१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इटहरीमा झडप, ४ प्रहरी घाइते, सवारी साधनमाथि तोडफोड

इटहरीमा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता लाठी जुलुस प्रदर्शन गर्दै । तस्बिरः अमर खड्का

इटहरी– आफ्ना माग पूरा नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने भन्दै मंगलबार दिउँसो इटहरीमा लाठी जुलुस प्रदर्शन गर्ने क्रममा संघीय गठबन्धन संघीय लिम्बुवानका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपमा परी ४ प्रहरी घाइते भएका छन्।  

प्रदर्शनकारीले लाठी जुलुस प्रदर्शन गर्दा त्यसलाई रोक्ने क्रममा प्रहरी वीरेन्द्र नेम्वाङ्, भूपाल विष्ट, हरि सुवेदी र सुरेन्द्र अधिकारीघाइते भएका हुन्। घाइतेको अवस्था भने सामान्य छ। स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।  

इटहरी उपमहानगरपालिकामा कालो झन्डा गाडेर इलाका प्रहरी कार्यालयबाट दक्षिणतर्फ हटिया लाइनमा जुलुस प्रदर्शन गर्दा प्रहरीले लठी नियन्त्रणमा लिन खोजेका थियो। त्यही क्रममा प्रदर्शनकारीले उल्टै प्रहरीलाई लाठीले घोच्दा झडप भएको हो।

त्यसक्रममा प्रदर्शनकारीले ४ वटा सवारी साधनमाथि तोडफोड गरे। तोडफोडबाट सवारी साधनको सिसा फुटेको प्रहरीले जनायो । झडप हुँदा प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन एक सेल अश्रृग्यास प्रहार गरेको डिएसपी नरेशराज सुवेदीले बताए।

झडपपछि इटहरीको हटियालाइन हुदैं पश्चिमतर्फ कस्तूरी चोकबाट चौरास्त चोकमा आएर जुलुस टुंगिएको थियो। चोकमा भएको कोणसभामा लिम्बुवान नेता सन्जुहाङ् पालुङ्वाले संविधान संसोधन नगरी चुनाब भएमा मान्य नहुने त्यसबिरुद्द कठोर आन्दोलन गर्न तयार रहेको चेतावनी दिए।

सप्तकोसी पूर्वका नौंवटा जिल्लाबाट संघीय गठबन्धनमा आबद्ध लिम्बुवानका कार्यकर्ता इटहरीमा डाकेर लाठी जुलुस प्रदर्शन गरिएको हो। जुलुस प्रदर्शनका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ताको समेत सहभागिता रहेको थियो।

शक्ति देखाउनका निम्ति लाठी जुलुस प्रदर्शन गरिएको थियो। ‘कार्यकर्ताले स्वतफूर्त रुपमा लाठी ल्याएर प्रदर्शन गरे,’ संघीय गठबन्धन लिम्बुवानका भूपेन्द्र सुन्दर लावतीले भने।

 

प्रकाशित: १२ वैशाख २०७४ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App