७ वैशाख २०८१ शुक्रबार
समाज

रहेनन् ‘बिजुली बा’

काठमाडौं-नेपालका नदीनालाबाट ८३ हजार मेगावाटसम्म बिजुली निकाल्न सकिन्छ। यो तथ्य सुन्दै र पढ्दै आएको आधा शताब्दी नाघेको छ। तर, यो तथ्य कसले पत्ता लगायो भन्ने धेरैलाई थाहा नहुन सक्छ। जसले यो तथ्य पत्ता लगाएका थिए, उनको बिहीबार ८४ वर्षको उमेरमा निधन भयो। उनी थिए, हरिमान श्रेष्ठ।

जलविद्युत् लगानीकर्ता तथा विज्ञले श्रेष्ठलाई नेपालको जलविद्युत् क्षेत्रमा ‘अमेरिका पत्ता लगाउने कोलम्बस र सगरमाथा शिखरमा पहिलो मानव पाइला पु¥याएका एडमन्ड हिलारी तथा तेन्जिङनोर्गे शेर्पा’ सरहको उपमा दिने गरेका छन् ।

५१ वर्षअघि रुसको मस्कोबाट पढेर फर्केपछि  श्रेष्ठले देशको कुल जलविद्युत् सम्भाव्यताका विषयमा गरेको अध्ययनले अहिले पनि उत्तिकै चर्चा पाइरहेको छ ।

श्रेष्ठले मुलुकमा ८३ हजार मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यताबारे अध्ययन गरेका थिए ।

उनले मस्को इलेक्ट्रिकल इन्जिनियरिङ इन्स्टिच्युटबाट सन् १९६६ मा ‘नेपालको जलविद्युत् सम्भाव्यता’ विषयमा विद्यावारिधि गरेका थिए । उनले विद्यावारिधि शोधपत्रमा ८३ हजार मेगावाट बिजुली उत्पादनको क्षमता नेपालसँग रहेको उल्लेख गरेका थिए । उनले पत्ता लगाएको यो तथ्यलाई अहिलेसम्म कसैले चुनौती दिन सकेको छैन् ।

‘श्रेष्ठले ८३ हजार मेगावाट बिजुली निकाल्न सकिन्छ भनेर ५० वर्षअघि पत्ता लगाएको तथ्य अहिलेसम्म सबैको मुखमा छ, यसलाई कसैले काट्न सकेको छैन्’, श्रेष्ठसँग लामो समय संगत गरेका जलस्रोतविद् तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का पूर्वअध्यक्ष खड्गबहादुर बिष्टले नागरिकसँग भने, ‘श्रेष्ठकै तथ्यमा आधारित भएर अहिले पनि कुन क्षेत्रमा कति बिजुली उत्पादन गर्न सकिन्छ भनेर थप अध्ययन हुने गरेको छ ।’

श्रेष्ठसँग निकट रहेका अर्का जलस्रोतविद् तथा इपान अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार राष्ट्रिय योजना आयोगले गर्न नसकेको काम श्रेष्ठ एक्लैले गरेका थिए । ‘उहाँलाई यो जलविद्युत् क्षेत्र (सेक्टर) का पिता मानिएको छ,’ गुरागाईंले भने, ‘क्यालकुलेटरसम्म आविस्कार नभएको समयमा उनले सामान्य प्रविधि प्रयोग गरेर नेपालमा ८३ हजार मेगावाट बिजुली निकाल्न सकिने रहस्य पत्ता लगाउनु चानचुने विषय थिएन ।’

जलस्रोत विषयमा उल्लेखनीय योगदान गरेबापत श्रेष्ठको कदर गर्दै हाइड्रो नेपालले चैत्त २९ गते उनलाई सम्मान गरेको थियो । ‘सरकारले गर्न नसकेको काम गरेर उहाँले राज्यलाई उल्लेखनीय योगदान पु¥याउनुभएको थियो,’ इपान अध्यक्ष गुरागाईंले भने, ‘पछिल्लो समयमा श्रेष्ठले जलविद्युत् आयोजना विदेशीलाई दिनु हुँदैन, स्वदेशीले नै बनाउनुपर्छ भन्नुहुन्थ्यो ।’

पारिवारिक स्रोतका अनुसार, श्रेष्ठ तीन दिनअघि घरको सुत्ने कोठामा लडेर सामान्य घाइते भएका थिए । त्यसपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । श्रेष्ठको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

प्रकाशित: १५ वैशाख २०७४ ०१:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App