coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यस्त सडकमा पाइप विछ्याउने कार्य अन्तिम चरणमा

काठमाडौं– काठमाडौं उपत्यकाको मुल सडकमा पाइप बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।
मेलम्चीको पानी उपत्यकामा ल्याउन पाइप बिच्छ्याउने काम गरिरहेको आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार अब पाँच किलोमिटर क्षेत्रमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ ।

अतिव्यस्त १८ किलोमिटर सडकममध्ये १३ किलोमिटरमा पाइप बिच्छ्याइएको र ७ किलोमिटरमा कालोपत्रे पनि भएको छ । बाँकी ५ किलोमिटरमा पनि धमाधम पाइप बिच्छ्याउने र बिच्छ्याइएका ठाउँमा तीव्र  गतिले कालोपत्रे हुँदैछ ।

नारायण गोपाल चोक आसपासमा२ सय मिटर, नारायणगोपाल–पानीपोखरी २ सय ५० मिटर, सुन्धरा– त्रिपुरेश्वर ६ सय ८० मिटर, भद्रकाली–माइतीघर ६ सय ८० मिटर, गौशाला–रातोपुल २ सय  मिटर, चाबहिलचोकको क्रसिङ २ सय मिटर,थापाथली– एकान्तकुना, बानेश्वर–नयाँबानेश्वर लगायतका ठाउँमा ११ सय मिटर र अन्य केही ठाउँमा काम बाँकीरहेको निर्देशनालयले जनायो ।

‘करिब १८ किलोमिटर अति व्यस्त सडकमा पाइप बिच्छ्याउने काम गरिरहेका छौं,’ निर्देशनालयका निर्देशक तिरेशप्रसाद खत्रीले भने, ‘१३ किलोमिटरमा पाइप बिच्छ्याउने काम गरिसकेका छौं । बाँकी पाँच किलोमिटरमा पनि धमाधम पाइप बिच्छ्याउने कार्य चलिरहेको छ ।’ उनका अनुसार पाइप बिच्छ्याएको ठाउँमा कालोपत्रेसमेत भएको छ । ७ किलोमिटरमा कालोपत्रे भएको र बाँकी ६ किलोमिटरमा अर्को सातासम्ममा कालोपत्रे गरिसक्ने उनले दाबी गरे । कालोपत्रेका लागि सडकमासब बेस, सब ग्रेड तयार गरिरहेको जनाए ।

बहुप्रतीक्षित मेलम्चीलाई सरकारले आगामी असोजभित्रै काठमाडौं उपत्यकामा ल्याउने तयारी गरिरहेको छ । दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ । सरसफाइ तथा खानेपानी मन्त्रालयले असार मसान्तभित्रै पाइपलाइन बिच्छ्याइएका सडकको पुनर्निर्माण गर्न सडक विभाग, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपलिका र अन्य ठेकेदार कम्पनीलाई जिम्मा दिएको छ ।

खानेपानी वितरण प्रणाली सञ्जालअन्तर्गत ६ सय ७० किलोमिटरमध्ये पाँच सय ७०  किलोमिटर सडकमा पाइपलाइन बिच्छ्याइएको छ । थोकलाइन ६० किलोमिटरमध्ये ४७ किलोमिटर पाइप बिच्छ्याइएको छ ।  आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले पाइपलाइन बिच्छ्याएअनुसार कालोपत्रे गर्न नसकिएको स्वीकार गरे । ‘पाइप ओच्छ्याउने बित्तिकै कालोपत्रे गर्न मिल्दैन, त्यसैले केही समय  लागिहाल्छ नि !’ उनले भने, ‘तत्कालै पिच गर्दा सडक नै दब्ने समस्या हुन्छ । त्यसैले सडकलाई कम्प्याक्सन गरेर मात्रै पिच गर्नुपर्ने हुन्छ । यसैले गर्दा केही ढिला हुन गएको हो ।’

 

 

 

प्रकाशित: १४ वैशाख २०७४ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App