।’
‘न्यू दी वस्त्र’ बुटिककी लुमती पुतुवारले जयपुरी ज्याकेट गर्मीमा बढी चल्ने बताइन् । ‘गर्मी चढ्न थाल्यो । ज्याकेट किन्नेहरू पनि बढ्दै छन्,’ उनले भनिन् ।
एथनिक ज्याकेट जुनसुकै पहिरनमा पनि सुहाउने फेसन डिजाइनर एलिसा श्रेष्ठ बताउँछिन् । ‘यो ज्याकेट जेमा लगाउँदा पनि सुट हुन्छ । जिन्स–टप्स, अनारकली कुर्ता अथवा साधारण कुर्तासुरुवाल, सारी, लेहंगा, गाउन, वानपिस, सट्र्स सबै ड्रेसमा एकदमै राम्रो देखिन्छ,’ उनले भनिन्, ‘मल्टिकलर हुने भएकाले हरेक रङको ड्रेसमा सुट गर्छ । अनि, धेरैले एथनिक ज्याकेट आधुनिक पहिरनमा सुहाउँदैन भन्ने ठान्छन् । तर, त्यस्तो होइन । वानपिस, सट्र्स, मिनी स्कट्र्सजस्ता मोर्डन ड्रेसमा पनि यो उत्तिकै राम्रो देखिन्छ ।’
लेहंगामा चोलीका रूपमा एथनिक ज्याकेटको प्रयोग गर्न सकिन्छ भने धेरैले सारीमा ब्याउजका रूपमा यसलाई लगाउने गरेका छन् । जिन्समा एथनिक ज्याकेट एकदमै स्टाइलिस देखिने श्रेष्ठले बताइन् । ‘जिन्स–टिसर्टमा जयपुरी ज्याकेट एकदमै स्टाइलिस र कूल देखिन्छ,’ उनले भनिन्, ‘तर, यो ज्याकेट लगाउँदा टिसर्ट अथवा टप चाहिँ प्लेन हुनुपर्छ ।
डिजाइनर श्रेष्ठका अनुसार यो वर्ष चम्किला रङ बढी चल्ने भएकाले यसको बजार राम्रो छ । जयपुरी ज्याकेट चम्किला रङमै बढी पाइन्छन् । ‘ब्राइट कलरको फेसन भएकाले यो ज्याकेट मन पराउनेहरू धेरै छन्,’ उनले भनिन् ।
जयपुरी ज्याकेट विभिन्न डिजाइन तथा साइजमा पाइन्छन् । स्लिभलेस र फुल स्लिभ हाफ क्वाटर तथा लङ कोट डिजाइनमा हुन्छन् । कटन, सुती, जर्जेटजस्ता फेब्रिकमा ह्यान्डवर्क अनि मिररवर्कले डिजाइन गरिएका जयपुरी ज्याकेट बजारमा उपलब्ध छन् ।

प्रकाशित: १० वैशाख २०७४ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App