६ वैशाख २०८१ बिहीबार
समाज

राष्ट्रपतिले गरिन् सम्पदा अवलोकन

ललितपुर- भूकम्प गएको दुई बर्ष पूरा भएको दिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं, भक्तपुर र ललितपुर दरबार क्षेत्रका सम्पदाको अवलोकन गरेकी छन्। भूकम्पले क्षतिग्रस्त सम्पदाको पुनर्निर्माण कार्यप्रणाली र सम्पदाको अवस्थालाई मध्यनजर गर्दै सम्पदा क्षेत्र अवलोकन गरेकी हुन्।

उनलाई पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले तीनवटै जिल्लाको सम्पदा क्षेत्रको पुनर्निर्माण कार्य प्रगती पेस गरेका थिए । अवलोकनका क्रममा बोल्दै राष्ट्रपति भण्डारीले मौलिकता र ऐतिहासिक महत्वलाई जोगाएर सम्पदा पुनर्निर्माण गर्न सुझाइन्। ‘सम्पदाको परम्परा र मौलिकतालाई जिवित हुनुपर्छ,’ उनले भनिन्, ‘सम्पदाको ऐतिसिकता चित्रण हुनेगरी पुनर्निर्माण कार्यलाई तीब्रता दिन जरुरी छ।’

विभागका महार्निदेशक दाहालले अहिलेसम्म उपत्यकाका २० सम्पदाको पुनर्निर्माण सकिएको बताए। उनका अनुसार किर्तिपूरको लाहदेग मन्दिर, हनुमानढोकास्थित शिव मन्दिर लक्ष्मी मन्दिर, नाटय्श्वर मन्दिर, श्वेत भैरव मन्दिर, तलेजु भवानीको मन्दिर, नगरा घर, च्यासिंह मण्डप निर्माण भइसकेका छन् । त्यस्तै, काठमाडौं नागार्जुनस्थित जमाचो पार्टी, बौद्धनाथ स्तूप, ललितपुर लामाटारको काशी विश्वेश्वर मन्दिर, प्याङगाउँस्थित २ वटा ऐतिहासिक पार्टी, पाटन दरबारस्थित योगनरेन्द्र मल्लको शालिक, भिमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, सुन्दरीचोकको पूर्वी भाग, तलेजु महादेवको मन्दिर पुनर्निर्माणको काम सकिएको र दरबार परिसरकै चारनारयण मन्दिरको जग बसालिएको पुरातत्व विभागका महानिर्देशक भेषनाराण दाहालले जानकारी दिए। उनका अनुसार भक्तपुर दरबार क्षेत्रभित्रका केहि सम्पदा पुनर्निर्माणको काम सकिएको छ । दरबारस्थित रामेश्वर मन्दिर, बद्रीनारायणको मन्दिर, शेषनारयण मन्दिर र नारायणकै अन्य दुई मन्दिर पनि उठिसकेका छन् । भक्तपुर नगरपालिका अन्र्तगत नै प्राचिन खौमा गेट, चागुँनारायण मन्दिर परिसरको किलेश्वर मन्दिर पनि पुनर्निर्माण भइसकेको छ । यी सम्पदा पुर्ननिर्माणमा १३ करोड २७ लाख ८३ हजार रकम खर्च भएको विभागका प्रमुख लेखा नियन्त्रक शिवकुमार महतले जानकारी दिए। उनले भुकम्पबाट क्षति भएका सम्पूर्ण सम्पदाहरु ठेक्कामा भइरहेको बताए । ‘सम्पदा पुनर्निर्माणको लागि प्राधिकरणबाट बजेट  आउन ढिलो हुन्छ,’ उनले भने, ‘प्राधिकरणले हालसम्म दिएको सबै रकम खर्च भइसकेको छ।’

 

 

 

प्रकाशित: १२ वैशाख २०७४ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App