coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

धुर्मुस–सुन्तलीले ‘मिनि नेपाल’ बनाउने

काठमाडौं– हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले ‘मिनि नेपाल’ बनाउने योजना सार्वजनिक गरेका छन् । सबै प्रदेशका जनतालाई भावनात्मक रुपमा जोड्न उनीहरुले मिनि नेपाल बनाउने सोचअनुरुप काम थाल्ने बताए । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र महोत्तरीमा भूकम्पपीडितका लागि एकीकृत नमूना बस्ती बनाएका हास्य कलाकार जोडीले हिमालको सिन्धुपाल्चोक, पहाडको काभ्रे र तराईको महोत्तरीमा बस्ती बनाएको अनुभवले सबै प्रदेशका नेपालीलाई एकताबद्ध बनाउन मिनी नेपाल बनाउन प्रेरित गरेको उल्लेख गरे ।

नेपाल रिपब्लिक मिडियाको आठौं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजना गरिएको ‘नागरिक नायक’को सम्मान लिएपछि नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको अन्तरसंवादमा उनीहरुले नयाँ योजना सार्वजनिक गरेका हुन् । ‘सुरुमा यो सोच कुञ्जनाले ल्याएकी थिइन् । उनले हरेक जिल्लाबाट पीडित गरिब परिवार छनोट गरेर हिमाल, पहाड र तराई प्रदेश समेटिने एउटा बस्ती बनाउने कुरा राखेपछि मलाई उनको सोच राम्रो लाग्यो । उनकै सोचअनुसार हामीले ‘मिनी नेपाल’को योजना ल्याएका हौं,’ धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्षसमेत रहेका सितारामले भने । उनले बस्तीले  सिंगो नेपालको प्रतिनिधित्व गर्ने जनाए । ‘हिमाली प्रदेशमा हिउँ खेल्ने ठाउँ हुन्छ । पहाडी प्रदेशमा गाईवस्तु चरेका हुन्छन् । तराई प्रदेशमा दाङको थारुदेखि झापाको राजवंशीसम्मको घर हुन्छ । हरेक प्रदेशमा पर्यटकका लागि कस्तो घर उपयुक्त हुन्छ । त्यसका लागि विज्ञसँग सल्लाह गरेर त्यहीअनुसारको घर पनि बनाउनेछौं ’ उनले भने । भोलिका दिनमा विदेशबाट पर्यटक आउँदा पहिला ‘मिनी नेपाल’ नै घुमुन् भन्ने आफूहरुको चाहना रहेको सितारामले खुलाए ।

नेपालले सगरमाथा र बुद्धको प्रचार गरेर पर्यटक भित्र्याइरहँदा ‘मिनी नेपाल’को प्रचार गरेमा त्योभन्दा बढी पर्यटक नेपाल आउने सितारामले दाबी गरे । ‘मिनी नेपाल बनाउन हामीलाई ५ सयदेखि १ हजार रोपनी जति जग्गा आवश्यक हुन्छ । नेपाल सरकार वा मन भएका व्यक्ति, संघसंस्थाले जग्गा दान दिएमा काम गर्न सजिलो हुनेछ, ’ उनले भने ।

आफूहरुले भारी बोकेरै बस्ती बनाएको स्मरण गर्दै नेपाली जनता र दर्शकले साथ दिए देशकै भारी बोक्न तयार रहेको बताए । सितारामले भने, ‘अहिले हामीलाई भारी बोक्न कुनै दुःख छैन । हामीसँग सपना धेरै छन्, सपना पूरा गर्न योजनाबद्ध ढंगले अगाडि बढ्ने कोसिसमा छौं । हामीलाई चुनौती र चिन्ता दुवै छ ।’
देशमा अस्थिरता भइरहेको बेला हिमाल, पहाड र तराईलाई जोड्न तराई पुगेको बताउँदै सितारामले जातीय एकताको सन्देश दिन तीन प्रदेशमा बस्ती बनाएको खुलाए । ‘अब हामीलाई सामाजिक सद्भाव कोष खडा गर्न रकम आवश्यक छ, त्यसकारण धुर्मुस–सुन्तली फाउन्डेसन खडा गर्न सहयोग गर्नुहुनेसँग सामाजिक सद्भाव कोष खडा गर्न पनि सहयोगका लागि आव्हान गर्दछु ’ सितारामले भने ।

कुञ्जनाले ‘हुँदैन’ भन्ने सोच बनाएका व्यक्तिका अगाडि ‘किन हुँदैन’ भन्ने शक्ति आएको बताइन् । ‘हामीले किन हुँदैन भनेर सुरु गरेको काम तीनवटा बस्ती निर्माणसम्म आइपुगेको छ । यो क्रममा हामीले पाएको माया र सद्भाव आफैमा ठूलो छ,’कुञ्जनाले भनिन् ।

प्रकाशित: १३ वैशाख २०७४ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App