८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवार छान्न नसक्दा चुनावी गतिविधि सुस्त

बाग्लुङ-प्रमुख राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नसक्दा गाउँगाउँमा चुनावी गतिविधि ठप्पप्रायः छ। दलका नेता कार्यकर्ता गाउँमा मतदातालाई प्रशिक्षित गर्न, मत आफ्नो पक्षमा तान्न सक्रिय हुनुपर्ने बेलामा कसले टिकट पाउँछ भन्ने ध्याउन्नमा छन् । दुई साताअघिसम्म विभिन्न दलका भेला, बैठक र कार्यक्रमका समाचारले भरिने यहाँका सञ्चार माध्यममा अहिले चुनावी गतिविधिबारे सुन्न–पढ्न पाइएको छैन । दुई सातादेखि निरन्तर छलफल र बैठक चलिरहे पनि यहाँका ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सबै स्थानीय तहका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।

उम्मेदवार छनोटमा सबैभन्दा बढी झमेला कांग्रेसमा देखिएको छ । कांग्रेसका तीन क्षेत्रीय समितिले केही वडा अध्यक्ष, गाउँ र नगरपालिका प्रमुख तथा उपप्रमुखको उम्मेदवरा टुंगो लगाएको दाबी गरे पनि नाम सार्वजनिक गरेको छैन । उम्मेदवार टुंगो नलाग्दा गाउँमा निर्वाचन गतिविधि सञ्चालन गर्न गाह्रो परेको कांग्रेस सिसाखानीका सचिव प्रेम घर्तीले बताए। ‘पहिलाको गाविस अहिले एउटा वडा भएको छ, वडाध्यक्षका लागि पार्टीभित्रैबाट दुईजनाले दाबी गरिरहेका छन्,’ उनले भने, ‘क्षेत्र र जिल्लाले वडाको उम्मेदवार को हुने भन्ने टुंग्याउन ढिला गर्दा प्रचारप्रसारमा समेत समस्या भइरहेको छ । यसले कार्यकर्तामा समेत निराशा छाएको छ ।’ उनले थपे, ‘उम्मेदवार आकांक्षीलाई बसालेर छलफल गरौं, पार्टीका लागि मत माग्दै मतदातालाई सुसूचित गरौं भन्दा टिकट फाइनल भएपछि गरौंला भन्छन् ।’

उम्मेदवार छनोटमा ढिलाइ हुँदा गाउँगाउँमा पार्टी भित्रैका कार्यकर्ता दुई खेमामा विभाजित हुन थालेको धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङमा नेवि संघका तर्फबाट विजयी स्ववियु सभापति मनिष थापाले बताए। ‘गाउँमा दुई उम्मेदवार दाबेदार भएपछि कार्यकर्ता पनि दुई खेमाजस्तै भएका छन्, यो नभए हुँदैन, त्यो नभई हुँदैन जस्तो कुरा हुन थालेको छ,’ उनले भने, ‘यसले पार्टीलाई गम्भीर असर पार्न सक्छ । एकढिक्का भएर निर्वाचनमा प्रतिपक्षको प्रतिवाद गर्नुपर्नेमा पार्टीभित्रै कार्यकर्ता विभाजित हुने अवस्था आउनु राम्रो कुरा होइन ।’

काठेखोलामा गाउँपालिका—१ बाट वडाध्यक्षका आकांक्षी नेपाल विद्यार्थी संघ बाग्लुङका अध्यक्ष खड्क थापाले उम्मेदवार छनोटका विषयमा अनविज्ञता प्रकट गरे । ‘हामी पनि कुहिरोभित्रको कागजस्तै भएका छौं,’ थापाले भने,‘बैठक र छलफल जारी छ ।’

गाउँगाउँबाट आफूलाई मन परेको व्यक्तिलाई उम्मेदवार बनाउन दबाब दिँदै फोन आउने गरेको कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले बताए । कांग्रेसमा उम्मेदवार बन्न चाहने आकाक्षीबारे अझै पनि क्षेत्रीय समितिमा छलफल जारी छ ।

नेकपा एमालेले भने गाउँ÷नगरमा टुंग्याउन नसकेपछि उम्मेदवार आकांक्षीको सूची जिल्लामार्फत प्रदेश समितिमा पठाएको छ । बाग्लुङ नगरपालिकाको मेयरमा जनक पौडेल, ममतादेवी शर्मा र सुवास राजभण्डारी, उपमेयरमा गीता शर्मा, जैमिनी नगरपालिकाको मेयरमा श्रीप्रसाद शर्मा र उपमेयरका लागि सावित्रा राना र इन्द्र शर्माको नाम प्रदेश समितिमा पठाइएको एमाले बाग्लुङका सचिव लालबहादुर थापाले बताए । गल्कोट नगरपालिकाको मेयरमा एमालेले यामबहादुर श्रीष र उपमेयरमा रत्ना भण्डारीलाई सिफारिस गरेको छ ।

ढोरपाटन नगरपालिकाबाट मेयरमा लक्ष्मण पुन, डिलबहादुर विक मनकुमारी गैरे, उपमेयरमा सीता कँडेल, करमती पुन र चिन्तामणि कँडेल, काँठेखोला गाउँपालिकाको अध्यक्षमा अमर थापा, डिलबहादुर कार्की र परमानन्द कँडेल तथा उपप्रमुखमा कोपिला पुन, गंगाकुमारी शर्मा र हुमाकुमारी जिसी ‘अन्जु’, निसीखोला गाउँपालिका प्रमुखमा लालवीर लोप्चन, रुद्र पौडेल र उपप्रमुखमा दुर्गा पौडेल, छमी घर्तीको नाम सिफारिस गरिएको उनले बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रले गाउँ/नगरबाट नाम सिफारिस भएर आएपछि जिल्लामा छलफल चलाइरहेको छ । ‘एउटै पदका लागि धेरै जनाको नाम सिफारिस भएर आएको छ,’ माओवादी केन्द्र बाग्लुङका प्रचार विभाग प्रमुख कृष्ण केसीले भने, ‘हामी अन्तिम चरणमा छौं।’

मतदाता शिक्षा कार्यकर्ता खटिए

दलहरु उम्मेदवार छनोटमा अल्झिए पनि निर्वाचन कार्यालयले आफ्नो काम जारी राखेको छ । कार्यालयले मतदाता शिक्षा कार्यकर्ता गाउँ/नगरका सबै वडामा पठाएको जनाएको छ ।

‘मतदाता शिक्षा कार्यकर्तालाई प्रशिक्षण दिएर जिल्लाभर खटाएका छौं,’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकासचन्द्र शर्माले भने, ‘निर्वाचनका लागि जिल्लामा सबै तयारी छ । मतपत्रबाहेक अरु सबै सामग्री आइसकेको छ ।’ बाग्लुङमा चार नगरपालिका र ६ गाउँपालिका छन् ।

प्रकाशित: १६ वैशाख २०७४ ०२:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App