coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बिलको शक्ति हिलारी

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन आफ्नो राजनीतिक जीवनको सबैभन्दा उच्च बिन्दुमा थिए । ठीक त्यही बेला उनको उचाइ नै धराशायी हुन सक्ने एउटा घटना भयो । राष्ट्रपति पदमा रहेकै समयमा मोनिका लेविन्स्की नाम गरेकी एक युवतीसँग उनले शारीरिक सम्बन्ध बनाएको सनसनीपूर्ण खबर बाहिर आयो । यसले बिलको जीवनमा मात्र होइन, अमेरिकी राजनीतिमै ठूलै हलचल ल्याइदियो ।
मोनिका सन् १९९५ मा ह्वाइटहाउसमा इन्टर्नसिप गर्न गएकी थिइन् । त्यतिबेला उनी २२ वर्षकी थिइन् । सन् १९९८ मा उनले बिलले आफूसँग शारीरिक सम्पर्क राखेको रहस्य खोलिन् । ह्वाइटहाउसभित्रको ओभल हाउसमा आफूहरूबीच पटक–पटक शारीरिक सम्बन्ध बनेको कुरा उनले बताएकी थिइन् ।
विवाहित पुरुषले विवाहेतर सम्बन्ध राख्नु गलत आचरण हो । त्यसमाथि अमेरिकी जनताको ‘रोल मोडल’ बन्नुपर्ने राष्ट्रपतिजस्तो गरिमामय पदमा आसीन व्यक्तिले विवाहेतर सम्बन्धजस्तो अनैतिक काम गरेको भन्दै बिलको चौतर्फी आलोचना भयो ।
उनको आलोचना सञ्चारमाध्यममा मात्र सीमित भएन । संसद्मा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता हुने अवस्थासमेत आयो । तर,  उनी भाग्यमानी ठहरिए । यस विवादका कारण उनले पदमुक्त हुनु परेन ।
सबैतिर बिल आलोचित भइरहेका थिए । तर, उनले हरेश खाएनन् । यसको एक मात्र कारण थिइन्– उनकी श्रीमती हिलारी । बिललाई उनले बलियो र दरिलो साथ दिएकी थिइन् ।
०००
बिल र मोनिकाबीच गोप्य सम्बन्ध थियो भन्ने अड्कल धेरैले काटेका थिए । तर, बिलले भने यो कुरा सधैँ अस्वीकार गरिरहे । खुलेआम जनतालाई ढाँटेको भन्दै विपक्षीले संसद्देखि सञ्चारमाध्यमसम्म तताइरहेको अवस्था थियो ।
पति बिल र मोनिकाबीच लसपस छ भन्ने कुरा मोनिकाले सार्वजनिक गर्नुअघि नै हिलारीलाई थाहा थियो । यस प्रकरणमा लेखिका केट एन्डर्सन ब्रोवेरले ‘द रेजिडेन्सः इन्साइड द प्राइभेट वल्र्ड अफ द ह्वाइटहाउस’ नामक किताब लेखेकी छिन् । ‘मोनिकाले खुलासा गर्नुअघि नै हिलारी यसबारे जानकार थिइन्,’ ब्रोवेरले उल्लेख गरेकी छिन्, ‘तर, यो कुरा सार्वजनिक भएपछि हिलारीले स्वाभाविक रूपमा चर्को हैरानी बेहोर्नुपर्यो ।’
घटना सार्वजनिक भएपछि हिलारी तनावग्रस्त भइन् । रिसको झोकमा उनले ह्वाइटहाउसभित्र बिललाई कुटेको समाचारसमेत बाहिरियो । तर, पनि सार्वजनिक जीवनमा चाहिँ उनी पति बिलकै पक्षमा उभिइन् । हिलारीको साथले बिललाई चुनौतीको सामना गर्ने हौसला दियो । उनले सधैँ मिडियासामु आफ्नो श्रीमान् निर्दोष भएको बताइरहिन् ।
हिलारीले त्यतिबेला साथीसंगीसँग यसबारे गरेको कुराकानी गत वर्ष ‘लिक’ भएको थियो । उनले साथी डेनी ब्लेयरसँग गरेको कुराकानीमा स्पष्ट शब्दमा आफूले बिललाई माफ गरिदिएको र आफू सदा उनको पक्षमा उभिने जनाएकी थिइन् । ‘जे भयो भयो, अब त्यसबाट मुक्त हुनुपर्छ र मोनिकासँगको विवादबाट मुक्त हुनुपर्छ भन्ने बोध बिललाई गहिरोसँग भएको छ,’ हिलारीले त्यतिबेला भनेकी थिइन् ।
मोनिकासँगको सम्बन्धबारे बिलले पहिलो पटक सुनाउँदा आफू स्तब्ध भएको हिलारीले डेनीलाई बताएकी थिइन् । ‘त्यो सुनेपछि म रोएँ, कराएँ, चिच्याएँ,’ हिलारीले भनेकी थिइन्, ‘मलाई किन ढाँट्यौ, किन धोका दियौ भन्दै रिस पोखेँ । तर, अहिले म सबै कुरा बिर्सिएर उसको साथ दिने गरी उभिएकी छु ।’
०००
विभिन्न सार्वजनिक कार्यक्रममा हिलारीलाई मोनिका र बिलबीचको विवादबारे सोधिन्थ्यो । जवाफमा उनी मोनिका अराजक खालकी महिला भएकोले उसको भर परेर श्रीमान्लाई लाञ्छना नलगाउने बताउँछिन् । ‘मोनिकासँगको सम्बन्धबारे तपाईंलाई श्रीमान्ले ढाँटेका पनि त हुन सक्छन् नि’ भनी एक अवसरमा सोधिँदा उनको जवाफ थियो– ‘अरूको कुरा पत्याउनुभन्दा म आफ्नै श्रीमान्को झुट पत्याउँछु । किनकि, मलाई अरूले गर्ने तथानाम कुराभन्दा झुट नै भए पनि उनकै कुरा बढी विश्वस्त लाग्छ ।’
(एजेन्सीको सहयोगमा)

 

प्रकाशित: १० वैशाख २०७४ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App