७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

दिपायलको पिपल्ला बजारमा टिकटको दौडधुपमा रहेका नेपाली कांग्रेसका नेताकार्यकर्ताहरूको भीड । तस्बिर : अरूण बम

डोटी – केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो । 

पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार वैशाख १६ गते मनोनयन दर्ताको समय थियो । यसर्थ, पनि दलीय गतिविधि तिव्र थिए । 

यसैबीचमा एकाएक सरकारले ७ नम्बर प्रदेश  सहित ४ वटा प्रदेशको निर्वाचन जेठ ३१ गते दोस्रो चरणमा गर्ने घोषणा गरेसंगै दलका गतिविधि लगभग शून्य भएका छन् । ‘दलहरूले गतिविधि निकै अघि बढाइसकेका थिए । धेरैजसो दलहरूले उम्मेदवार टुंग्याइपनि सकेका थिए,’ नेपाल बार एशोसियशन जिल्ला बार इकाई डोटीका अध्यक्ष गोविन्द जोशी भन्छन्, ‘सरकारले निर्वाचन सार्ने निर्णय गरेसंगै दलहरूले लगभग सबै काम ठप्प गरेको आभाश हुन थालेको छ ।’ 

यसक्रममा नेपाली कांग्रेसले सुदूरपश्चिमका सबैजसो जिल्लामा टिकट वितरणका सम्पूर्ण कार्यक्रमहरू तत्कालका स्थगित गरेको छ । कैलाली र कञ्चनपुरमा सूचना नै जारी गरेर स्थगित गरेको छ भने, बाँकी जिल्लामा बिना सूचना सबै कार्यक्रमहरू स्थगित गरेको छ । काँग्रेसबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबैजसो सांसदहरू राजधानी फर्केका छन् । धेरैजसो जिल्ला सभापतिहरू पनि जिल्लाबाट बाहिरिएका छन् । टिकटका लागि गाउँ–गाउँदेखि जिल्ला सदरमूकाम पुगेका नेता कार्यकर्ताहरू फेरि गाउँमै फर्किएपछि कांग्रेसका कार्यक्रमहरूमा शुन्यता छाएको छ । 

उता नेकपा एमालेको प्रदेश कमिटीले निर्वाचन सार्नु अगावै सुदूरपश्चिमका लगभग सबैजसो स्थानीय तहमा आफ्ना उम्मेदवारहरू टुंग्याइसकेको छ । यद्यपी अन्तिम निर्णय भने अझै भैनसकेको एमाले स्रोत बताउँछ । प्रदेशका केही वडाहरूमा अझै बाँकी छ । 

नेकपा माओवादी केन्द्रले पनि निर्वाचन सरेकै कारण आफ्नो उम्मेदवार छनौट कार्य रोकेको छ । केही ठाउँमा निर्णयहरू भैसकेपनि आधिकारिक रुपमा उम्मेदवारीहरू अझै सार्वजनिक गरेको छैन् । यद्यपी अधिकांश ठाउँमा भने अझै उम्मेदवारको टुंगो लगाएको छैन् । 
प्रमूख दलहरूमा मात्रै होइन, साना दलहरूले पनि आफ्ना गतिविधिहरूलाई रोकेका छन् । जसले जिल्लाहरूमा दलका गतिविधिहरू सुस्त देखिन थालेका छ । ‘दलहरू नै सुस्त भएपछि चुनावी रौनक पनि केही कम भएको छ,’ डडेल्धुराका पत्रकार बरुण पनेरु भन्छन्,‘चुनाव सरेपछि माहौलमा एकाएक परिवर्तन आएको छ ।’ 

राजनितिक दलहरूले उम्मेदवार छनोटका काम मात्र नभई प्रचार–प्रसारका गतिविधिहरूमा पनि सुस्तता देखाएका छन् । वैशाखको दोस्रो सातासम्म गाउँगाउँ पसेर प्रचारप्रसार गरिरहेका दलहरू अहिले केही सुस्त देखिन्छन् । 

निर्वाचनबारे अन्योलता

वैशाखको दोस्रो सातासम्ममा सबैजसो जिल्लाहरूमा निर्वाचनको चहल–पहल उत्कर्षमा पुगिसकेको थियो । दलहरू रातदिन कसरतमा थिए । पार्टीका नेताकार्यकर्ताहरू जनताका घर–घरसम्म पुग्न लागिसकेका थिए । जसले सबैजसो निर्वाचन हुनेमा पूर्ण विश्वस्त थिए । 

एकाएक सरकारको निर्णय र त्यसपछिका राष्ट्रिय राजनीतिक गतिविधिहरूले जनस्तरमा निर्वाचन हुने/नहुने विषयमा अन्योलता देखिन्छ । निर्वाचनका बिषयमा जिल्लामा नेतृत्व गर्ने नेताहरू नै अनभिज्ञता प्रकट गर्छन् । जसको प्रभाव दलीय गतिविधिहरूमा पनि देखिन थालेको छ । ‘एकाएक दलहरू पनि सुस्त हुनु र राष्ट्रिय राजनीतिका गतिविधिहरूले केही अन्योलता देखिन्छ,’ दिपायलका व्यवसायी गणेश साउँद भन्छन्, ‘जे भएपनि निर्वाचन त होलाझैँ लाग्छ ।’ 

केन्द्रमा एकीन निर्णय अझै भैनसकेकामा दलहरूमा पनि केही आशंका छ । ‘संविधानले नै माघ ७ भित्र तीन तहको निर्वाचन गर्ने भनेको छ,’ नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्ल भन्छन्,‘तैपनी माथि अझै छलफल भैरहेको छ ।’ डोटीका सबैजसो ठाउँमा आफुले उम्मेदवारी टुंग्याइसकेर प्रचार–प्रसारमा हिडेको उनी बताउँछन् । ‘ढिलोचाँडो हो, चुनाव त होला । त्यसैले प्रचार–प्रसारमा हिडिरहेका छौँ,’ उनले थपे । 

 

प्रकाशित: १६ वैशाख २०७४ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App