७ वैशाख २०८१ शुक्रबार
अर्थ

जेठमा स्टार्ट अप समिट

काठमाडौं- सरकारले जेठ अन्तिम साता स्टार्ट अप समिट गर्ने भएको छ। युवामा उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने उद्देश्यले उद्योग मन्त्रालयले जेठ २४ र २५ गते काठमाडौंमा स्टार्ट अप समिट गर्न लागेको हो।

दुई दिने स्टार्ट अप समिट गर्ने तयारी गरिरहेको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए। ‘कसरी युवालाई उद्यमी बनाउन सकिन्छ भनेर स्टार्ट अप समिट गर्न लागिएको छ, आइतबार उद्योग मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जोशीले भने, ‘यस समिटमा स्वदेश तथा विदेशबाट युवा तथा विज्ञको सहाभागी हुनेछ।'

समिटमा ७५ जिल्लाका तीन सय युवाको सहभागिता रहने छ। उक्त सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सफल युवा उद्यमीको संलग्नता रहने मन्त्रालयले जानकारी गराएको छ। विदेशबाट आउने स्रोत व्यक्तिहरुले ती देशमा रहेको उद्यमशीलता सम्बन्धी अभ्यासका बारेमा आ–आफ्नो अनुभव प्रस्तुत गर्नेछन् भने नेपालमा उद्यमशीलताको सम्भाव्यताबारे समेत छलफल गर्ने कार्यक्रम रहेको छ।

विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसात गर्दै सँगसँगै अघि बढ्न नेपालमा पहिलोपटक राष्ट्रिय स्टार्ट अप समिट गर्न लागिएको मन्त्री जोशीले बताए।

‘समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर' नाराका साथ हुन लागेको सम्मेलनका लािग स्टार्ट अप समिति समेत गठन गरिएको छ। विभिन्न क्षेत्रबाट सहभागी ११ सदस्य समितिका संयोजक नरोत्तम अर्यालले नेपाल लगानी र नयाँ आइडियाको लागि तयारी छ भन्ने सन्देश विश्वलाई दिन पनि यो सम्मेलन गर्न लागेको बताए। ‘विदेशमा पढेका दक्ष युवालाई नेपाल फर्काउने यो सम्मेलनको लक्ष्य हो,' अर्यालले पत्रकार सम्मेलनमा भने, ‘नेपालमाबाट बिदेसिने युवालाई रोक्ने प्रयासको रुपमा यो काम गरिरहेका छौं।'

उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायलाई संलग्न गराउने, उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने उद्देश्य सम्मेलनले लिएको छ। त्यसैगरी, उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याउने, देशभर उद्यमशीलता विकासमा भएको प्रगति सम्बन्धी पूर्ण जानकारी उपलब्ध सेवा र अवसरहरु प्रस्तुत गर्ने र राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्बन्धी नीतिगत धारणामा स्पष्टता रुपमा ल्याउने उद्देश्य पनि सम्मेलनको उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतिस्पर्धी विश्वमा अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक भएको भन्दै यो सम्मेलन नेपाली युवा उद्यमीका लागि निकै महत्वपूर्ण हुनेछ सरकारले अपेक्षा गरेको छ। 

लगानी सम्मेलनमा इच्छा व्यक्त भएको १४ खर्बभन्दा धेरैको लगानी ल्याउन यो कार्यक्रमले सहयोग गर्ने मन्त्री जोशीको भनाइ छ। त्यसैगरी, मन्त्री जोशीले १० वर्षमा सबै युवालाई रोजगारी दिने सरकारको कार्ययोजना सफल बनाउन स्टार्ट अप समिटले सहयोग गर्ने बताए।

उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलानमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासंघ सहयोगी संस्थाका रुपमा रहने छन्।

प्रकाशित: ११ वैशाख २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App