८ वैशाख २०८१ शनिबार
अर्थ

काठमाडौंको आकासमा एयर ट्राफिक समस्या

पोखफाइल तस्बिरः पाेखरा विमानस्थलमा अवतरण गरेको बुद्ध एयरको एटिआर–७२ जहाज ।

पोखरा– काठमाडौंको आकासमा एयर ट्राफिक जामले ‘सेड्युअल फ्लाइट’ व्यवस्थापन गर्न हम्मे भएपछि बुद्ध एयरले काठमाडौं–पोखरा रुटमा ७२ सिट क्षमताको एटिआर–७२ जहाजमार्फत उडान थालेको छ । बुद्धको यो सबैभन्दा ठूलो जहाज हो ।

एयर ट्राफिक जामले गर्दा निर्धारित समयमा साना आकारका जहाजबाट नियमित उडान गर्न नभ्याएपछि बुद्धले क्षमताभन्दा कम यात्रु बोकेरै भए पनि एटिआर–७२ लाई पहिलोपटक पोखरासम्म व्यावसायिक उडानमा प्रयोग गरेको हो ।

बुद्धका पोखरास्थित स्टेसन म्यानेजर गौतम बरालका अनुसार केही दिनदेखि पोखरामा एटिआर–७२ मार्फत उडान भइरहेको छ । ‘एटिआर–७२ को दैनिक एउटा सेड्युअल फ्लाइट छ,’ उनले भने, ‘दुई सातादेखि यो रुटमा ठूलो जहाज उडाइरहेका छौं ।’ उनका अनुसार बुद्धसँग ७२ सिट क्षमताका चारवटा एटिआर–७२ र ४७ सिट क्षमताका तीनवटा एटिआर–४२ र १८ सिट क्षमताका दुईवटा बिचक्राफ्ट १९००डी जहाज छन् । तीमध्ये अहिलेसम्म बिचक्राफ्ट र एटिआर–४२ ले मात्र पोखरासम्म उडान भर्दै आइरहेका थिए ।

बरालका अनुसार एटिआर–४२ र बिचक्राफ्टको भरमा उडान गर्दा समय अपुग भएपछि बाध्य भएर एटिआर–७२ प्रयोग गरिएको हो । ‘काठमाडौंको ट्राफिक जामले दिनमा तीन–चार घन्टासम्म जहाज विभिन्न विमानस्थलमा रोकिए । त्यसले गर्दा पोखराको उडान तालिका बिग्रियो,’ उनले भने, ‘उडान तालिका नबिग्रियोस भनेर ठूलो जहाजमार्फत पोखरासम्म उडान भरेका छौं ।’ बरालका अनुसार अहिले काठमाडौंको आकासको ट्राफिक जामले सबैजसो गन्तव्यका उडान घन्टौं ढिला हुने गरेका छन् ।
एटिआर–४२ र बिचक्राफ्टबाट मात्र उडान गर्दा यात्रुले पोखरा विमानस्थलमा झनै लामो समय कुर्नुपरेको उनले बताए । ‘नियमित उडान गर्ने जहाज विभिन्न गन्तव्यमा रोकिए । विकल्पमा ठूलो जहाजमार्फत सेवा दिएका छौं,’ उनले भने, ‘पोखरा उड्नुपर्ने तालिकामा रहेका जहाज एयर ट्राफिक जामका कारण कहिले विराटनगर, नेपालगन्ज, भैरहवामा रोकिइरहेका हुन्छन् । ती जहाज काठमाडौं पुगेर पोखरा आउन भ्याएनन् । त्यही भएर सट्टामा बढी क्षमताको जहाज उडाएका छौं ।’

उनका अनुसार अहिले ७२ सिट क्षमताको एटिआर–७२ ले ५५ जनामात्र यात्रु बोकिरहेको छ । धावनमार्ग छोटो हुँदा क्षमताअनुसार यात्रु बोक्न नसकेको उनले बताए । एटिआर–७२ का लागि विमानस्थलको धावनमार्ग छोटो हुने भएकोले पूरै क्षमतामा यात्रु बोकेर आउन नसक्ने भन्दै बुद्धले यसलाई पोखरा रुटमा उडाएको थिएन । एटिआर–७२ जहाजलाई सहज उडान र अवतरणका लागि कम्तीमा दुई हजार मिटर लम्बाइको धावनमार्ग आवश्यक पर्छ । तर पोखरा विमानस्थलको हालको धावनमार्ग एक हजार चार सय ४४ मिटरमात्र छ । यसको चौडाइ ३० मिटर छ ।

‘पूरै क्षमतामा यात्रु बोक्न यहाँको धावनमार्ग अपुग हुन्छ । त्यही भएर सिट खाली राखेर उड्नुपरेको छ,’ बरालले भने, ‘५५ जना यात्रु बोकेर जहाज पोखरा आउने र फर्किने गरेको छ ।’ ठूलो जहाज उडाउँदा अन्यमा भन्दा बढी यात्रु उडाउन सके पनि पूरै क्षमताअनुसार यात्रु बोक्न नपाउँदा कम्पनीलाई घाटा हुने उनले बताए । ‘घाटा भए पनि यात्रुको सेवाका लागि हामीले सिट खाली राखेर जहाज उडाइरहेका छौं,’ उनले भने, ‘साना जहाजको भरमा मात्र पर्दा समय मिलाउनै सकिएन । त्यसले यात्रुलाई तनाव भयो ।’
पोखरामा यसअघि सन् २००२ मा सबैभन्दा ठूलो कस्मिक एयरको सय सिट क्षमताको फोकर जहाजले परीक्षण उडान गरेको थियो । परीक्षण उडान गरे पनि ‘फुललोड’मा उडान भर्न नसक्ने भन्दै व्यावसायिक उडान गरेको थिएन । कस्मिकपछि पोखरामा ठूलो जहाजको रुपमा बुद्धको एटिआर–७२ को उडान नै पहिलो हो । पोखरा विमानस्थल प्रमुख भोलाप्रसाद गुरागाईंले पनि एयर ट्राफिक जामले यात्रुलाई घन्टौं विमानस्थलमा कुराएको बताउँछन् । ‘कुनै पनि उडान केही घन्टा ढिला नभएको छैन । त्यही भएर केही बढी यात्रु बोक्न र उडान तालिका प्रभावित नहोस भनेर बुद्धले ठूलो जहाज पोखरा उडाएको हो,’ उनले भने, ‘तर पूर्ण क्षमतामा यात्रु बोक्न सकेको छैन ।’

उडान बढेको बढ्यै
बुद्धले अहिले पोखरा–काठमाडौं रुटमा दैनिक ६ देखि आठवटा उडान गरिरहेको छ । यती एयरलाइन्सले पनि यही रुटमा दैनिक नौवटासम्म उडान गरिरहेको छ । ती बाहेक नेपाल एयरलाइन्स र सिम्रिकले यो रुटमा उडान गरिरहेका छन् । विमानस्थल प्रमुख गुरागाईं अहिले यात्रुको चाप बढेपछि पोखरा विमानस्थलको ब्यस्तता बढेको बताउँछन् ।

‘पोखरा–काठमाडौं रुटमा मात्र यतिबेला दैनिक करिब दुई दर्जन उडान भइरहेका छन् । त्यसबाहेक पोखरा–जोमसोम र हेलिकोप्टरको उडानले पनि पोखराको विमानस्थललाई व्यस्त बनाएको छ,’ उनले भने, ‘सडकमार्ग झन्झटिलो हुँदा अधिक यात्रुले हवाई मार्ग रोज्न थालेका छन् ।’ एयरलाइन्सका अनुसार यतिबेला उडानका आधाभन्दा बढी यात्रु आन्तरिक छन् । पर्यटकीय सिजन भए पनि विदेशीको चाप नबढेको यो बेला आन्तरिक यात्रुका कारण उडान थपिएको एयरलाइन्स कम्पनीको भनाइ छ । यतिबेलाका अधिक उडानमा करिब ४० प्रतिशत आन्तरिक र ६० प्रतिशत विदेशी यात्रु रहेको एयरलाइन्स कम्पनीको भनाइ छ ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App