७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

प्लास्टिक फोहोर खाने किरा

मौरीले बनाएको घारलाई सिनित्तै पारेर सिध्याउने एक किसिमको किराले प्लास्टिकसमेत खान सक्ने क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले जनाएका छन् । एक किसिमको झुसिल्किराले प्लास्टिक खाने भएकाले यो किरा प्रदूषण नियन्त्रणका लागि भरपर्दो साथी हुन सक्ने उनीहरुको दाबी छ ।

प्रयोग गर्दा वैज्ञानिकहरुले के पाए भने यस किराको शरीरमा जुन किसिमको रसायनिक संरचना हुन्छ, त्यसले प्लास्टिक खाएर पनि पचाउन सक्छ । यस्ता झुसिल्किराले मौरीको घार नै खाएर पचाउने देखिएकाले यिनले प्लास्टिक पनि पचाउन सक्ने वैज्ञानिकहरुको विश्वास छ ।

संसारभरि नै हरेक वर्ष आठ करोड टन प्लास्टिकको पोलिथिन उत्पादन हुने गर्छ । यसरी उत्पादित प्लास्टिक यतिबेला संसारभरिकै लागि टाउको दुखाईको विषय बन्न पुगेको छ । यस्ता प्लास्टिकहरु सपिङ ब्याग, फुड प्याकेजिङ उद्योग आदिले उत्पादन गर्ने गर्छन् । हिजोआज त प्लास्टिकको प्रयोग कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था सिर्जना भएको छ । यी प्लास्टिक पूर्ण रुपमा गल्न र मलमा परिणत हुन सयौँ वर्ष लाग्ने गर्छ ।
तर वैज्ञानिक गेलेरिया मेलोनेला नामक यो किराले प्लास्टिक ब्यागलाई केही घण्टाभित्रै पचाइदिन्छ ।

क्याम्ब्रिज विश्वविद्यालयका बायोकेमिस्ट डाक्टर पाओलो बाम्बेलीले यस विषयमा शोध गरेका थिए । उनी भन्छन्, ‘यो झुसिल्किरा त एउटा सुरुवात मात्रै हो । यस किराको पाचन प्रणाली कस्तो हुन्छ, कसरी पचाउँछ भन्ने हामीले बुझ्न सक्यौँ भने भविष्यका दिनमा हामीले प्लास्टिक फोहोरको समस्या समाधान गर्न सक्छौँ वा प्लास्टिक फोहोर कम गर्ने कुनै प्रविधि बनाउन सक्छौँ ।’
 

प्रकाशित: १३ वैशाख २०७४ ०४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App