लोभलाग्दो पूर्वाधार

सोमबार, ११ बैशाख २०७४, १५ : ०६ शेरबहादुर केसी


बुटवल – स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया–बुटवल सडकलाई ६ लेन बनाउन चालु आर्थिक वर्षमा ७२ करोड रूपैयाँ विनियोजन भयो । २४ किलोमिटर रहेको सडकमा फागुन मसान्तसम्म विनियोजन भएको सबै रकम सकिएको छ । 

बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका अनुसार असार १५ गतेसम्म काम तीव्र ढङ्गले अघि बढाउन सकिन्छ, अहिलेकै गतिले काम अघि बढाउन थप ४० करोेड रूपैयाँ चाहिन्छ । ‘हामीले सडक विभागसँग आवश्यक बजेट व्यवस्था गरिदिन अनुरोध गरेका छौं, पैसा भए काम अघि बढाउन सकिन्छ,’ व्यापारिक मार्ग आयोजनाका  इन्जिनियर लीलाबहादुर भण्डारीले भने । अन्यत्र विनियोजन भएको रकम खर्च गर्न हम्मेहम्मे परिरेहका बेला यहाँ भने तीव्र कामले थप बजेट माग भएको छ ।

आर्थिक वर्ष २०६६÷०६७ मा सुरु भएको यो सडक मार्ग विस्तार तीन वर्षमा सक्ने लक्ष्य लिइएको थियो । तर, ठेकेदार कम्पनीको छनोट, रुख कटान र सडकमा भएका विद्युत तथा टेलिफोनका संरचना हटाउन भएको ढिलाइले काम तीव्र गतिमा अघि बढ्न सकेन । अझ निर्माण सामग्रीको अभाव देखाएर दुई वर्षमा काम सुस्त थियो । यो वर्ष निर्माण सामग्रीको व्यवस्थापनमा ध्यान दिइएकाले निर्माण कामले गति लियोे । इन्जिनियर भण्डारीका अनुसार अहिलेको गति अब सुस्ताउँदैन । १० किमी सडकको निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । बाँकी सडक निर्माण धमाधम काम भइरहेको छ । आउँदो असार मसान्तसम्म साढे दुई किमी सडक पक्की हुनेछ । अरु काम पनि धमाधम भइरहेको छ । निर्माण सामग्री र बजेट व्यवस्थापन बेलैमा हुन सके आर्थिक वर्ष २०७५÷०७६ मा यो सडक सम्पन्न हुने इन्जिनियर भण्डारीले जानकारी दिए । उनका अनुसार अहिले बुटवल–बेलहिया यात्रा गर्दा औसत ४० मिनेट लाग्छ । सडक विस्तार सम्पन्न भएसँगै आधा समय घट्ने छ ।
कुल लागत ५ अर्ब ६८ करोड रूपैयाँ रहेको यो सडकमा २ अर्ब २० करोड रूपैयाँ खर्च भएको छ ।

गत वर्ष भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले विकास निर्माणका कामले गति लिन सकेका थिएनन् । यो वर्ष पूर्वाधार निर्माणको कामले रूपन्देहीमा गति लिएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल, सडक सञ्जाल, औद्योगिक क्षेत्र स्थापना र बिस्तार तथा लुम्बिनी विकास गुरुयोजनाका काम यो वर्ष निकै उत्साहजनक ढङ्गले अघि बढेको अधिकारीको भनाइ छ । पूर्वाधार विकासमा रूपन्देही र आसपासका क्षेत्रमा भएका कामले केही वर्षभित्रमै यो क्षेत्रलाई बृहत् लुम्बिनी सहरको रूपमा विकास गर्दैछ ।

बुटवल–बेलहिया व्यापारिक मार्गको कामले गति लिएसँगै मुलुककै नमुना सडकको काम अघि बढेको छ । तिनाउ पश्चिम बेलवास–बेथरी २१ किमी लामो यो सडकको विस्तारले यहाँकोे पर्यटकीय र औद्योगिक विकासमा टेवा पुग्ने छ । यो सडकको निर्माणले बुटवल र लुम्बिनीबीचको दुरी आठ किमी घट्ने छ भने ५ नम्बर प्रदेशको प्रमुख औद्योगिक क्षेत्र मोतीपुर औद्योगिक क्षेत्रलाई जोड्ने भएकोले औद्योगिक विकासमा समेत फाइदा पुग्ने देखिन्छ । १ अर्ब २८ करोड रूपैयाँमा सडक ठेक्का भइसकेको छ । सडकको काम तीव्र गतिमा अघि बढेको र असार मसान्तसम्म २५ प्रतिशत सकिने सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बताए । 

प्रमुख मरासिनीका अनुसार बीचमा नहर रहने यो सडकको दुवैतिर दुई लेनको सडक रहने छ । नहरको दुवै किनारमा हरियाली क्षेत्र र फुटपाथ रहने छ । त्यसपछि बल्ल दुवैतिर दुई लेनको सडक र साइकल लेन रहने छ । ‘यस्तो खालको सडक नेपालमै पहिलो हो,’ मरासिनीले भने ।

त्यसैगरी महेन्द्र राजमार्गको रामापुरबाट लुम्बिनी जोड्ने दुई लेनको सडकलाई पक्की गर्न ९ करोड रूपैयाँमा ठेक्का भएर काम अघि बढेको छ । १८ किमी रामापुर–लुम्बिनी सडकमध्ये १० किमी सडक  पक्की भएपछि ८ किमी सडक लुम्बिनी परिक्रमा सडक आयोजनासँग जोडिने छ । ८ किमीको पक्की काम लुम्बिनी परिक्रमा सडक आयोजनाले गर्ने छ ।

बुद्ध मावली देवदहको शितलनगर हुँदै शिवपुर मणिग्राम, तिनाउ, मोतीपुर फर्साटिकर, मानमटेरिया, सूर्यपुरा हुँदै लुम्बिनीको पर्सा चौराहामा जोडिने यो दुई लेनको सडक ४२ किमी रहेको छ । एक्पोर्ट–इम्पोर्ट बैंक अफ इण्डियाको ऋण सहयोगमा बन्न लागेको यो सडकको लागत ६५ करोड ६४ लाख ४३ हजार रूपैयाँ रहेको छ । सन् २०१७ को नोभेम्बरमा काम सक्ने लक्ष्य लिइएको छ ।

महेन्द्र राजमार्गको मुर्गियाबजारदेखि लुम्बिनी जोड्ने १३ किमी सडकको विस्तार तथा पक्की काम पनि सुरु भएको छ । १३ करोड रूपैयाँमा ठेक्का भएर काम तीव्र गतिले अघि बढेको प्रमुख मरासिनीले जानकारी दिए ।

त्यसैगरी भैरहवा–लुम्बिनी सडकलाई फोर लेन र लुम्बिनी–तौलिहवा सडकलाई दुई लेनको बनाउने गरी काम सुरु भएको छ । यी दुई सडकका लागि एडिबीले २५ वर्षमा तिर्ने गरी १ दसमलब ५ प्रतिशत सहुलियत ब्याजमा २ अर्ब १५ करोड रूपैयाँ ऋण दिएको छ ।
लुम्बिनी आउने पर्यटकलाई ढोरपाटन सिकार आरक्षमा जान सजिलोका लागि सालझण्डी–सन्धिखर्क–ढोरपाटन १ सय ९५ किमी लामो सडकको निर्माण धमाधम अघि बढेको छ । यो पर्यटकीय मार्गको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । २५ किमी सडक निर्माण सम्पन्न भइसकेको छ । दुई लेनको ग्राभेल स्तरीय यो सडकको लागत ३ अर्ब ७ करोड ९१ लाख रूपैयाँ रहेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना कार्यालयको भनाइ छ ।

लुम्बिनी आउने पर्यटक यो सडक बनेसँगै ढोरपाटनको प्राकृतिक सौन्दर्यतासँग रमाउन पाउने मात्रै नभएर पहाडी जिल्ला अर्घाखाँची,  गुल्मी, पाल्पा र बाग्लुङका बासिन्दाले पनि लाभ लिन सक्ने छन् । बुटवलबाट गोरुसिंगे हुँदै अर्घाखाँची सदरमुकाम सन्धिखर्क पुग्न १ सय १३ किमी पर्छ । यो सडक बनेसँगै बुटवलदेखि सन्धिखर्कको दूरी २० किमी घट्ने छ ।

विमानस्थलले खोल्दैछ ढोका
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै उद्योगी व्यवसायीमा उत्साह जागेको छ । सन् २०१८ जुनमा पूरा गर्ने गरी काम भइरहेको छ । ६ अर्ब २२ करोड ५१ लाख रूपैयाँमा चिनियाँ कन्ट्रक्सन कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले ठेक्का लिएको यो विमानस्थल निर्माण कामलाई तीव्र पार्न स्थानीय स्तरबाट दबाब परेपछि ठेकेदार कम्पनी तातेको छ ।

निर्माण सुरु भएको दुई वर्षमा घाँगरा नदीलाई डाइभर्सन गरिएको छ । तीन हजार मिटर कच्ची रनवे तयार भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, कन्ट्रोल टावर र प्रशासनिक भवनको जमिन सतहमुनिको काम तयार भई सतहमाथिको काम भइरहेको छ । उद्धार तथा अग्नि नियन्त्रण भवन र विद्युतको सव स्टेसन भवनको काम पनि धमाधम भइरहेको छ ।

विमानस्थल निर्माणको काम अहिलेसम्म २७ प्रतिशत पूरा भएको छ । ‘जटिल खालको जमिन र जमिनमुनिको काम भइसकेकोले अबको काम अलि छिटो अघि बढ्छ, ठेकेदार कम्पनीलाई पनि काम अलि तीव्र पार्न कडाइ गरेका छौं,’ गौतम बुद्ध विमानस्थल स्तरोन्नति आयोजनाका प्रमुख ओम शर्माले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा डेढ गुणा ठूलो यो विमानस्थलमा सन् २०३३ मा दैनिक तीन÷तीन मिनेटमा आन्तरिक र प्रत्येक घण्टामा तीन–चार अन्तर्राष्ट्रिय उडान भर्ने गरी तयारी गरिएको शर्माको भनाइ छ । दैनिक आन्तरिक उडानबाट १ लाख २० हजार र  अन्तर्राष्ट्रिय उडानबाट २० हजारले विमानस्थल प्रयोग गर्ने लक्ष्य लिइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएपछि यो क्षेत्रको पर्यटकीय विकासमा कायापलट हुने अपेक्षा गरिएको छ । विमानस्थल सुरु भएसँगै लुम्बिनीमा वार्षिक १० लाख पर्यटक ल्याउने योजना अघि सारिएको छ । पर्यटक आवागमनको यही लक्ष्यका आधारमा धमाधम होटलमा निजी क्षेत्रले लगानी बढाएको छ । पाँच तारे आधा दर्जन होटल निर्माणाधीन छन् । बुटवल, भैरहवा र लुम्बिनीमा सुविधासम्पन्न होटल खुलिरहेका छन् । पाँच वर्षमा रूपन्देहीका होटलमा सात अर्ब लगानी भएको होटल व्यवसायीको भनाइ छ ।

अघि बढ्दै लुम्बिनी गुरुयोजना 
केही वर्षअघिसम्म लुम्बिनी विकास कोषका अधिकारी लुम्बिनी गुरुयोजनामा मागअनुसार बजेट विनियोजन नहुँदा दिक्क थिए । अहिले समय फेरिएको छ, हिजो न्यून बजेटले दिक्क हुने कोषका पदाधिकारी कर्मचारी अहिले विनियोजन भएको बजेट खर्च गर्ने सामथ्र्य जुटाउन नसक्दा हैरान छन् । यो वर्ष लुम्बिनी गुरुयोजनाको काम अघि बढाउन ६६ करोड रूपैयाँ विनियोजन भयो । त्यसमध्ये पुस मसान्तसम्म ११ करोड रूपैयाँ मात्रै खर्च भएको छ । जापानी प्रो केञ्जो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना बनाएर हस्तान्तरण  गरेको ३९ वर्षमा ७४ प्रतिशत पूरा भएको कोषका सदस्य–सचिव अजितमान तामाङले जानकारी दिए । कोषका इन्जिनियर सरोज भट्टराईका अनुसार लुम्बिनी गुरुयोजना पूरा गर्न ५ अर्ब ९० करोड रूपैयाँ लाग्छ । पछिल्लो एक दशकमा लुम्बिनी गुरुयोजनाको काम धेरै अघि बढेको हो । विमानस्थल निर्माण सुरु भएसँगै लुम्बिनी गुरुयोजना पूरा गर्न दबाब परेको छ ।

मुहार फेर्दै सिद्धार्थनगर र बुटवल 
सिद्धार्थनगर अर्थात भैरहवाको चमक पहिले अर्कै थियो । समय बित्दै जाँदा बुटवल चम्कियो । भैरहवा सदरमुकाम भएकाले मात्रै धानिएको हो भन्ने यहाँका उद्योगी व्यवसायी तीन वर्षमै सिद्धार्थनगरले चमक देखाउन थालेकोमा दङ्ग छन् । अहिले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै लुम्बिनीको प्रवेशद्वार भैरहवा बौरिएको छ । विमानस्थल निर्माणले मात्रै नभएर सहरमा निर्माण भइरहेका सडक र ढलले भैरहवाको स्वरूप बदलिएको हो । 

सिद्धार्थनगर नगरपालिकाका इन्जिनियर यमलाल पाण्डेका अनुसार एसियाली विकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाले सिद्धार्थनगर स्वरूप फेरेको हो । एडिबीले पहिलो चरणमा १ अर्ब ७१ करोड रूपैयाँ लगानी गरिसकेको छ । यो लगानी नगरमा फोहरमैला प्रशोधन केन्द्र, सडक र ढल निर्माणमा खर्च गरिएको छ । त्यसमध्ये ३५ करोडको लगानीमा पट्खौलीमा फोहरमैला प्रशोधन केन्द्र बन्दैछ । ८९ करोड सडक र सतह ढल निर्माणमा खर्च गरिएको छ । जसअन्तर्गत साढे १० किमी सडक बनिरहेको छ । त्यसको दायाँ–बायाँ २१ किमी ढल निर्माण भएको छ । २२ किमी नाला खोल्ने काम भएको छ । सडकको दायाँ–बायाँ पाइप लाइन विस्तार गरिएको छ । ‘अब सडक खनेर पाइप लैजानुपर्ने समस्याको अन्त्य भएको छ,’ इन्जिनियर पाण्डेले भने ।

पहिलो चरणको काम उत्साहजनक ढङ्गले अघि बढेपछि एडिबीले थप कामको लागि २ अर्ब ३८ करोड रूपैयाँ दिने सहमति भएको छ । इन्जिनियर पाण्डेका अनुसार यो रकमले २५ किमी सडक, दुवैतर्फ बिजुली पोल, खानेपानी पाइप लाइन, टेलिफोन लाइन, फुटपाथ र सम्भव भए हरियालीसमेत बनाइने छ । त्यसैगरी ६२ किमी ढल र पहिले बनेको सडकमा फुटपाथ बनाइने छ ।

विमानस्थलको विस्तार भएसँगै अहिलेको दुई बिघामा रहेको बसपार्कलाई विस्तार गर्ने काम अघि बढाइएको छ । थप दुई बिघा  गरी चार बिघामा बसपार्क हुने छ । त्यसका लागि १७ करोडमा ठेक्का भई काम अघि बढेको छ । त्यसैगरी सरकारले यो वर्षदेखि तराईका जिल्ला सदरमुकामको विकासका लागि दिन लागेको ५० करोड रूपैयाँ पनि सडक निर्माणमा खर्च गर्ने योजना अघि सारिएको छ । बहुवर्षीय ठेक्कामा दिने गरी ३५ किमी सडक र बसपार्क विस्तारको लागि दुई अर्बको ठेक्का भएको छ।

‘पूर्वाधार निर्माणले सिद्धार्थनगरको मुहार फेरिएको छ, हराउँदै गएको सहरको चमक आएको छ,’ सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठले भने ।

सिद्धार्थनगर मात्रै होइन, सडकले बुटवलको मुहारसमेत फेरिएको छ । राजमार्ग चौराहादेखि गोलपार्क र अस्पताल लाइनदेखि तिनाउपुलसम्म बनेको फोर लेन सडकले बुटवललाई आर्कषक देखाएको छ ।

एडिबीको सहयोगमा बुटवलमा मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजना अघि बढेको छ, जसअन्तर्गत ८८ करोड रूपैयाँका तीन आयोजना अघि बढेका छन् । फोहर प्रशोधन केन्द्र, खानेपानी आयोजना र अटो भिलेज सुधार आयोजनाका काम   
अघि बढेका छन् ।

बुटवलको खानेपानी समस्या समाधान गर्न झुम्सा खानेपानी आयोजना अघि बढाइएको छ । पाल्पाको झुम्साबाट तिनाउको पानी ल्याउन १६ करोड रूपैयाँ खर्च भइसकेको छ । यति मात्रै नभएर बुटवलको खानेपानी सुदृढीकरण आयोजना गर्न एक अर्बको बजेट विनियोजन भएको छ । यो बजेट खानेपानी पाइप लाइन सुधार र पानी प्रशोधन केन्द्र निर्माणमा खर्च गर्ने गरी काम भएको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए ।

त्यसैगरी बुटवलमा अहिले नेपालकै नमुना अन्तर्राष्ट्रिय सम्मेलन  केन्द्र बनिरहेको छ । बुटवल मण्डपको १० बिघा क्षेत्रफलमा दुई अर्बको लागतमा बनिरहेको सम्मेलन केन्द्र काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भन्दा बढी सुविधा सम्पन्न हुने डिभिजन भवन कार्यालय भैरहवाका इन्जिनियर घनश्याम श्रेष्ठले दाबी गरे । नेपालको राष्ट्रिय झण्डाको आकृतिमा बन्न लागेको सम्मेलन केन्द्र २०७४ असार मसान्तसम्म सक्नुपर्ने सम्झौता छ । यो सम्झौता एक वर्ष थप हुने छ । पहिलो चरणको काम ४४ प्रतिशत सकिएको छ ।

पूर्वअर्थ सचिव रामेश्वर खनाल रूपन्देहीमा पूर्वाधार विकासका कामले गति लिनुमा तीन कारणले काम गरेको ठान्छन् । उनका अनुसार पहिलो लुम्बिनीलाई केन्द्रमा राखेर पूर्वाधार विकास गर्ने सरकारको नीति बन्यो, दोस्रो दातृ निकायको चाहनाले काम गर्याे तेस्रो स्थानीय राजनीतिक नेतृत्वको जाँगर र सक्रियताले पनि यहाँको पूर्वाधार विकासले गति लिएको हो ।

रूपन्देही–४ का सभासद्समेत रहेका एमाले नेता बिष्णु पौडेल केपी ओली प्रधानमन्त्री हुँदा  अर्थमन्त्री थिए । उनले यसअघि प्राथमिकतामा परेका आयोजनालाई पर्याप्त बजेट पारिदिए, प्राथमिकतामा नपरेकालाई प्राथमिकतामा पारेर बजेट विनियोजन गरे । ‘हामी यो क्षेत्रलाई विकासका लागि मुलुककै रोलमोडेल बनाउन चाहन्छौं,’ उनले भने । अहिले निर्माणाधीन आयोजना पूरा हुनेबित्तिकै रूपन्देही पूर्वाधार विकासमा नमुना देखिने छ । 









यसमा तपाईको मत

अन्य समाचार

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

रत्नशमशेरलाई खेमराज संगीत सम्मान

गीतकार रत्नसमशेर थापा ‘खेमराज गुरुङ संगीत सम्मान’ बाट सम्मानित भएका छन् । गायक खेमराज गुरुङको प्रथम वार्षिक स्मृतिको अवसरमा खेमराज...

अभिनयमा श्वेताको पुनरागमन

अभिनयमा श्वेताको पुनरागमन

तीन वर्षअघि फिल्म 'कोहिनूर'मा मुख्य भूमिकामा अभिनय गरेकी स्वेता खड्का फिल्मका कलाकार तथा पति श्रीकृष्ण श्रेष्ठको निधनपछि फिल्मको पर्दाबाट टाढै...

स्काउट भाद्र ८ मा

स्काउट भाद्र ८ मा

नेपाली कथानक चलचित्र स्काउट भाद्र ८ मा रिलिज हुने भएको छ। फिल्ममा मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदार प्रसाद पराजुली, कृष्ण लामिछाने...

राहत संकलनमा जुटे कलाकार

राहत संकलनमा जुटे कलाकार

अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले...