coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रेष्टुराँ बैठकदेखि दूतावासको भोजसम्म

काठमाडौंं— संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध ७ मध्ये ६ पार्टी एकीकरण हुदै यही वैशाख ७ गते राष्ट्रिय जनता पार्टी बन्यो। स–साना समूह लिएर पटक–पटक फुट्दै आएका मधेशी दल सहजै एकीकरणको चरणमा पुगेका हैनन्। एकीकरणका लागि यी पार्टीभित्र र बाहिरका विविध कारकले भूमिका निर्वाह गरेका छन्। सहजै सम्भव नदेखिएको एकीकरणआखिर कसरी सम्भव भयो त ?  

वैशाख ६ गते साँझ। ‘स्लेभलेस’ रेष्टुरेन्ट, जावालाखेल। मधेस केन्द्रित पाँच दलका नेताहरु रेष्टुरेन्टको माथिल्लो तलामा प्रवेश गरे। ८ बजेभित्र जावलाखेल पुगिसक्ने तय गरेका उनीहरु पूर्व निर्धारित समयमा करिब एक घण्टा ढिलो सिँढी उक्लदै थिए। उनीहरुसँगै पुगेका केही कार्यकर्ता भने तल्लो तलामै पर्खेर बसे। 

संविधान जारी भएदेखि नै असन्तुष्ट भई आन्दोलन गर्दै आएका पाँच दलका नेताहरु अर्को आन्दोलन घोषणाका लागि भेला भएका थिएनन्। न त घोषित स्थानीय निकायको चुनाव बिथोल्ने रणनीति बुन्न नै । रेष्टुरेन्टको मधुरो प्रकाशमा उनीहरु आन्दोलन, चुनाव, सीमांकनलगायतका स्थायी मुद्दाको साटो अर्को विषय लिएर छलफलमा थिए। जसको निर्णयले लामो समयदेखि मधेस मुद्दामै अल्झिरहेको नेपाली राजनीतिमा एउटा फरक तरंग पैदा गर्दै थियो। 

तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महत्तो, राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) अध्यक्ष शरदसिंह भण्डारी, तराई मधेस सदभावना पार्टी (तमसपा)का अध्यक्ष महेन्द्रराय यादव र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव त्यसदिन पार्टी एकीकरणका लागि बैठक बसिरहेका थिए । जुन, उनीहरु बिचको निर्णयका बैठक मात्र सावित भएन, त्यसले लामो समयदेखि जारी पार्टी फुट्ने प्रवृत्तिलाई चुनौती समेत दियो। 

पार्टी एकीकरणका लागि तराई–मधेस केन्द्रित दलका पाँचै जना अध्यक्ष एकै ठाउँमा उपस्थित भएको यो पहिलो घटना थियो । ‘हामी पाँच अध्यक्षहरु भेट भएको त्यसैदिन एकीकरणको निर्णय लियौं,’ राजकिशोर भन्छन्, ‘त्यो निर्णय लिदाँ हामी भावुक, स्तब्ध र उत्साही सँगसँगै भएका थियौं ।’

भारतीय राजूत पुरीले मोर्चाका नेताहरुलाई एकीकरणका लागि शुभकामना दिएको सहभागी नेताहरु बताउँछन्। दूतावासको भोजपछि शरदसिंह पोखरा भएपछि अरु नेताहरु राजधानीमा सक्रिय भई एकीकरण प्रयासलाई अघि बढाएका थिए। 

सोही बैठकले पाँच पार्टी एक भई नयाँ राष्ट्रिय जनता पार्टी बनाउने र छातालाई चुनाव चिह्नमान्ने औपचारिक निर्णय गरेको थियो । अध्यक्ष मण्डल अनुसार बैठकले नयाँ पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा ‘लोकतान्त्रिक समाजवाद’लाई मानी ‘प्रतिनिधिमुलुक समावेशी लोकतन्त्र’को विचारधारा तयसमेत गरेको थियो। 

मध्यरातमा बैठक सकिदा सबै अध्यक्ष भावुक बनेका थिए । ‘यो एकीकरण मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धी हो,’ तमलोपा अध्यक्ष ठाकुरले भनेका थिए, ‘भोलि नै पार्टी एकीकरण घोषणासभाको तयारी गर्नुहोस् ।’ 

बैठकमा बोलाइएका नेपाल सदभावना पार्टीअध्यक्ष अनिलकुमार झा भने उपस्थित थिएनन् । एकीकरण प्रतिबद्धता जनाउँदै आएपनि बैठकमा नआएपछि रामसपा महासचिव केशव झाले उनलाई फोन गरेर सोधेका थिए । जवाफमा झाले आफू नर्वेली दूतावासको रात्रीभोजमा सरिक भइरहेकाले आउन नसक्ने तर पार्टी एकीकरणका लागि प्रतिबद्ध रहेको जानकारी गराए । त्यसपछि पाँचजना अध्यक्षको बैठक जारी रह्यो । 

माथिल्लो तलामा बैठक बसिरहदा तल्लो तलामा कुर्नेहरुमा थिए–निर्जला राउत, केशव झा, पंकज दास र महत्तोको ज्वाइँ अनिल महासेठ। मधेसी पत्रकार संघका अध्यक्ष समेत रहेका दासले नै बैठकपछि ठाकुरलाई घरसम्म पुर्‍याइदिएका थिए। उनलाई मधेसी दल एकीकरणको एक महत्वपूर्ण भूमिका निर्वाह गरेको नेताहरु बताउँछन्। रेष्टुरेन्टमा बैठक बस्ने व्यवस्था भने रामसपा सांसद निर्जला राउतले गरिदिएकी थिइन्।

यसरी भएको थियो एकीकरण 
वैशाख ४ गते 
अपरान्ह मधेशी जनअधिकार फोरम गणतान्त्रिका महासचिव सिपी सिहंको कार्यालय बिजुलीबजारमा सदभावना, राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा), तराई मधेस सदभावना पार्टी (तमसपा) र गणतान्त्रिक पार्टीबीच एकीकरण गर्ने भन्दै चारसदस्यीय कार्यदलको बैठक बस्यो। त्यसबेलासम्म यी चार पार्टीबीच मात्र एकिकरणको कुरा अघि बढेको थियो । 

‘त्यसबेलासम्म चार पार्टीबीचएकीकरण गर्ने भन्ने मात्रै थियो,’ कार्यदलका सदस्य मनिष सुमन भन्छन्, ‘त्यहा केही विषयमा निर्णय भएको थियो । बैठकको सैद्धान्तिक सहमति अनुसार नै पछि ६ पार्टी एकीकरण हुन पुगेको हो ।’

झासहित तमलोपा कार्यालयमा सुरुमा हृदयेश र जितेन्द्र सोनालकाबीच कुराकानी भयो । त्यससमा राजकिशोर पनि थपिए । पार्टी नेतृत्व प्रणाली, आलोपालो नेतृत्व, संसदको हैसियत अनुसार बैठक अध्यक्षता गर्नेलगायतका बिषयमा झाले अघिल्लो दिन चार पार्टीबीच भएको निर्णय झाले त्यहाँ सुनाए । तमलोपा अध्यक्ष ठाकुरले पनि सहमत भएपछि एकीकरण प्रकृयाले थप गति लियो । 

बैठकमा राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक सदभावना पार्टीमध्ये एक नाम राख्ने, चुनाव चिह्नतीर राख्ने र विकल्पमा साइकल  चुनाव चिह्न बनाउने निर्णय भएको थियो । ‘अध्यक्ष मण्डल’को संरचनामा जाने र सामूहिक निर्णयलाई पनि कार्यादलले टुङ्याएको थियो । कार्यदलले चार पार्टीका बीच तीन–तीन महिना आलोपालो नेतृत्व गर्ने विषयलाई पनि निक्र्यौल गरेको थियो।

त्यसैदिन साँझ रामसपा सांसद निर्जला राउतको घरमा चार पार्टीबीच एकीकरणका लागि राती एक बजेसम्म सबै पार्टीका अध्यक्षबीच सामूहिक बैठक भयो । बैठकमा कार्यादलका सिंहबाहेक सबै सदस्य उपस्थित थिए । तर,  बैठकमा कार्यादलले टुंगाएको बिषयमा छलफल भने सुरु नै हुन सकेन । राजेन्द्र महतले बैठकमा तमलोपालाई एकीकरण प्रक्रियामा सामेल गराउनु पर्ने प्रस्ताव राखेपछि अरु विषयमा बैठक प्रवेश नगरेको हो।

तीन पार्टीबीचको प्रयासमा महतो थपिएर चार पार्टी बनेका बेला तमलोपाको समेत कुरो आएपछि शरदसिंह भण्डारी र महेन्द्रराय यादव सशंकित भएका थिए । उनीहरुले एकीकरण प्रकृया लम्ब्याएको भन्दै राजकिशोर यादवसँग रिस समेत पोखेका थिए । सोही दिन बिहान ९ बजे राजेन्द्रले हृदयेश त्रिपाठीलाई भेटेर एकीकरणप्रस्ताव गरेका थिए । चार गने बिहान महत्तो र त्रिपाठीबीच शंखमूल भ्यू रेष्टुरेन्टमा भेट भएको थियो। 

भेटमा त्रिपाठीले आफूलाई जे जिम्मेवारी दिएपनि एकीकरणको बाधक नबन्ने बताएका थिए । तर, महन्थ ठाकुरलाई भने सम्मानजनक स्थान दिनुपर्ने अडान राखे । त्यसपछि महतोले बृषेशचन्द्र लालसँग कुराकानी गरे । उनी पनि सकारात्मक देखिए । यी सबै घटना विवरण सुनाएपछि असमती व्यक्त गरिरहेका नेता पनि तमलोपासँग एकीकरण गर्न सहमत भएर राउत निवासबाट निस्किए। 

वैशाख ५ गते
अघिल्लो दिनको सहमति अनुसार सदभावना पार्टी कार्यालयमा केशव झा र राजेन्द्र महत्तोबीच ८ बजेदेखी ११ बजेसम्म तमलोपालाई पनि पार्टी प्रवेश गराउने बिषयमा कुराकानी भयो । ‘तमलोपा पनि समावेश हुने भएपछि कसरी अघि बढ्ने बारेमा राजेन्द्रजी र मेरो बिचमा लामै कुराकानी भयो,’ झा भन्छन्, ‘राजेन्द्रजीले तमलोपा पनि सकारात्मक छ भन्ने कुराकानी गरेपछि एकताको चरण अर्कोतर्फ बढदै गयो ।’ बैठक सकेर झा तमलोपा कार्यालय गए भने महत्तो राजकुमार लेखीलाई पार्टी प्रवेश गराउनका लागि बानेश्वरको अर्याल होटलतर्फ गए। 

झासहित तमलोपा कार्यालयमा सुरुमा हृदयेश र जितेन्द्र सोनालकाबीच कुराकानी भयो । त्यससमा राजकिशोर पनि थपिए । पार्टी नेतृत्व प्रणाली, आलोपालो नेतृत्व, संसदको हैसियत अनुसार बैठक अध्यक्षता गर्नेलगायतका बिषयमा झाले अघिल्लो दिन चार पार्टीबीच भएको निर्णय झाले त्यहाँ सुनाए । तमलोपा अध्यक्ष ठाकुरले पनि सहमत भएपछि एकीकरण प्रकृयाले थप गति लियो । 

त्यसैबेला झम्सिखेलमा भने भण्डारी र महेन्द्ररायबीच कुराकानी भइरहेको थियो । झाले नै भण्डारी र महेन्द्ररायलाई एकीकरणमा तमलोपालाई ल्याउने कुराको जानकारी दिएका थिए । 

सोही रात सदभावना पार्टी कार्यालयमा महतो, लक्ष्मणलाल कर्ण, उपेन्द्र महत्तो, रामनरेश राय र पंकजदासबीच राति ११ बजेसम्म छलफल भयो । तमलोपालाई समावेश गराउने र अनिल झालाई पनि समावेश गराउने लगायतका बिषयमा बैठकमा छलफल भएको थियो ।

वैशाख ६ गते
झम्सीखेलस्थित राउत निवासमा महेन्द्रराय र शरदसिंहका विहान ९ बजे देखी चलेको छलफल दिउँसो २ बजेसम्म जारी रह्यो । तमलोपा कार्यालयमा राजकिशोर, हृदयेश, जितेन्द्र सोनाल र महन्थ ठाकुरबीच नेतृत्व मोडलबारे कुराकानी भइरहेको थियो । 

तमलोपासँग अन्य पार्टीको एउटा बिषय मिलेको थिएन । ‘महन्थजीलाई सर्वमान्य नेता मानेर हृदयेशजीलाई पनि अध्यक्ष मण्डलमा समावेश गराउने र हाल कायम रहेका अध्यक्षको मात्रै अध्यक्ष मण्डल बनाउने मोडेलमा कुराकानी भइरहेको थियो । पहिलो मोडेललाई अन्य दलका नेताले मानेनन्, अन्त्यमा सबै अध्यक्ष रहने गरी दोस्रो मोडेलमा सहमति भयो,’ सोनाल भन्छन् । 

खासमा ठाकुर पुरानो नेता भएको नाताले पनि हृदयेशले कार्यकारी पद पाउन भन्ने इच्छा राखेका थिए । हृदयेशलाई सम्मानजनक स्थान दिनुपर्ने महन्थको इच्छा प्रकट भएपनि अन्य नेताले त्यसलाई स्वीकार गरिदिएनन् । अन्ततः अध्यक्ष मण्डलकोे मोडेलमा तमलोपा सहमत भएको सन्देश लिएर राजकिशोर राजेन्द्रकोमा पुगे । 

तमलोपा अध्यक्ष मण्डलका लागि तयार भएको सन्देश लिएर राजेन्द्र  झम्सिखेल पुगे । जहाँ भण्डारी र महेन्द्रराय बिहानदेखी छलफलमा थिए । राय र भण्डारीबीच ६ बजेसम्म छलफल भयो । छलफलपछि साँझ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच कुराकानी गर्ने निर्णय गर्दै तीन अध्यक्षको बैठक टुंगियो ।

राजकिशोर यादव र तमलोपा अध्यक्ष ठाकुरबीच भने बिजुलीबजारस्थित कार्यालयमा एकीकरणका बारेमा छलफल भइरहेको थियो । बिजुलीबजारमा रहेका राजकिशोर र महन्थलाई साँझ ६ बजे ‘स्लेभलेस’ रेष्टुरेन्टमा बैठकका लागि बोलाइयो । 

वैशाख ७ गते बिहान
पार्टी एकीकरणको कार्यक्रम तालिका बनाउनका लागि सदभावना पार्टी कार्यालयमा दोस्रो तहका नेताहरुको बैठक बस्यो । बैठकमा केशव झा, मनिष सुमन, जितेन्द्र सोनाललगायत सहभागी थिए । ‘बानेश्वर बैंकट’मा एकीकरण घोषणा सभा गर्ने तयारी गरिएपनि स्थान अभावमा ‘अमृत भोग’मा सारियो । स्थान तय गर्ने काम रामसपाका महासचिवसमेत रहेका झाले गरेका थिए । 

पाँचजना अध्यक्षहरु उपस्थित हुने भएपनि अनिल झाको टुंगो लागेन । कार्यक्रममा व्यानरमा झा बाहेक आइतबार राती बैठक बसेका ५ जना पार्टीको नाम र अध्यक्षहरुको तस्विर राखेर कार्यक्रम सञ्चालन गरियो ।

अन्तिममा अनिल झा पनि एकीकरण सभामा उपस्थित भए । उनी उपस्थित हुदाँ अन्तिम वक्ताको रुपमा महन्थ ठाकुरले बोलिरहेका थिए । अमृत भोगमा झा आउने कुरा पक्का भएपछि मूलढोकासम्म हृदेयश त्रिपाठी र बृषेशचन्द्र लाल लिन पुगेका थिए । 

राजकिशोरको दिल्ली दौड
शरदसिंह, महेन्द्रराय र राजकिशोरबीच एकीकरणका लागि कुराकानी भइरहेको थियो। चैत २६ गतेदेखि राजकिशोर एकाएक हराए । शरदसिंह र महेन्द्ररायले टेलिफोनमा समेत उनीसँग सम्पर्क गर्न सकेनन् । एकीकरण प्रयास थाल्ने नेता नै हराएपछि दुवै पार्टीका अध्यक्ष आक्रोशित बनेका थिए । तर, चैत ३० गते एकाएक राजकिशोर सम्पर्कमा आए । उनी दिल्ली गएका रहेछन् । दिल्लीबाट राजकिशोर फर्किएपछि मोर्चामा आबद्ध ६ दल मिल्ने पहल फेरि अघि बढ्यो । 

लैनचौरको भोज 
मधेसी दलबिच एकिकरण प्रयास भइरहेका बेला नेपाल–भारत प्रबुद्ध समूहको बैठक काठमाडौंमा बस्यो। बैठकपछिको दिवाभोजमा मधेसवादी दलका नेता समेत डाकिएका थिए। दिवाभोजमा एकीकरण पहल बारे पत्तो पाएपछि भारतीय राजदूत मञ्जिप सिंह पुरीले भोलिपल्टै मोर्चाका नेतालाई मात्र डाकेर ‘इन्डियाना हाउस’मा भोज दिए। पुरीले मोर्चाका नेताहरुलाई एकीकरणका लागि शुभकामना दिएको सहभागी नेताहरु बताउँछन्। दूतावासको भोजपछि शरदसिंह पोखरा भएपछि अरु नेताहरु राजधानीमा सक्रिय भई एकीकरण प्रयासलाई अघि बढाएका थिए। 

मोर्चाभित्र र बाहिरबाट भएका विभिन्न प्रयासको फलस्वरुप मधेस केन्द्रित दलहरुको एकीकरण सम्भव भएको हो । एकीकरणपश्चात बनेको पार्टीले मधेसवादी दललाई पनि राष्ट्रिय खालको दलमा रुपान्तरण गरेको कतिपयको विश्लेषण छ। उनीहरुले पार्टीको नाममा ‘मधेस’लाई झिकेर ‘राष्ट्रिय’ शब्दावली प्रयोग गरेपछि त्यसले सकारात्मक सन्देश समेत दिएको छ । यसले विशेषगरी मधेसमा बसोबास गर्ने अन्य समुदायका मतदाताको मन जित्ने आँकल गरिएको छ । तराई क्षेत्रमा हाल ३९ प्रतिशत पहाडे, ३८ प्रतिशत मधेसी, १३ प्रतिशत थारु र १२ प्रतिशत मुस्लिमको बसोबास रहेको छ।

 

प्रकाशित: १४ वैशाख २०७४ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App