७ वैशाख २०८१ शुक्रबार
राजनीति

चुनावमा सबैलाई समेट्न संशोधन : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर निर्वाचनमा जान संविधान संशोधन विधेयक संसद्बाट पारित गर्न सघाउन प्रमुख प्रतिपक्षी एमालेसहितका दललाई आग्रह गरेका छन् । 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान आयोजित पत्रकार भेटघाटमा सभापति देउवाले अब संशोधन प्रस्तावलाई प्रक्रियामा जानबाट नरोकिने पनि स्पष्ट पारे । जनताको चाहनाअनुरुप संविधानसभाबाट जारी संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक भएको बताए । उनलले एमालेको भावनालाई समेत समेटेर संशोधन विधेयक पारित गर्नै दाबी गरे । 

‘तराई/मधेसका जनताको मात्र होइन, पहाडको पनि भावना समेट्नुपर्छ’, देउवाले भने, ‘मधेसका जनताले उठाएका सबै माग पूरा नभए पनि उनीहरूको भावनालाई समेटेर केही माग पूरा गर्न लागिपरेका छौं ।’

निर्वाचनमा सबै पक्षको सहभागितालाई सुनिश्चित गर्न दुई चरणमा चुनाव गर्न लागिएको देउवाको भनाइ थियो । ‘कांग्रेसले मात्र दुई चरणमा चुनावका लागि दबाब दिएको होइन,’ देउवाले भने, ‘सबैलाई सहभागी गराउन आयोगको परामर्श लिएर नै दुई चरणमा चुनाव गराउने सहमति बनेको हो ।’

अर्को प्रसंगमा देउवाले राजनीतिक स्थायित्व र विकासको अभिभारा कांग्रेसले मात्र पूरा गर्न सक्ने दाबी गर्दै संविधानले प्रत्याभूत गरेका अधिकार उपयोग गरेर मुलुकको विकास र समृद्धिलाई अघि बढाइने बताए । 

लोकतन्त्रको जग बलियो बनाउन स्थानीय तहको निर्वाचन अनिर्वाय रहेको उनले प्रस्ट पारे । देउवाले कांग्रेस पार्टीभित्रको बृहत एकतालाई कायम राख्दै चुनावमा जुटेको बताए । ‘मुलुकको अभिभारा पूरा गर्न कांग्रेस प्रतिबद्ध छ । हामी एकताबद्ध हुँदै निर्वाचनमा जुटिरहेका छौं,’ देउवाले भने ।

कार्यक्रममा नेता रामचन्द्र पौडेलले सबै पक्ष र भूभागलाई समेटेर अघि बढ्नसके मात्र राष्ट्रियता बलियो हुने दाबी गरे । कांग्रेस आफ्नो भिजन र मिसनमा स्पष्ट रहेको उल्लेख गर्दै पौडेलले भने, ‘अनेक बाधा, व्यवधान र अप्ठेरा सामना गर्दै हामी आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढिरहेका छौं । देश जोगाएर  जनताको अधिकारको संरक्षण गर्दै राष्ट्रिय उन्नतिका लागि समर्पित छौं ।’

मुलुकका सामु देखिएका समस्याको समाधान कांग्रेसले मात्र दिनसक्ने दाबी गर्दै पौडेलले भने, ‘अरू दलको काम त समस्या ल्याउने मात्र देखिएको छ । कांग्रेसले मात्र मुलुकलाई निकास दिनसक्छ, दिँदै आएको छ ।’

संविधान कार्यान्वयन गरेर राजनीतिक व्यवस्थाको टुंगो लगाउँदै मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढाउनुपर्ने आवश्यकता पौडेलले औंल्याए । कृषि क्रान्ति, पर्यटन विस्तार र ऊर्जा विकासबाट समृद्धि हासिल गर्न सकिने दाबी गर्दै उनले भने, ‘अब जनताको आम्दानी बढाउनुपर्छ । मुलुकलाई सम्पन्न बनाउनुपर्छ ।’ 

प्रकाशित: १७ वैशाख २०७४ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App