८ वैशाख २०८१ शनिबार
कला

‘कहिलेसम्म भात खान मात्र फिल्म बनाउने ?’

अनिल यादव

काठमाडाैं– ‘फिल्म कसका लागि बनाउने ? फिल्म बनाउनुको ठोस उद्देश्य के हो ?’

आइतबार राजधानीमा फिल्म ‘नुमाफुङ’ हेरिसकेपछि यसका निर्देशक नविन सुब्बालाई दर्शक दीर्घाबाट एउटा सामान्य प्रश्न गरियो । ‘मैलेचाहिँ आफ्नै लागि बनाउने हो,’ व्यंग्यात्मक शैलीमा नविनले भने, ‘किनभने धेरै साथीले आफ्नै लागि बनाएर खा’का छन् । निश्चल बस्नेतले मजस्ता दर्शकका लागि फिल्म बनेन भनेर ‘लुट’ बनाएको हो । अहिले अरुका लागि बनाउँछु भन्छ भने त्यो अर्कै कुरा हो ।’

‘नुमाफुङ’जस्तो फिल्म बनाउनु स्वाभाविक रुपमा गाह्रो हुन्छ । किनभने बजारले पत्याउँदैन । तर, मेरो लागि चाहिँ फिल्म बनाउनु भनेको सर्वप्रथम अभिव्यक्तिको माध्यम नै हो । अभिव्यक्ति राम्रो भयो भने बजारले पनि ‘फलो’ गर्छ भन्ने लाग्छ ।

नविनको यो भनाइ बजारबाट निर्देशित भइरहेको नेपाली फिल्म र फिल्मकर्मीप्रति व्यंग्य हो । फिल्म समीक्षक समाजले प्रत्येक साताको आइतबार आयोजना गर्न थालेको ‘सन्डे सिनेमा’मा यस पल्ट ‘नुमाफुङ’ देखाइएको थियो । फिल्मको सोपछि आयोजित बहसमा निर्देशक सुब्बाले निर्देशकका लागि फिल्म एउटा इमानदार प्रयत्न हुनुपर्ने तर्क राखे । ‘मैले बनाएको फिल्मप्रति मै सन्तुष्ट भइनँ भने त्यसले अरुलाई कसरी सन्तुष्टि दिन सक्छ ?’ उनको तर्क थियो ।

‘नुमाफुङ’ झन्डै १५ वर्षअघि बनेको नेपाली फिल्म हो । बलिउडको मसला शैलीका फिल्मको अनुसरणमा रमाइरहेको नेपाली फिल्म उद्योगमा यो फिल्मले तरंग ल्याएको थियो ।  ‘मैले बजारका लागि या अस्कर अवार्डका लागि भनेर यो फिल्म बनाएको भए आज यसको चर्चा हुने थिएन, ’ फिल्मबारे नविनले भने, ‘मैले आफ्ना लागि इमानदार भएर बनाएकाले सबैले रुचाएका हुन् जस्तो लाग्छ । ’

यो फिल्ममार्फत उनले पूर्वी पहाडका लिम्वूहरुको जीवनको कथा, व्यथा र संस्कारलाई देखाएका छन् । लिम्वू समुदायको सुनौली–रुपौली प्रथामाथि प्रहार गर्न खोजेका छन् । ‘धेरै सासुले बुहारीलाई यो फिल्म हेर्न नदिने रैछन्,’ उनले फिल्मसँग जोडिएको रमाइलो किस्सा सुनाए, ‘चार–चारपल्ट पोइल जाने फिल्म पनि हेर्नुहुन्छ ? भन्छन् रे ।’

फिल्मको सो चलिरहँदा नविन हलमा थिएनन् । पछि बहसमा मात्र उपस्थित भए । यसको कारणबारे मोडरेटर सामीप्यराज तिमल्सेनाले सुरुमै उत्सुकता जनाए । ‘मैले यो फिल्म बनाएको करिब १५ वर्ष भइसक्यो,’ नविनले कारण खुलाए, ‘त्यो बेलादेखि अहिलेसम्म सयौंपटक हेरिसकियो । त्यतिबेला र अहिलेको फिल्मप्रतिको बुझाइमा ठूलो अन्तर आइसक्यो । अहिले फिल्म हेर्दा गल्ती पनि भेट्छु । यहाँनेर यो समस्या भएछ, यसो गर्न पाएको भए हुन्थ्यो भन्ने लाग्छ । ’

‘नुमाफुङ’ अन्तर्राष्ट्रिय रुपमा प्रर्दशन र चर्चा पाएको पहिलो नेपाली फिल्म हो । उनले यसअघि ‘तरेवा’ र ‘खांग्री’ नामक दुई सर्ट फिल्महरु निर्देशन गरेका थिए । नेपाली फिल्ममा अझै पनि राम्रोसँग नेपाली समाज प्रतिबिम्बित हुन नसकेको अनुभूत गर्दै उनले यो फिल्मको निर्माण गरेका थिए । ‘फिल्ममा नेपाली समाज ‘रिफ्लेक्ट’ हुनुपर्छ भन्ने कुराको कसैले सम्बोधन नगरेको बेला यो फिल्म बनाएको थिएँ,’ उनले भने ।  

तपाईंका लागि फिल्म बनाउनु भनेको ‘कथा भन्ने माध्यम’ हो कि रणनीति ? ‘फिल्म बनाउँदाखेरि दुईटै चिज हुन्छ,’ एक सहभागीको प्रश्नमा उनले भने, ‘‘नुमाफुङ’जस्तो फिल्म बनाउनु स्वाभाविक रुपमा गाह्रो हुन्छ । किनभने बजारले पत्याउँदैन । त्यसैले रणनिति त बनाउनु पर्ने हुन्छ । तर, मेरो लागि चाहिँ फिल्म बनाउनु भनेको सर्वप्रथम अभिव्यक्तिको माध्यम नै हो । अभिव्यक्ति राम्रो भयो भने बजारले पनि फलो गर्छ भन्ने लाग्छ ।’

हालको नेपाली फिल्मको अवस्थाप्रति पनि नविनले खरो टिप्पणी गरे । ‘अहिले धेरै महिला फिल्ममेकर्स यहाँ आइरहनु भएको छ ,’सुब्बाले भने, ‘तर उहाँहरु महिला भएर महिलालाई नै उडाइरहनु भएको छ , होच्याइ रहनुभएको छ । यो ठीक होइन । हलिउडले ६० वर्षअघि गरेको कुरा हामी बल्ल यहाँ गरिरहेका छौं । हलिउडले ४०–५० को दशकमा फिल्ममा मेक्सिकन र कालालाई यसरी नै उडाउँथ्यो । त्यतिबेला फिल्मको भिलेन कि मेक्सिकन हुन्थ्यो कि आदिवासी । तर अहिले उनीहरुमा चेत आइसक्यो । पश्चाताप गर्न ‘रेभेनेन्ट’ जस्तो फिल्म बनाउन थालिसके । ’

फिल्म समीक्षकसमेत रहेका नविनले दोस्रो फिल्म ‘गुडबाई काठमाडौं’ निर्देशन गरिसकेका छन् । सोही फिल्म प्रर्दशनको तयारीमा रहेका उनी फिल्ममार्फत वृहत्तर मानवीयता सिर्जना हुनुपर्ने बताउँछन् । ‘ फिल्मकर्मीको एउटा दायित्व भनेको वृहत्तर मानवीयता सिर्जना गरेर पशुताबाट मुक्त गराउने हो । तर हाम्रो इन्डष्ट्रीले यसबारे खासै सोचेको देखिँदैन । बिस्तारै सोच्ला कि ?,’ उनी आशावादी देखिए ।

सुब्बाले मौलिकताको बहस गरिरहँदा आफैं पनि ‘नुमाफुङ’को पटकथा लेखनमा हलिउडको प्रभावबाट मुक्त हुन नसकेकोमा आत्मालोचना गरे । उनले भने, ‘ मैले फिल्मको पटकथा लेख्दा सिड फिल्डको थ्रि एक्ट स्ट्रक्चरको सूत्र अनुसरण गरेर लेखेको थिएँ । लेखनमा पनि लिम्वू संस्कृतिको मर्म आत्मसात गर्न सकिन्थ्यो । त्यो सम्झेर अहिले पछुतो लागिरहेको छ ।’

उनले ‘माइलस्टोन’ मानिएका केही फिल्मले परिवेश र कथा नयाँ समाते पनि कथालाई पूर्ण रुपमा न्याय नगरेको बताए । ‘जस्तो फिल्म ‘कबड्डी’कै कुरा गरौं न । मुस्ताङको थाकखोलामा कबड्डी भन्ने खेल खेलिन्न । अथवा खेलियो भने पनि त्यो सास रोकेर खेलिने खेल हो । खै त छायांकनमा त्यसको मर्म आएको ?,’ उनले थपे, ‘ तर, हलिउड फिल्म ‘ग्राभिटी’ वा ‘बर्डमेन’ हेर्नुभएको छ भने परिवेश जे छ छायांकन पनि त्यस्तै छ । फिल्मकर्मीलाई मैले यस्तो कुरा गर्यो कि त कुण्ठा पोखेको भनिदिन्छन् वा भात खानका लागि बनाएको ओठेजवाफ दिन्छन् । के उनीहरुले चैं भात खाँदैनन् ? कहिलेसम्म भात खान मात्रै फिल्म बनाउने ?’
निर्देशक सुब्बाले पछिल्लो समय जातीय पहिचानका कुरा राजनीति हुँदै साहित्य र फिल्ममा आए पनि तिनको इमानदार प्रस्तुतिले मात्र यसको प्रभाव दिगो हुने बताए । ‘हामीकहाँ कथा–कथा भनेर कोकोहोलो गरिन्छ । फिल्ममा कथा मात्र केही होइन, यसको इमानदार  प्रस्तुतिले बल्ल फरक पार्छ,’ सुब्बाले भने ।

प्रकाशित: १४ वैशाख २०७४ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App