८ वैशाख २०८१ शनिबार
समाज

पर्यटकीय गन्तव्य बन्दै लदाम बगैंचा

लदाम बगैंचामा मन्दिर शिलान्यास गर्दै प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेल  तस्बिर : अर्जुन भुसाल

अर्घाखाँची –  जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । बगैंचालाई आधुनिक र व्यवस्थित बनाई पर्यटकीय स्थलको रुपमा  विकास गर्ने कार्यको थालनी गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बगैंचालाई पर्यटकीय गन्तव्य बनाउन पहल थालेका हुन् । उनले थालनी गरेको अभियानलाई सफल तुल्याउन सबै क्षेत्रबाट सहयोग मिलेको छ । खत्रीले सन्धिखर्कको मुख्य बजारमै रहेको शान्ति बगैंचालाई पनि सुन्दर, मनोरम बनाउन योजना अघि सारेका छन् । शनिबार प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले लदाम बगैंचामा निर्माण गरिने मन्दिरको शिलान्यास गरे । पूजाआजा सहित उनले मन्दिरको शिलान्यास गरेका हुन । 

जिल्ला सदरमुकामलाई पर्यटकीय गन्तव्य बनाउनका लागि लदान बगैंचाको आधुनिकीकरणका लागि पहल थालेको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताए । ‘बगंैचालाई आकर्षक र मनोरम बनाउन  विभिन्न पूर्वाधार निर्माण कार्य अघि बढाउँदै छौं’ उनले भने, ‘बगैंचा व्यवस्थित  बनेपछि सन्धिखर्ककै प्रतिष्ठा बढ्छ ।’ उनले विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग मिल्ने क्रम सुरु भएकाले लक्ष्य पुरा हुनेमा आफू आशावादी रहेको बताए । बगैंचालाई हरित मैत्री बनाउन जिल्ला वन कार्यालयले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । शिलान्यासको बखतमा मात्र विभिन्न व्यक्तिहरूले  करिव १० लाख रुपैयाँ सहयोग उपलव्ध गराएका छन् ।

बगैंचामा मन्दिर,  १० फिट सम्मको चक्रपथ पैदल मार्ग, आकर्षक स्तरीय स्विमिङ पुल,  पानीको फोहोरा, बालबालिकाकालागि चिफलेटी पिङ, निर्माण गरिने बगैंचा व्यवस्थापन समितिका अध्यक्ष नारायण वञ्जाडेले बताए ।  ‘पिक्निक तथा पार्टी हल, मिनि चिडियाघर, बेन्चहरू दुवो, विभिन्न जातका फुलहरु, सिसि क्यामेरा लगायतका पूर्वाधार निर्माण गर्ने गरी योजना तयार पार्दैछौं ’ उनले भने ।  लदाम बगैंचा  करिव ३० रोपनी जग्गामा फैलिएको छ । यो संरक्षण र प्रचार प्रसारको अभावमा अाेझेलमा परेको बगैंचा हो  । यहाँ  पिक्निक खानको लागि  जिल्लाका विभिन्न ठाउँबाट मानिसहरु आउने गर्छन्। 

बगैंचाको जग्गा २०११ सालमा सन्धिखर्क ४ वाङ्गलाका खुमानन्द भण्डारीले  गोवद्र्धन पूजा गरी गाईलाई नुन हालेर दान दिएका थिए । खुमानन्दका नाति मुक्ति भण्डारीले आफ्ना हजुरबुवाले दान गरेको जग्गाको महत्व बुझेर सुन्दर, पर्यटकीय स्थल निर्माण गर्न लागिएको भन्दै  खुसी व्यक्त गरे । ‘सहायक सिडियो सरको अग्रसरतामा सबैको साथ र सहयोग देख्दा निर्माण कार्य समयमै सम्पन्न हुने निश्चित देखियो’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोख्रेलले प्रयाप्त क्षेत्रफलमा रहेको बगैंचामा विभिन्न पूर्वाधार निर्माण गर्न संभव देखिएको भन्दै बगैंचाको आधुनिकिकरणले सन्धिखर्कको महत्व  बढेर जाने बताए । उनले जिल्लाका पर्यकीय क्षेत्रमा पूर्वाधार विस्तारका लागि राष्ट्रिय योजना आयोगसँग पनि सहयोग मागिएको भन्दै सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको बताए । ‘सामाजिक काममा यहाँका नागरिकको जागरुकता देखेर म निकै उत्साही भएँ’ उनले भने,  ‘लदाम बगैंचाको विकासका लागि जिल्ला प्रशासनबाट गर्न सक्ने सेवा सुविधा दिन म तयार छु ।’ उनले सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले आफ्नो  जिल्लामा समाजिक काममा देखाएको अग्रसरतालाई उपयोग गर्न जिल्लाबासीलाई आग्रह समेत गरे । 

 

प्रकाशित: १६ वैशाख २०७४ ०६:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App