coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाता नखुल्दा योजना सञ्चालन गर्न समस्या

रम्भागाउँपालिका–४ सेर्काबासदेखी फुरुङ्दीसम्म निर्माणाधीन मोटरबाटो । तस्बिर : मुक्तिप्रसाद न्यौपाने

पाल्पा – पाल्पामा पुनःसंरचना अनुसार वडा कार्यालयको खाता सञ्चालन नहुँदा योजना सञ्चालन गर्न समस्या भएको छ । सम्पन्न भएका योजनाहरूले समेत भुक्तानी नपाउँदा उपभोक्ता समितिमा बसेर काम गर्नेहरूले आफ्नो रकम खर्च गर्न बाध्य भएका छन् । 

रम्भादेवी गाउँपालिका–४, ताहुँका रामप्रसाद श्रेष्ठले योजना सञ्चालनका लागि पेश्की रकम तथा अन्य खर्च भएको रकम नपाउने अवस्था सिर्जना भएको बताए । उनी भन्छन्, ‘गाउँमा विकास निर्माणकालागि आएको रकम कसरी खर्च हुने हो भन्ने अन्यौलता छ । केही खर्च भैसकेको रकम समेत पाइन्छ की पाइदैन भनेर अध्यक्षहरु दुविधामा छन् ।’

तानसेन नगरपालिका–११ बन्दीपोखरा ढुँगेडाँडा भारकोट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर बमरेलले आफुहरुले रकम खर्च गरेर योजना सम्पन्न गरेको तर रकम भने नपाएको बताए । ‘योजना सम्पन्न सरसापटी गरेर भए पनि गरियो । तर रकम पाइने हो वा होइन । कतिपय योजनाहरु अन्यौलमै छन्,’–बमरेलले भने । साविक बन्दीपोखरा गाविस अहिले तानसेन नगरपालिका ११ नम्बर वडा कार्यालय भएको छ । वडा सचिव कृष्णप्रसाद शर्माले भौतिक निर्माण तर्फका अधिकांश योजना सम्पन्न भैसकेको बताए । उनी भन्छन्, ‘वडा कार्यालयको खाता सञ्चालन प्रक्रियामा भएको ढिलाइका कारण योजना सम्पन्न नहुने अवस्था आएको छ । कतिपय सम्पन्न भएका योजनाको भुक्तानी दिन सकिएको छैन । लक्षित वर्गका कार्यक्रमहरू अलपत्र अवस्थामा छन् ।’ साविक गाविसको खाता रोक्का छ । नयाँ खाता सञ्चालनका लागि जिल्ला समन्वय समिति र कोष तथा लेखा नियन्त्रण कार्यालयसँग समन्वय हुन नसकेको हो की ? उनले भने । 

नयाँ खाता सञ्चालनमा भएको ढिलाइले सामाजिक सुरक्षा भत्ता वितरण, विकास योजना र कार्यक्रमको रकम भुक्तानीको काम प्रभावित भएको हो । जिल्ला समन्वय समितिले नयाँ संरचना अनुसारको नगरपालिका र गाउँपालिकाको खाता सञ्चालन भएको जनाएको छ । समितिका शाखा अधिकृत दुर्गाप्रसाद खनालले कतिपय साविकका गाविसलाई खाता सञ्चालनका लागि प्रक्रिया पुरा गरी बैंकमा जान आग्रह गरिएको बताए । गाउँपालिकाको कार्यकारी अधिकृतको स्वीकृत पत्रमा जिल्लाको जुनसुकै बैंकमा वडा कार्यालयको खाता खोल्न सकिने उनले बताए । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख वासुदेव भट्टराईले आफुहरूले गाउँपालिका र नगरपालिकाहरूको खाता सञ्चालन गरिसकेको बताए । ‘वडा कार्यालयको खाता कोष तथा लेखा नियन्त्रण कार्यालयले खोल्ने होइन । कार्यकारीको सिफारिसमा वडा सचिवले जिल्लाको जुनसुकै बैंकमा खाता खोल्न सक्छन्,’ उनले भने, ‘गाउँपालिकाको लागि आएको ५२ लाख रकम दिने अन्तिम तयारीमा लागेका छौं ।’

जिल्लामा फागुनको २७ गतेदेखि गाउँ विकास समितिको खाता बन्द भएको हो । खाता बन्द हुँदा जिल्लाका छहरा, देविनगर, दर्लमडाँडा र भैरवस्थान साविक गाविसमा दोस्रो चौमासिकको सामाजिक सुरक्षा समेत वितरण हुन सकेको छैन । वडा कार्यालयहरुको खाता सञ्चालन नहुँदा योजनाको सम्झौतादेखी फरफारकसम्मका कामहरु प्रभावित बनेका हुन् । 

प्रकाशित: १५ वैशाख २०७४ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App