७ वैशाख २०८१ शुक्रबार
समाज

निउरो, सिस्नु र जङ्गली च्याउ बेचेर पढाइखर्च

सोलुखुम्बु– काँकु सोलुखुम्बुका– १२ वर्षीय पेमनुरु शेर्पाले आज सदरमुकामस्थित साप्ताहिक हाटमा ५० मुठा निउरो बेचे । प्रतिमुठा २० रुपैयाँका दरले एक हजार रुपैयाँ कमाएका उनले बजार आउदा खाजा÷खाना खाएर बचेको ६ सय रुपैयाँले कापी÷कलम किनेर लैजाने बताए ।

कक्षा ५ मा पढ्दै गरेका पेमनुरुले यसवर्ष नियमित निउरो बेचेको पाँचौं हप्ता हो, निउरो नपाउने समयमा सिस्नुको मुन्टा बेच्ने गरेको बताउने उनी शुक्रबार घरछेउमा रहेको जङ्गलमा निउरो तथा सिस्नु सङ्कलन गर्ने र शनिबार बिहान– २ बजे हिँडेर पाँच घन्टापछि सल्लेरी आइपुग्ने र सामान बेचेर बेलुका घरै फर्कने गरेको बताउँछन् ।

आफूलाई चाहिने किताब कापी, कलम किनिसकेपछि विद्यालयमा चाहिने खाजाखर्च छुट्याउने र पैसा बाँकी रह्यो भने घरमा चाहिने नुन, तेल, मसला पनि किनेर लैजाने शेर्पा बताउँछन् । उनको हरेक शनिबार यसरी नै बित्ने गरेको तीन वर्षभयो । उनी वर्षैभरी जङ्गलमा फल्ने, उम्रने निउरो, च्याउदेखि सिस्नुसम्म ल्याएर बजारमा बेच्ने गर्छन् । पेमनुरुले भने, ‘घरमा कमाइ राम्रो छैन, आफ्नो खर्च आफंै कमाउनुपर्छ, यत्ति दुःख नगरे त स्कुल जान पाइदैंन ।’

पेमनुरु जस्तै सल्लेरी पारी जैदु की– ११ वर्षीय बालिका निङमा ल्हामु तामाङ पनि कक्षा ५ मा पढ्छिन् । तर शनिबार झिसमिसेमै घरबाट सदरमुकाम सल्लेरीमा हाट बजारमा साग ल्याएर बेच्ने गरेकी छिन् । आजको हाटमा पनि निङमाले आफूले बोक्नसक्ने २० मुठा साग ल्याएर डेढ घन्टामै बेचिन् । निङमाले भनिन्, “अब यो पैसाले ओपिटी किताब किन्छु, कापी किन्छु अनि भोलि स्कुल जान्छु ।”

पेमनुरु र निङमा जस्तै सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा लाग्ने शनिबारे हाट बजारमा आजकाल पाँच÷छ कक्षामा पढ्दै गरेका बालबालिका व्यापारिको रुपमा निक्कै आउने गर्छन् । घरमा बुबाआमाको आयस्रोत राम्रो नभएपछि पढाइखर्च जुटाउन अहिले ती बालबालिका साप्ताहिक हाटबजारका लागि शनिबार कुरिरहेका हुन्छन् । अझ अहिले नयाँ शैक्षिक सत्र पनि सुरु नभइसकेकाले यस्ता बालबालिका हाटबजारमा बढी देखिने गरेका छन् ।

काँकुस्थित कोफुकी दिलमाया राईले भने आफूसँगै आफ्नी १० वर्षीय छोरीलाई पनि राति १ बजे नै घरबाट हिँडाएर निउरो बेच्न बजार ल्याएकी थिइन् । आफ्नो छोरीलाई बजार ल्याउनुमा भने उनले अर्कै कारण बताइन् । उनले भनिन्, ‘बच्चालाई यसरी बजारमा ल्याएपछि पैसा कमाउन कत्ति दुःख हुदोरहेछ भनेर थाहा पाउछन्न् । अनि कापी कलमको जतन गर्छन्, पैसोको महत्व थाहा पाउँछन् । त्यसपछि पैसा पनि कम खर्च गर्छन् ।’

धेरै बालबालिका न्यानो गरी सुतिरहँदा यी बालबालिका भने पढाइखर्चकै जोहो गर्न मेहेनत गरिरहेका छन् । दिलमाया राईले भनिन्, ‘सरकारले निःशुल्क पढाइ अभियान भनेर के गर्नु, ? स्कुलले खै के के शुल्क भनेर पैसा लिइहाल्छ ।’ उनले प्रश्न गरिन्, ‘निःशुल्क भर्ना गर्छु भन्नेले कापी कलम पनि सित्तैमा दिनुपर्दैन ? अनि पो सबै बच्चा स्कुल जान पाउँछन् ।’

अहिले सोलुखुम्बुका चार प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । वैशाख १ गतेबाट भर्ना अभियान सुरु गरे पनि पढाइखर्च जुटाउन नसक्दा अधिकांश बालबालिका सानैमा विद्यालय छाडेर खुम्बुमा पर्यटकको भारी बोक्न जाने गरेका छन् । जिल्ला शिक्षा अधिकारी डिकबहादुर राईले भने, “यस पटक सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउने हाम्रो अधियान छ।”

देशलाई नै पूर्ण साक्षर बनाउने दौडमा लागेको सरकारले भर्ना अभियान चलाइरहँदा कापी कलमको खर्च पनि निःशुल्क गरिदिनुपर्ने अभिभावकको माग छ । रासस

प्रकाशित: १६ वैशाख २०७४ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App