coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सेयरमा गृहिणी

–श्रृजना आचार्य

विगत १०/१२ वर्षयता गृहिणी महिलाहरू सेयर कारोबारमा आकर्षित भएका छन् । उनीहरू फुर्सदको समय सदुपयोगसँगै राम्रो कमाइ पनि गरिरहेका छन् ।

श्रीमान्ले घर चलाउन दिएको पैसाबाट केही रकम बच्यो भने तपाईं के गर्नुहुन्छ ? लुगा किन्नुहुन्छ वा शृंगारका सामान ? तर, बचेको रकम कतै लगानी गरेर दोब्बर पार्नुभयो भने तपाईंका श्रीमान्का लागि त्यो ठूलो ‘सरप्राइज’ त हुने नै छ, परिवारमा आर्थिक उपार्जनमा तपाईंको योगदान पनि देखिनेछ ।
काठमाडौँमा बस्ने धेरै गृहिणी महिलाले आजकल आफ्ना परिवारका सदस्यलाई यस्तै सरप्राइज दिने गरेका छन् । त्यसका लागि सहायकसिद्ध भएको छ, सेयर बजार ।

काठमाडाैं, आलोकनगर–३४ बस्ने मञ्जु अधिकारी दिनभरि घरमा बस्दा सेयरसम्बन्धी समाचारको अध्ययनमा जुटेकी हुन्छिन् । औषधिसम्बन्धी कारोबार गर्ने उनका श्रीमान् दीपक बिहान ९ बजे घरवाट निस्कन्छन् । दुई छोराछोरी प्राञ्जल र प्रिन्सा स्कुल गएपछि बच्चाहरू घर नआउँदासम्म उनी खाली हुन्छिन् । त्यो समय उनले सेयर बजारमा भरपूर सदुपयोग गर्छिन् । ‘अहिलेको महँगीमा एक जनाको कमाइले काठमाडौँजस्तो ठाउँमा परिवारका सबै आवश्यकता पूरा गर्न गाह्रो हुन्छ,’ मञ्जु भन्छिन्, ‘जागिर पाउन पनि सजिलो छैन । सेयर मार्केट मजस्ता महिलाका लागि उपयोगी छ ।’

कुनै कम्पनीको साधारण सेयर निष्कासन भयो भने दीपक फारम ल्याइदिन्छन् । फारम भर्ने र सेयर किन्नका लागि लाइन लाग्ने काम मञ्जु गर्छिन् । उनी सेकेन्डरी मार्केटमा कुन कम्पनीको सेयर किन्ने भनेर श्रीमान्सँग पनि सल्लाह लिन्छिन् । दुई जनाको कमाइले परिवार चलाउन सजिलो भएको छ ।
काठमाडाँै, महांकाल बस्ने जमुना पौडेल आफ्नो छोरालाई विद्यालय पु¥याउन र लिन आफैँ जान्छिन् । विद्यालय जाँदा–आउँदा बाटोमा अनेकथरी पसल हुन्छन् । बच्चाले पसलमा देखेका चिज माग्छन् । श्रीमान्ले अड्कलेर महिनाभरि चलाउन दिएको पैसा आफ्नो योजनाका काममा निर्धक्क खर्च गर्न नसकेर जमुना पहिले अमिलो मन बनाउँथिन् । तर, दुई वर्षयता त्यस्तो अवस्था छैन । ‘बच्चाहरू बुबासँग भन्दा आमासँग बढी सम्पर्कमा हुन्छन्, उनी भन्छिन्, ‘त्यसैले बच्चाको धेरै आवश्यकता आमाले पूरा गर्नुपर्छ । आफ्नै कमाइले आवश्यकता पूरा गरिदिँदा बच्चाको अनुहारमा देखिने मुस्कानले बडो आनन्द दिन्छ ।’

झण्डै पाँच वर्षदेखि आम्दानीको स्रोत खोज्दै सेयर मार्केटको अध्ययन गर्न थालेकी जमुना गएको दुई वर्षदेखि लगानीकर्ता भएकी छिन् । ‘कुनै कार्यालयमा जागिर खाएजस्तो महिनाको यति आम्दानी हुन्छ भनेर भन्न सकिँदैन,’ उनी भन्छिन्, ‘तर, सानो लगानी गर्नेले पनि महिनाको १५/२० हजार सजिलै कमाउन सक्छन् ।’

काठमाडौँ, कोटेश्वर, वासुकीनगरकी राधा ज्ञवाली एक दशकदेखि सेयर मार्केटमा सक्रिय छिन् । सेयर लगानीकर्ताका रूपमा कार्यरत राधाले आफ्नो अनुभववाट आफूजस्तै थुप्रै महिलालाई लाभान्वित बनाएकी छन् । ‘थोरै समय दिएर पनि आम्दानी गर्न सकिने भएकाले कसरी यो क्षेत्रमा प्रवेश गर्ने भनेर थुप्रै गृहिणी महिला मसँग सल्लाह लिन आउँछन्,’ राधा भन्छिन् ।

श्रीमान्जस्तै श्रीमती पनि कामकाजी भएपछि परिवारमा शक्ति सन्तुलन कायम रहन्छ । दिनभरि घरमा बेकामी बस्नुभन्दा घरबाहिर निस्कने वातावरणले महिलालाई पनि आयआर्जनका नयाँ बाटा पत्ता लगाउन मद्दत मिल्छ । केही घण्टा ब्रोकरको कार्यालयमा हुने जमघटले बाहिरी वातावरणसँग घुलमिल हुन महिलालाई सजिलो भएको छ ।

हरेक क्षेत्रमा जस्तै सेयर कारोबारमा पनि पुरुषको बाहुल्य छ । सेयर कारोबार सुरु भएको २०५० सालमा नगन्य रहेको महिला सहभागिता २०६४ सालमा अनलाइन कारोबार सुरु भएपछि बढ्न थालेको हो ।  जोखिमयुक्त क्षेत्र भएकाले सेयरमा लाग्दा धेरै अध्ययन गरेर मात्र आउनु जरुरी छ । अध्ययनविना गरिएको लगानी एकातिर डुब्ने सम्भावना हुन्छ भने परिवारमा समेत त्यसले नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले महिलाका लागि यो ठूलो चुनौती पनि हो ।

श्रीमान्हरू दिनभर आफ्नो कार्यालयमा खटिएका हुन्छन् भने महिलाहरू ब्रोकरको कार्यालयमा । राधा भन्छिन्, ‘अझै पनि आफँै अध्ययन गरेर, जानेर–बुझेर लगानी गर्ने महिला निकै कम छन् । ब्रोकर कार्यालयमा आएर आफ्ना श्रीमान्को सल्लाहमा सेयर लिने महिलाको संख्या उल्लेख्य छ ।’

आफूलाई पहिलो महिला ब्रोकर भनेर चिनाउन रुचाउने सुचिता खनाल २०५० साल पुसदेखि सेयर बजार क्षेत्रमा क्रियाशील छिन् । उनले २०५४ सालमा श्वेता सेक्युरिटिज नामक आफ्नै कम्पनी पनि दर्ता गरिन् । ‘२०६० सालपछि यो क्षेत्रमा महिला सहभागिता बढेको छ,’ सुचिता भन्छिन्, ‘पछिल्लो समय मेरो ब्रोकर कार्यालयमा आउने लगानीकर्तामध्ये करिब १० प्रतिशत महिला छन् ।’ उनका अनुसार कामकाजीदेखि गृहिणी महिलासम्म पछिल्लो समय सेयर बजारमा आकर्षित हुँदै गएका छन् । ‘जागिरे महिलाहरू फुर्सद निकालेर सेयरमा चासो दिन्छन् र लगानी  गर्छन्,’ उनी भन्छिन्, ‘गृहिणीहरू भने फुर्सदको समयमा सेयरसम्बन्धी तालिम लिन्छन्,  लगानीका उपयुक्त तरिका सिक्छन् र लगानी गर्छन् ।’

 

प्रकाशित: १० वैशाख २०७४ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App