७ वैशाख २०८१ शुक्रबार
समाज

प्रकाशकीय : हाम्रो प्रतिबद्धता

नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवका उपलक्ष्यमा हाम्रा तमाम पाठक, लेखक, सहकर्मी, विज्ञापनदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छौं।

जनआन्दोलन, २०६२/६३ को आलोकमा स्थापित यो मिडियाले निरन्तर लोकतान्त्रिक शासन व्यवस्थामा सजग पहरेदारको भूमिका निर्वाह गर्दै आएको छ। लोकतान्त्रिक शासन व्यवस्था त्यतिबेला मात्र सफल हुन्छ जतिबेला नागरिक जानकार हुन्छन्। हामी सम्पूर्ण रुपमा नागरिक जागरुकताका निम्ति प्रतिबद्ध छौं।

सूचना तथा सञ्चारका आयामले नयाँ उचाइ लिएको यो युग हाम्रा निम्ति अवसर र चुनौती दुबै हो। सञ्चारको सहज उपलब्धताले हाम्रा माध्यममा विविधता थपेको छ। साथै यसले आम पाठकका रुचिलाई पनि विविधीकरण गरेको छ। यो चुनौतीलाई हामीले हृदयंगम गर्दै आफ्ना माध्यमहरूलाई थप परिमार्जन गर्दै आएका छौं।

यस मिडियाले आफ्नो प्रकाशन नागरिक राष्ट्रिय दैनिक, रिपब्लिका अंग्रेजी राष्ट्रिय दैनिकका साथै यसका दुई अनलाइन संस्करणबाट सुरु गरेको यात्रामा थप सदस्य भित्र्याएको छ। यतिबेला हाम्रो प्रकाशन संस्थाले शुक्रबार साप्ताहिक, पूर्वेली, पश्चिमेली र परिवारको प्रकाशन गर्दै आएको छ। हाम्रा आदरणीय पाठकले मन पराइदिएकै कारण एकपछि अर्को परिवार सदस्य थप गर्न हामीलाई प्रेरणा मिल्दै आएको हो।

त्यति मात्र होइन, हामीले अन्तर्राष्ट्रिय क्षेत्रको चर्चित अखबार न्युयोर्क टाइम्सलाई समेत प्रकाशन गरी यो संस्थामार्फत् वितरण गर्दै आएका छौं। यसले हाम्रो मुलुकका पाठकलाई अन्तर्राष्ट्रिय स्तरको पत्रकारिताको अनुभव गर्न अवश्यै मद्दत गरेको छ।

हामीले अघिल्ला वर्षमा घोषणा गरेअनुसार आजैका दिनबाट रेडियो नागरिकको प्रसारण सुरु गरेका छौं। यसले हाम्रा मिडिया उत्पादनको विविधीकरणमा थप योगदान पुर्‍याउनेछ। यसबाहेक सञ्चारका अन्य माध्यमतर्फको हाम्रो विस्तार कार्य पनि निरन्तर भइरहेको छ।

दुई वर्षअघिको भूकम्प, त्यसपछिका राजनीतिक अस्थिरता, नाकाबन्दी आदिको मार हामीलाई निरन्तर परे पनि हाम्रा प्रतिबद्ध सहकर्मी र सुझबुझपूर्ण व्यवस्थापनका कारण निरन्तर प्रगति पथमा छौं भन्न पाउँदा हामीलाई गर्व अनुभव हुन्छ। हामी तथ्यपरक पत्रकारिताप्रति प्रतिबद्ध छौं। त्यहीं दिशामा हाम्रा सहकर्मी क्रियाशील छन्।

हामीले हाम्रा माध्यमको निरन्तरता मात्र होइन, परिमार्जनमा पनि उत्तिकै ध्यान दिएका छौं। हाम्रा प्रिय पाठकको निरन्तरको सुझाव हाम्रा निम्ति मार्गदर्शन हुनेछ।

सबल लोकतन्त्रका निम्ति सशक्त सञ्चार माध्यमको आवश्यकता हुन्छ। तर, सञ्चार माध्यम फस्टाउन लोकतन्त्र अपरिहार्य हुन्छ। लोकतान्त्रिक शासन व्यवस्थामा सरकारबाट प्रत्यक्ष …सेन्सरसिप'को खतरा नभए पनि बेलाबेलामा स्वतन्त्र सञ्चारलाई अवरोध गर्ने गतिविधि विविध निकायबाट प्रकट हुने गर्छन्। अकुन्ठित स्वतन्त्र प्रेसको अधिकार सुनिश्चित गर्न राज्यबाट आवश्यक पहल भने भइरहनुपर्छ भन्ने हामीलाई लाग्छ।

यतिबेला हामी स्थानीय तह निर्वाचन नजिकै उभिएका छौं। यसबाहेक संघीय संसद् र प्रान्तको निर्वाचन सम्पन्न गर्नुपर्ने गुरुत्तर दायित्व पनि मुलुकका सामु छ। लोकतन्त्रको प्राणवायु मानिने यी सबै निर्वाचनमा हाम्रा प्रकाशन र प्रसारण माध्यम मतदातालाई सहयोग पुर्‍याउन निरन्तर क्रियाशील हुनेछन्। संविधान कार्यान्वयन र लोकतन्त्रलाई दहि्रलो बनाउन हाम्रा प्रकाशनले निरन्तर खबरदारी पनि गरिरहनेछन्।

लोकतन्त्र दिवसको यो पुनीत घडीमा हामी सबैमा हार्दिक शुभकामना समेत व्यक्त गर्छौं।

विनोदराज ज्ञवाली

प्रबन्ध निर्देशक

 

प्रकाशित: ११ वैशाख २०७४ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App