८ वैशाख २०८१ शनिबार
समाज

करोडौंको जग्गा सित्तैमा पास गराउने मन्त्रीका पिए देखि पत्रकारका थप कर्तुत खुल्दै

झापा- विर्तामोडका एक जना जग्गाधनीलाई अपहरण गरेर करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा जिल्लाका नेता, पत्रकारदेखि सरकारी कर्मचारीहरुसम्मको संलग्नता खुल्दा उनीहरुको अरु अपराध पनि धमाधम सार्वजनिक हुँदैछन्।

घटनामा संलग्न जिल्ला प्रशासनका खरिदार तेजिन्द्र न्यौपाने, पत्रकार पुजन घिमिरेका यसअघिका धेरै कर्तुतहरुको पनि रहस्योद्घाटन हुँदै गएको छ। झापा अर्जुनधारा–९ का जीवन विष्टलाई अपहरण गरेर उनको नाममा रहेको १५ करोड मुल्यको जग्गा हत्याउन कागजात मिलाउनेदेखि अन्य सम्पूर्ण चाँजो मिलाउने काम खरिदार न्यौपानेले नै गरेको ठहरमा प्रहरी पुगेको छ। यही घटनाको अनुसन्धानका क्रममा उनले नक्कली लाइसेन्स बनाउने काम गरिरहेको पनि भेटिएको झापा प्रहरी प्रमुख एसपी शैलेस थापाले बताए।

त्यस्तै उनको घरबाट धेरै जनाको नेपाली नागरिकताको प्रमाणपत्र पनि फेला परेका कारण प्रहरी आशंका अब नागरिकतातिर पनि सोझिएको छ।  जिल्ला प्रहरीले दिएको जानकारी अनुसार न्यौपानेको घरबाट विभिन्न व्यक्तिका नाममा जिल्ला प्रशासन कार्यालयबाट जारी भएका नागरिकता फेला परेका छन्। ‘ उनको घरबाट  फिलिपिन्सका एक जना नागरिकको राहदानी पनि भेटियो। सबैभन्दा आश्चर्यमा त प्रहरी त्यसबेला पर्यो, जब उनको घरबाट नेपाली सेनामा कार्यरत रहेको भन्ने नक्कली प्रमाणपत्र पनि फेला पर्यो। सवारी चालक अनुमतिपत्रको खाली कार्ड मात्रै ४९ वटा भेटिएको छ ।  जिल्ला प्रशासनमा दुई वर्ष अघि सरुवा हुनुभन्दा अघि उनी केही वर्ष यातायात व्यवस्था कार्यालय मेचीमा कार्यरत थिए।

अपहरणपछि जग्गा हत्याएको घटनामा सञ्चारमन्त्री राम कार्कीका स्वकीय सचिव तथा झापाका माओवादी नेता राजु आचार्य अग्नी, पत्रकारहरु पुजन घिमिरे र शम्भु दाहाललाई फरार सूचीमा राखेर प्रहरीले  खोजिरहेको छ भने  काँग्रेस कार्यकर्ता भूपू कान्छा भनिने अजय राई, राजु कुँवर, खरिदार न्यौपाने र व्यापारी प्रेम न्यौपाने पक्राउ परिसकेका छन्। सगरमाथा टिभीका जिल्ला संवाददाता घिमिरे केही वर्ष अघि प्रहरीलाई ब्ल्याकमेलिङ गरेर थुनामा बसिसकेका पत्रकार हुन्।

 

प्रकाशित: १३ वैशाख २०७४ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App