coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

तीन वर्षपछि ब्युँतियो ‘पलेँटी’

काठमाडौं– तीन वर्षयता बन्द रहेको सांगीतिक शृंखला ‘पलेँटी’ पुनः सुरु हुने भएको छ । हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार आयोजना हुँदै आएको शृंखला फेरि सोही मितिमा सञ्चालन हुन लागेको हो ।

पलेँटीको नयाँ शृंखला आगामी अप्रिल २८ तारिख अर्थात् वैशाख १५ गते शुक्रबार  कालिकास्थानस्थित आरशालामा ब्युँतिन लागेको हो । गायक एवं संगीतकार प्रकाश गुरुङ र उनकी गायिका छोरी रिमा गुरुङ होडाको संयुक्त प्रस्तुतिपछि सन् २०१४ को जुलाइ महिनाबाट ‘पलेँटी शृंखला’ रोकिएको थियो ।

नयाँ शृंखलामा कवि तथा गीतकार दिनेश अधिकारी प्रस्तुत हुनेछन् । नारायणगोपाल र तारादेवीदेखि नयाँ पुस्तासम्मका गायकगायिकाका लागि गीत रचना गरेका अधिकारी पछिल्लो समय पनि गीत लेखनमा उत्तिकै सक्रिय छन् । शृंखला नेपालयले सञ्चालन गरेको हो ।

कवि, गायक एवं संगीतकार आभासको सक्रियतामा सन् २००५ देखि सुरु भएको पलेँटीमा एकवर्षसम्म आभासले मात्र प्रस्तुति दिएका थिए । सन् २००६ देखि २०१४ सम्ममा यो शृंखलामा नेपाल, भारतको दार्जिलिङ, पूर्वोत्तर भारत र भुटानलगायतका मुलुकका ४१ जना कलाकारले आफूलाई प्रस्तुत गरिसकेका छन् ।

यसपटक सांगीतिक समूह नेपथ्यले आफ्नो स्थापनाको २५ औं वर्ष पुगेको मौका पारी पलेँटी शृंखलाको व्ययभार ब्याण्डले ब्योहोर्ने घोषणा गरेपछि शृंखला सुचारु हुन लागेको हो ।

पलेँटीका प्रस्तोता आभासले पलेँटीजस्तो शिष्ट आसनमा बसेका श्रोतामाझ कलाकारले आफूलाई प्रस्तुत गर्दा दुवैबीच स्थापित हुने हार्दिक सामीप्य नै यसको मुख्य विशेषता रहँदै आएको बताए । पलेँटी शृंखलामा गीतकारका सिर्जनालाई गायक आभास, गायिका मिना र योगेन्द्रले सुनाउनेछन् ।

 

प्रकाशित: १३ वैशाख २०७४ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App