१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भार्सेली माया

पुष्कर शाह

हामी वुटवलमा साइकलको अबस्था जाँच्दै थियौं । एउटी दिदीले हाम्रो गतिविधि नियालिरहेकी थिइन् । मैले साइकलको पाटपूर्जामा तेल हालेको देखेर उनले बटौलीतिरको लेग्रो तानेर सोधिन, ‘यो तेल हाल्ने साइकल हो र ?’

हजुर हो–मैले भनें ।

‘कति पर्च नि साइकलमा हाल्नी तेलको ?’ 

दुई सय पर्छ यतिको–मैले तेलको सानो भाँडो देखाएँ ।

‘ए आम्मा कस्तो महँगो रैच, यत्तिको २०० रुपैयाँ ? हाम्रा बुडाले हाल्ने तेल भन्दा महँगो रैच’, उनी अचम्ममा परिन् ।

उनका बुडाले हाल्ने तेल कस्तो रैछ भनेर जान्न खोजें, ‘तपाइँका बुडाले कतिमा हाल्चन् र ?

‘एक सय मै हाल्चन्’, उनले भनिन् । उनको बुडासँग मोटरसाइकल रैछ ।

हामी हरेक वैशाखमा नयाँ गन्तव्य खोज्दै हिँड्छौ । त्यहीक्रममा यसपाली गुल्मीको भार्से जाँदै थियौं । बिहानको खाजा खाएर हामीले खादा भि¥यौं । रातो टीका लगायौं र बुटवल छाड्यौं । बजारबाट शिद्धबाबासम्म   बुटवलका साइकलेहरु साथी पनि आएका थिए । तिनाउ नदीको चेपैचेप पसेर उकालो लागेको शिद्धार्थ राजमार्ग तानसेनसम्म नै तर्पे तर्पे उकालो छ  ।

यसपाली मौसम खासै तात्तिएको छैन । ग्लोबल वार्मिंङ भन्दा पनि ग्लोबल कुलिङ जस्तो लाग्छ । उकालोमा पनि साइकले सोल्टीहरु बिना पसिना प्याडल मार्दैछन् । सडक किनारमा स–साना छाप्रे रेस्टुरेन्ट छन् । चिटिक्क सफा देखिने रेस्टुरेन्ट हातामा निजि मोटर र मोटर साइकल बिश्राम गर्छन । सेलरोटी अनि मगर जातिको प्रसिद्ध परिकार भडुक छाप्रे रेस्टुरेन्टका खाजा । बगैचाको जैविक केरा र मेवा बेच्न बेसेका सुन्दर युवतीहरु ! हाम्रो साइकल पेलाई हेर्दै मुसुक्क हाँस्छन् । त्यो मुस्कान हामीलाई केरा, मेवा किन्ने निम्तो पनि हो ।

दुई दर्जन केरा किनेर साइकलेहरुलाई बाँड्दा केरा बेच्ने सोल्टिनीको चार दर्जनको मुस्कान सित्तैंमा पाइन्छ।

‘काँ पुग्ने  हो र ?’, केरा बेच्ने सोल्टीनि मलाई सोध्छिन ।   .

उनले नसोधे आफै भन्न मन लाग्दै थियो–गुल्मी ।

‘ए आम्मा, साइकलमै ?’, उनी छेउको साथीलाई हेर्दै पैसा समातेको हातले मुख छोप्छिन ।

अनि के त, साइकलमै त होनि ।

‘मोर्लाऊ यो उकालोमा’, उनी हाम्लाई तर्साउन खोज्छिन् ।

मान्छेका छोराले साइकलमा संसार घुमेर आए रे, जाबो तानसेनको उकालोले हाम्लाई तर्साउनी– मैले उनलाई गफ दिएँ ।

‘घुम्छ संसार, यै तानसेनको उकालो उक्लिन सके धन्न ।’

त्यो साइकलमा संसार घुम्ने मान्छे मै हो भनेनि उनले पत्याउने थिइनन् । नत्र चार दर्जन केरा हाँस्थिन।

केहीबेर उकालो चढेपछि हाम्रो खान खाने ठाउँ आयो–केराबारी ।

केराबारीको फेदमा सँगसँगै हुर्केको रातो भाले तातो पानीमा पौडि खेल्दै थियो । भालेको सुपले हामीलाई तानसेनको उकालो सजिलै चढायो । तानसेन चोकैमा रोट्रयाक्ट र लायन्स क्लबले हामीलाई पाल्पाली ढाकाको गलबन्दी पहिराई दिए ।

पाल्पाली ढाकाको गलबन्दीले सजिएर बतासे डाँडाको ओरालो फिलिली हुँदै साँझ रिडी पुग्यौं । रिमरिम साँझ भैसकेको थियो । रिडीबासी हामीलाई स्वागत गर्न आतुर थिए । भोलिपल्ट बिहान नेपालको प्रमूख धार्मिक तिर्थस्थलमा पर्ने ऋषिकेश मन्दिर घुमेर हामी भार्सेको बाटो लाग्यौं । काली गण्डकीको किनारै किनार बिहानको कलिलो हावा खाँदैदै । रुद्रबेनी पुगेपछि बाटो बिस्तारै उकालो जस्तो भयो । खैरेनीमा आमा समूहको उस्तै स्वागत । त्यसपछि चैं साँच्चिकै उकालो लाग्यो बाटो । ऊ त्यो डाँडो काटेर जानुपर्छ भनेर कसैले सुनाई दिँदा ओरालै फर्किम कि क्या हो भने झैं भयो ।

भार्से पुग्नु अघि भगवती मन्दिरमा पञ्चे बाजा बजेको सुनियो । हाम्लाई थाहा थियो त्यो हाम्रो स्वागतमा बजाको भन्ने । भार्सेलीहरु घरमा एक जना पनि नबसि हाम्रो साइकललाई सुम्सुम्याउन, माया गर्न ओइरिएका थिए । एउटा नेता आउँदा नि जम्मा नहुने भार्सेलीको ठिक्कको आमसभा नै भयो । नम्बरी सुन जस्तै एकल जातीय मगर गाउँ हो भार्से । बिसं १९८७ मा गुल्मी जिल्लामै पहिलो भार्से जनसहयोग स्कुल खुलेको थियो । त्यहीँको उज्यालो लिएर भार्सेलीहरु विश्व संजाल छरिए । पछिल्लो समय आर्थिक उन्नतिसंगै उनीहरु आफन्तलाई चटक्कै माया मारेर तराई झरे । शहर पसे, विदेश उडे तर पनि भार्सेमा बसन्त ऋतु गुराँसले उस्तै रंगिन्छ । भार्सेको सुगन्ध बोकेर गएकाहरु हरेक बर्ष वैशाख १ गते संसार भरिबाट आफू खेलेको माटो सुघ्न आइपुग्छन् । आउन नभ्याउनेहरु माया पठाउँछन् ।

दुई दिने भार्से बसाइमा हामीले गुराँसको माला मात्र लाएनौं, कोदोको रोटि, मकैको च्याख्ला, फापरको सेल, बांकोको अचार, सिस्नुको तरकारी, फलौरा, नौनी घिउ र तिनपाने कोदोस्की पनि चाख्यौं । त्यतिले मात्र साइकले डुलुवा खुसी हुन्नन् भनेर दुई रातै मगर्नी सोल्टिनीहरु सोरठी नाचे । नचाए । भार्सेमा बिछट्टै माया गर्ने अग्र्यानिक मनहरु ताजै छन् ।

जीवन भनेको घर काम, घर काम मणिग्राम मात्र हैन । अब हामी पनि मणिग्रामबाट अलिकति पैसा चोरेर सुन्दर प्रकृति अनि त्यो सुन्दरताभित्र लुकेको सुन्दर बस्ती, सुन्दर संस्कृति, जैविक मन छाम्न जानु पर्छ ।

‘कान्छा अर्को साल नि आएस, माया नमारेस’, पोल्टाको काफल मेरो गोजीमा हालीदिंदै छेमाले भनिन् ।

‘आमालाई छेमाले सोधेको छ भन्दिनु । हामी त क्यार्नु, यो माटोलाई चटक्कै माया मारेर कतै पाइला सार्न’ सकेनम’, छेमाको आँखा रसिलो भयो ।

मिर्मिको ओरालो झर्नु अघि देउराली डाँडामा छेमाले दिएको काफल हामी सबैले बाँडेर खायौं ।

‘भार्सेली त हिमालको हिउँ जस्तो, आधि मुटु चिरेर दिउँ जस्तो’, देउराली डाँडाबाट मैले राताम्य गुराँसलाई सुुनाको गीत तल छेमाले सुनिन् कि सुनिन् होला !

प्रकाशित: १६ वैशाख २०७४ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App