coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बाबुरामले हेरे ‘घामपानी’

चलचित्र घामपानीकाे गीतमा अभिनय गर्दै कलाकार दयाहाङ रार्इ र केकी अधिकारी

काठमाडौं –  स्थानीय चुनावको चटारो छलेर पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई  बिहीबार फिल्म हेर्न कुमारी हल पुगेका छन् । सहयोगीका साथ हल पुगेका उनले गत हप्ता रिलिज भएको फिल्म  ‘घामपानी’ हेरेका थिए । फिल्म हेरेसँगै भट्टराईले फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र लामालाई बधाई दिए ।

गत वैशाख १ गते रिलिज भएको फिल्मले जताततै चर्चा बटुल्न थालेदेखि नै भट्टराईले ‘घामपानी’ हेर्न चाहेका थिए । तर, चुनाबकै चहलपहलका कारण उनले समय निकाल्न सकेका थिएनन् । रिलिजको १४ औं दिन बल्ल उनलाई फिल्म हेर्न समय जुर्यो ।

फिल्म हेरेर हलबाट बाहिरिएपछि भट्टराईले सञ्चारकर्मीसँग फिल्मसँग जोडिएको सामाजिक र सांस्कृतिक पक्षको व्याख्या गरे । ‘एकदमै समसामयिक र सबैले चासो राख्नुपर्ने विषयमा फिल्म बनाइएको रहेछ । यो फिल्म सरल र अरुभन्दा फरक लाग्यो,’ उनले थपे, ‘मिठो तरिकाले मिठो सन्देश समेटिएको रहेछ । फिल्म रमाइलो पनि छ ।’

अन्तरजातीय विहेको कथा बोकेको ‘घामपानी’मा दयाहाङ राईले तामाङ युवक र केकी अधिकारीले बाहुन युवतीको भूमिका निर्वाह गरेका छन् । फिल्मको कथाले भट्टराईलाई आफ्नो विहे पनि सम्झायो । ‘मेरो विहे पनि अन्तरजातीय नै हो । तर, हामीलाई त्यतिबेला विहे गर्न कुनै अप्ठ्यारो भएको थिएन,’ उनले भने, ‘तर अझै पनि हाम्रो समाजमा अन्तरजातीय विहेलाई सजिलै स्विकार्ने मानसिकता छैन ।’ 

भट्टराईले निर्देशक लामासँग फिल्मको व्यापारिक पाटोबारे पनि जिज्ञासा राखेका थिए । लामाले फिल्म नाफामा गइसकेको बताए । बधाई दिँदै भट्टराईले भने, ‘खुला बजारमा ‘घामपानी’जस्तो फिल्मलाई व्यवसाय गर्न गाह्रो छ । त्यसैले राज्य र समाज मिलेर हौसला दिनुपर्छ ।’

भट्टराईले फिल्म हेरेसँगै ट्वीट गरेर फिल्मको तारिफ गरेका छन् । उनले लेखेका छन्, ‘घामपानीले नेपाली इन्द्रेणी राष्ट्रियताको उत्खनन र प्रस्तुति उत्कृष्ट ढंगले गरेको रहेछ ।’ भट्टराईसँगै उनकी पत्नी हिसिला यमी, पार्टी प्रवक्ता खिमलाल देवकोटा र स्वकीय सचिव विश्वदीप पाण्डेले पनि ‘घामपानी’ हेरेका थिए । 

 

प्रकाशित: १५ वैशाख २०७४ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App