७ वैशाख २०८१ शुक्रबार
समाज

ट्राउट माछाले टुटायो वैदेशिक रोजगारीको यात्रा

अर्खलेबेसी(लमजुङ)-  परिवारको लालनपालनकै लागि साउदीअरबको उखरमाउलो गर्मीमा काम गरिरहँदा विकट अर्खलेगाउँका जितबहादुर गुरुङको मनमा जहिल्यै एउटै प्रश्न उठीरह्यो, ‘दुईचार पैसा कमाउनकै लागि गाउँ छोड्ने कहिले सम्म ?’ तुरुन्तै समाधानको उपाय निस्किएन, उनको प्रश्नले जवाफ पाउन केही समय लाग्यो। झण्डै ५ वर्ष साउदीको गर्मीमा पाकेर गाउँ फर्किए पछि उनले एउटा उपाय निकाले–ट्राउट माछा पाल्ने। त्यही उपाय पछ्याउँदै गर्दा फेरि विदेश जाने बाटो सँधैका लागि बन्द गरे र अरव लाहुरेको आफ्नो पहिचान बदले, ट्राउट माछा व्यवसायीको रुपमा।

                उनले गाउँमै व्यवसायीक रुपमा ट्राउट माछा पालेर वार्षिक केहीलाख आम्दानी गर्न थालिसकेका छन्। ३ वर्षदेखि माछा पालन थालेका गुरुङले आफ्नै पोखरीबाट माछा बिक्री गरेर दुई चरणको आम्दानी हात पारीसकेका छन् । पहिलो वर्ष झण्डै १६ हजार भुरा हालेकोमा प्राविधिक तालमेल र ज्ञानको कमीले गर्दा झण्डै ५० प्रतिशत भुरा मरे र वाँकी ८ सय भुरा हुर्किए । १ सय ५० ग्रामदेखि ४ सय ग्रामसम्म तौल हुने ट्राउटको प्रति भुराको तौल औसतमा २ सय ५० ग्राम पर्न आउने उनको भनाई छ। पहिलो चरणमा करिब २ हजार किलोबाट करिब २४ लाख वरावरको कारोबार गर्न सफल भएको गुरुङले बताए। प्रति किलो १ हजार २ सय रुपैयाँका दरले बिक्री गर्दा पहिलो चरणमा उनले २४ लाख रुपैयाँ वरावरको कारोवार भएका गरेका हुन्।

बेसीशहर–मनाङ सडकखण्डको अर्खलेबेसीमा उनले ‘लमजुङ रेन्बो ट्राउट मत्स्य फर्म’ सञ्चालन गरेका छन्। माछाका लागि ७ वटा ‘रेस वे’( माछा खेल्ने स–साना पोखरी), चिसो र सफा पानी व्यवस्थापनका लागि २ वटा पानी संकलन पोखरी, पाईपलाईन, विक्री केन्द्र लगायतका संरचना निर्माण र माछाको भुरा खरिदसम्म गर्दा झण्डै ३५ लाख रुपैयाँ लगानी भएको उनको भनाई छ ।

उत्तरीभेगको मर्स्याङदी गाउँपालिका ३ अर्खलेगाउँका जितबहादुरले चिसो हावापानीमा ट्राउट माछा राम्रो सँग हुर्किने भएकाले व्यवसायीक रुपमा माछापालन गर्न सकिन्छ भन्ने सुनेका थिए कतै। गुरुङका अनुसार, ‘जहाँ ईच्छा, त्यहाँ उपाय’ भनेझैं, एकदिन अन्नपूर्ण पदयात्रामा घुम्न आएका एक जापनी पर्यटक सँग उनको भेटभयो, कुराकानीकै शिलशिलामा ति पर्यटकले उनलाई ट्राउट माछाका बारेमा धेरथोर जानकारी दिए। ‘मेरो उत्साहलाई देखेर होला,’ गुरुङले भने, ति पर्यटकले पानीको गुणस्तर, हावापानी र यो ठाउँको बारेमा अध्ययन गरेर पनि सहयोग गरे ।’ त्यसपछि कास्कीको भुर्जुङखोलामा गरिएको ट्राउटफर्ममा पुगेर अवलोकन गर्नुको साथै व्यवहारिक ज्ञान लिएर व्यवसाय सञ्चालन गरेको उनको भनाई छ । 

दोस्रो चरणमा २० हजार भुरा हालेर त्यसबाट पनि राम्रै आम्दानी भएको उनकी श्रमति चन्द्रकुमारी गुरुङले बताईन् । २० हजार मध्ये करिब १६ हजार मात्रै हुर्किएकोमा करिब ४ हजार किलोको व्यवसायीक कारोवार गर्न सकिएको र चल्तीको हिसावमा ४८ लाख रुपैयाँ वरावरको कारोवार भएको गुरुङ दम्पतीको अनुमान छ।

प्रकाशित: १३ वैशाख २०७४ ०९:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App