coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

टेनिस सिक्दै जुनियर खेलाडी

सन्तोष सुवेदी

पोखरा- किशोर आभान श्रेष्ठले यसअघि टेनिस खेलका थिएनन्। कास्की जिल्ला टेनिस संघले टेनिस प्रशिक्षण दिने भन्ने सुनेपछि उनी हानिए रंगशालातिर। हरेक बिहान एक महिना सिकेका उनले टेनिस खेल्दा खुसी लागेको बताए। 'यहाँबाट धेरै कुरा सिक्न पाएँ। अब यसलाई निरन्तरता दिन्छु,' उनले खुसी साटे। उनले यसअघि टिभीमा टेनिस हेरेर रमाउने गर्थे।

श्रेष्ठ मात्र होइनन् अहिले पोखरा रंगशालाको टेनिस कोर्ट साना बालबालिकाले भरिएको हुन्छ। कास्की जिल्ला टेनिस संघले कास्कीमा १२ वर्षमुनिका खेलाडीलाई टेनिस प्रशिक्षण सुरु गरेदेखि सिक्नेको जमात बाक्लो छ। संघले तीन साताअघिदेखि दोस्रो चरणअन्तर्गतको प्रशिक्षण सञ्चालन गरेको हो। प्रशिक्षणमा ५० जना खेलाडी सहभागी भएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाए।

'६ महिनाअगाडि  पहिलो चरणको प्रशिक्षण सुरु गरेका थियौं। त्यो बेला ३० खेलाडी प्रशिक्षणमा आएका थिए' उनले भने, 'यस पटक प्रशिक्षार्थीको संख्या झन्डै दोब्बर  बढेको छ। खेलप्रति बालबालिकाको रुचि बढेको पाइयो।' गत वर्ष भने २० खेलाडीको सहभागिता थियो।

संघ कास्कीले जुनियर लेवलबाटै खेलाडीको खोजी गरी नयाँ र प्रतिभावान् खेलाडी उत्पादनका लागि तालिम सञ्चालन गरेको जनाएको छ। तालिममा पुरुषभन्दा महिला खेलाडीलाई प्राथामिकता दिइएको छ।

अग्रज खेलाडी नीरज थापा, अनिल शाही, अनिल मगर र प्रदीप खड्काले बिहान ३ घण्टासम्म प्रशिक्षण दिएका छन्। यो समय विद्यालय छुट्टी भएकाले नै खेलाडीहरूले प्रशिक्षणमा नियमित समय दिइएको जनाइएको छ। विद्यालय सुरु भए पनि शनिबार र अन्य बिदाका दिनमा तालिम नियमित रूपमा सञ्चालन गरिने संघले जनाएको छ।

कास्की लन टेनिस संघले अन्तर्राष्ट्रिय मापदण्डका ५ वटा कोर्ट तयार पारेको छ। गत वर्ष अन्तर्राष्ट्रिय लन टेनिस महासंघको बैठकमा अध्यक्ष विनोद कायस्थ सहभागी भए। अहिले महासंघले पोखरामा अन्तराष्ट्रिय भेट्रान्स प्रतियोगिता गर्न स्वीकृति प्रदान गरेको छ। 'अर्को वर्ष त्यसको तयारी गर्नेछांै र ३ वटा कोर्ट थप्नेछांै' —अध्यक्ष कायस्थले भने।

प्रकाशित: १२ वैशाख २०७४ ०४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App