४ वैशाख २०८१ मंगलबार
समाज

जग्गा एकीकरण बन्दै आकर्षक विकल्प

काठमाडौं- काठमाडौं उपत्यकामा जग्गा एकीकरणमार्फत व्यवस्थित सहरीकरण प्रभावकारी बन्दै आएको छ। छरिएका र अस्तव्यस्त बस्तीलाई जग्गा एकीकरणमार्फत आकर्षक, चिटिक्क र व्यवस्थित आवासीय क्षेत्र बनाइएपछि यसप्रति सर्वसाधारणको आकर्षण बढेको हो।

काठमाडौं उपत्यका विकास प्राधिकरणले जग्गा एकीकरणमार्फत उपत्यकामा सिनामंगल टाउन प्लानिङ, भैंसेपाटी टाउन प्लानिङ, कमलविनायक, लिवाली, सामाखुसी टाउन प्लानिङलगायत २२ स्थानमा व्यवस्थित सहरीकरण आयोजना सम्पन्न गरिसकेको छ।

प्राधिकरणले जग्गा एकीकरण मोेडल सफल भएसँगै अहिले बाहिरी चक्रपथ जग्गा एकीकरणमार्फत नै व्यवस्थित सहरीकरण गर्ने योजना अघि बढाइएको प्राधिकरणका आयुक्त डा.भाइकाजी तिवारीले बताए। ‘जग्गा एकीकरण मोडल अहिले काठमाडौं उपत्यकामा निकै प्रभावकारी भइरहेको छ। त्यसैले बाहिरी चक्रपथ र नयाँ सहर बनाउनका लागि पनि त्यही गर्न लागेका हौं।' उनले भने, ‘जग्गा एकीकरणमार्फत सहरीकरण गर्दा कोही विस्थापित हुनु पर्दैन, त्यसैले जनताको रोजाइमा परेको हो।'

जग्गा एकीकरणमार्फत सहरीकरण गर्दा व्यवस्थित पूर्वाधारपछि मात्र बस्ती बसाल्नु पर्ने सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापा बताउँछन्। ‘आफ्नो मिलेको घर बनाएर मात्र हुँदैन, बस्ती नै राम्रो बनाउनु पर्ने भएकाले व्यवस्थित सहरको अवधारणा आएको हो,' उनले भने, ‘नयाँ सहर बसाल्दा उचित र पर्याप्त पूर्वाधार हुनु आवश्यक छ, जसले आधारभूत सेवासुविधा जनतामाझ सरल ढंगले पुर्‍याउन सकियोस्।' जग्गा एकीकरणमार्फत नै नयाँ सहर बनाउन उपयुक्त हुने उनले बताए। ‘जग्ग्ाा एकीकरणमार्फत सहरी विकास हुँदा कोही पनि विस्थापित हुनु नपर्ने र बाटाघाटालगायतका पूर्वाधारको निर्माण पनि सरकारी मापदण्डबमोजिम हुनेछ,' उनले भने, ‘संसारभर प्रयोग भइरहेको जग्गा एकीकरण कार्यक्रमलाई अगाडि बढाउनुपर्ने बेला भइसक्यो।'

जग्गा एकीकरणमार्फत एउटै प्रकृति र संरचनाका भौतिक पूर्वाधारसहितका आवास, व्यापरिक क्षेत्र, खुल्ला क्षेत्र, बाटो, खानेपानी बिजुलीलगायतका संरचना निर्माणमा समेत सहज हुने गरेको छ । ‘सरकारले नै जग्गा एकीकरण गरेर सहरीकरण गर्न प्रोत्साहन गरिरहेको छ,' प्राधिकरणका आयुक्त तिवारीले भने, ‘सरकारले सुरुमा जनताका जग्गा लिएर भौतिक पूर्वाधार निर्माण गरेपछि फिर्ता गर्छ।' नयाँ सहर बसाल्दा बाटो, खानेपानी, आवासीय क्षेत्र, व्यापारिक क्षेत्र, खुला स्थल, भूकम्प प्रतिरोधकलगायत सरकारी मापदण्डअनुकूल संरचना बनाउनु पर्ने हुन्छ। 

जग्गा एकीकरणमार्फत बस्ती बसाल्न सुरुमा जग्गाधनीले जग्गाको स्वामित्व सरकारलाई हस्तान्तरण गर्नुपर्छ। ‘सरकारले निश्चित पूर्वाधार बनाएर मात्रै जग्गा जनतालाई नै फिर्ता गर्छ।' उनले भने, ‘जग्गा एकीकरण गर्दा व्यवस्थित सहरीकरणको साथै स्तरीय आवास क्षेत्र बनाउन सकिन्छ, जहाँ बाटो, बिजुली, खुल्ला क्षेत्र, खानेपानीलगायतका पूर्वाधार सहजै बनाउन सकिन्छ।'

प्रकाशित: ११ वैशाख २०७४ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App