८ वैशाख २०८१ शनिबार
राजनीति

पछिल्लो प्रस्ताव झन् खतरनाक : ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको पछिल्लो संविधान संशोधन विधेयक पहिलेको भन्दा खतरनाक भएको आरोप लगाएका छन्। 'सिमाना हेरफेर गर्न प्रदेशसभाको सहमति नचाहिने व्यवस्था राख्न खोजेर सरकारले चलाखीका साथ खतरनाक ढंगले संशोधन विधेयक प्रस्तुत गरेको छ', ओलीले भने, 'प्रदेश सभाको सहमति चाहिने संवैधानिक व्यवस्था नै हटाउन खोजियो, सरकारी प्रस्ताव पारित भयो भने न रहे बाँस न बझे बाँसुरीको अवस्था आउँछ।'

ओलीले बाहिर सुन्दा सकारात्मक हो कि भन्ने भान पार्दै सरकारले दल मिल्न खोज्दैछन् भन्ने भ्रम छरेको आरोप लगाए। सरकारले एमालेलाई एक्ल्याउन खोजेको तर आफूहरु कमजोर नभएको उनको भनाइ थियो। 'हामीलाई एक्ल्याउने प्रयास भएको छ, सरकारले निर्वाचन चाहेकै छैन, सरकार एमालेका कारण निर्वाचन भएन भन्ने पार्न खोजिरहेको छ,' ओलीले भने, 'यो सरकार बनेपछि संविधान संशोधनमा मात्रै अलमलिएको छ, निर्वाचन हुने वातावरण बनाउनतिर लागेकै छैन।'

संविधान संशोधन गर्न मिल्ने भन्दै ओलीले सधैंभरि संशोधन गरेर मात्रै नबस्न सरकारलाई सुझाव दिए। 'संविधान संशोधन हुन सक्छ तर यसो भन्दैमा सधैं संविधान संशोधनमा मात्रै लाग्ने, हाम्रो अरू काम छैन', ओलीले प्रश्न गरे, 'पपुलिस्ट बजेट ल्याएर निर्वाचन गर्ने काम लोकतन्त्रमा मिल्छ?'

निर्वाचनका लागि आवश्यक पर्ने विषय संशोधन गर्न सकिने भन्दै उनले त्यसमा एमाले बाधक नहुने तर देशलाई नै समस्यामा पर्ने कुरामा साक्षी बस्न नसक्ने बताए। 'निर्वाचनको मिति घोषणा भएपछि स्थानीय तहको संख्या बढाउन सकिन्न,' उनले भने, 'यो सरकारलाई कानुन, नियम, केहीको मतलब छैन। चितवनमा आतंक मच्चाउने धु्रवे हात्तीजस्तो भएको छ सरकार।'

हाल कायम संसद् संविधानसभाको रूपान्तरित रुप हो भन्ने कुरा सरकारलाई कसले सिकाउने भन्दै ओलीले जहाँजहाँ जसोजसो पर्‍यो त्यो गर्दै हिँड्न नमिल्ने टिप्पणी गरे।

डिआइजी किन गिरफ्तार?

ओलीले डिआइजी नवराज सिलवाललाई पक्राउ गर्नुको कारण सदनमा जानकारी गराउन माग गरे। 'सरकार बहालवाला डिआइजीलाई  त सूचना नै नदिई गिरफ्तार गर्छ,  जनताको के हालत होला,' ओलीले प्रश्न गरे, 'बाँच्न पाउनुपर्छ भन्ने कुरा कसरी सम्झाउने होला।' उनले एउटा डिआइजी कानुनी सहायता लिन गएका बेलामा गिरफ्तार गरेर सरकार किन यति तल झरेको भनी प्रश्न गरे।

'हामी यो डिआइजी तेरो, यो मेरो भन्दैनौं, विधिको शासन होस् भन्ने चाहन्छौं', ओलीले भने, 'कसैलाई आइजीले चुनाव जिताउने भ्रम छ भने नपाले हुन्छ।'

मतपेटिकाको सुरक्षा कसले गर्छ?

ओलीले एक महिनाको फरकमा निर्वाचन गर्दा मतपेटिकाको सुरक्षामा चुनौती थपिने बताए। 'एक महिनासम्म मतपेटिकाको सुरक्षा कसले गर्छ', ओलीले प्रश्न गरे, 'मन्त्रीले कि कार्यकर्ता धर्ना बसेर या प्रहरीले, सदनमा जानकारी गराउन सरकार तयार छ?'

विभिन्न बहानामा निर्वाचन धकेल्नेभन्दा समयमा निर्वाचन सम्भव गराउने बाटोमा लाग्न ओलीले सरकारलाई सुझाव दिए। बजेटलगत्तै निर्वाचन गर्नेजस्तो असुहाउँदो काम हुन नसक्ने दाबी गर्दै ओलीले बहानाबाजी बन्द गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरे। उनले अझै पनि एक चरणमा निर्वाचन गर्न सकिने दाबी गरे।

प्रकाशित: १२ वैशाख २०७४ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App