coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

छाता

अन्ततः छातामा आएर फेरि कुरा बिग्रिएला जस्तो देखियो । सबै कुरा मिलिसक्यो । तर छाताको कुरा भने अझै मिलिसक्या छैन । सामान्यतया छाताको काम वर्षातमा पानी छेक्ने हो । गर्मीमा घाम छेक्ने हो । तर यहाँ चुनाव पो छेक्ला कि जस्तो भइरहेको छ । कति शक्तिशाली छाता होला यो ? चुनावै छेक्न सक्ने छाता सानो त पक्कै होइन होला । 

वास्तवमा यो सानोतिनो छाता होइन पनि । किन होइन भने मधेसमा यत्रतत्र छरिएर बसेका सबै मधेसकेन्द्रित पार्टीलाई यही छाताले एक ठाउँमा ल्याइदिएको थियो । होइन भने मधेसकेन्द्रित पार्टीहरू एकता हुने सम्भावनै थिएन । यही छाताले सबैलाई आफूमुनि ल्याएर एकता गराइदियो । जो जहाँ भए पनि एउटै छातामुनि आएमात्रै बलियो हुन सक्छ भन्ने कुरा थाहा हुनेबित्तिकै सबै मधेसकेन्द्रित दल  यही छातामुनि आएका थिए । र, जसको फलस्वरूप सबै एक भएका थिए ।  

अब शायद यही कारणले पनि होला, छाताप्रति मधेसकेन्द्रित दलहरूको (‘हरू’ किन ? अब एउटै भइहाल्यो नि) ठूलो लगाव छ । उनीहरू बरु चुनाव छाड्न तयार छन्, छाता छाड्न तयार छैनन् । के थाहा, छाता भएन भने मिलिसकेको पार्टी फेरि छ टुक्रामै विभाजित हुने पो हो कि ? छाताप्रतिको यही असीम लगावले गर्दा होला, एकीकृत राजपाले छातालाई आफ्नो तिरंगी झण्डाको ठीक बीचमै स्थान दिएको छ । 

चुनावका लागि राजपाले छाता त रोजे, तर निर्वाचन आयोग भने दिन अझै तयार भइरहेको छैन । मूल समस्या यहीँनेर छ । निर्वाचन आयोग भनिरहेको छ–  छाता त अब दिन सकिन्न, विकल्पमा अरु नै लेऊ । तर राजपालाई समस्या छ– छाताको विकल्प के लिने ? लिनुपर्ने त रेनकोट हो । किनभने छाताको सबैभन्दा नजिकको विकल्प भनेको रेनकोटै हो । अथवा ओभरकोट पनि हुन सक्ला । त्यस्तै प¥यो भने पोलिथिनको झोला पनि विकल्प हुन सक्छ । टोपी जस्तो लाउन मिल्छ नि । 

तर एकीकृत राजपालाई यीमध्ये कुनै पनि विकल्पको काम छैन । उसलाई जसरी हुन्छ छाता नै चाहिएको छ । आखिर छाताप्रति राजपाको यति कडा मोह किन होला ? के छ यो छातामा ? उनीहरू निर्वाचन आयोगसँग यसरी छाता मागिरहेका छन् मानौं आयोग छाता बेच्ने कुनै ठूलै बेपारी हो । होलसेल बेपारी । 

मैले राजपाका एक वरिष्ठ भने पनि मिल्ने नेताजीलाई सोधेँ, आखिर यो छाताको मोह किन ? मैले सोधेँ, ‘नेताजी, तपाईँहरूलाई यो छाताको यत्रो विधि मोह किन हँ ? किन चाहियो छाता नै ?’

नेताजीले भन्नुभयो, ‘अरे भाइ, छाता त हाम्रो ज्यान हो । बिनाछाता हामी चुनाव कसरी लड्ने ? यो त असम्भव छ ।’

मैले भनेँ, ‘चुनाव लड्न छातै चाहिन्छ भन्ने के छ ? अरु नै लिएर पनि त चुनाव लड्न सकिन्छ नि । के फरक पर्छ ?’

नेताजीले टाउको घुमाउनुभयो । र, भन्नुभयो, ‘हेर्नोस्, छाता भनेको चुनाव लड्नमात्र होइन, अरुतिर लड्न पनि काम लाग्छ । यो त बहुत काम लाग्ने कुरा हो ।’

‘लड्न ? अरु कहाँ लड्ने ?’ मैले सोधेँ ।

‘लड्ने ठाउँ त धेरै छ हेर्नोस्,’ नेताजीले विस्तारपूर्वक भन्नुभयो, ‘छातालाई तपाईँ बाँधेर राख्नुभयो भने यो आफँै एउटा लाठी जस्तो देखिन्छ । यसले त लाठी मारेजस्तो मार्न पनि मिल्छ । यदि कसैले केपी ओलीले जस्तो अगाडिबाट आक्रमण गरे भने छाताको चुच्चोले घोच्न पनि हुन्छ । यदि कोही हामीलाई पछाडि पारेर अगाडि बढ्न खोज्छ भने त्यसलाई हात्तीको सुँढ आकारको हैन्डिलले पछाडिबाट तान्न पनि हुन्छ । अहिले हामीले प्रचण्डलाई त्यही हैन्डिलले त तानेर राख्या छौँ नि ।’

‘यो त छाताको दुरुपयोग भएन नेताजी ?,’ मैले प्रतिप्रश्न गरेँ, ‘छाताको काम त घाम र पानीलाई छेक्ने हो । तर तपाईँ यसको गलत प्रयोग गर्दै हुनुहुन्छ ।’

नेताजीले भन्नुभयो, ‘घाम र पानी छेक्ने त छाता खुलेपछि गर्ने काम हो । छाता बन्द भएको बेला पनि त कुनै काम हुनुप¥यो नि । बन्द छाताबाट लाठीको काम लिन सकिन्छ । पहिले पहिले मधेसमा जुलुस जाँदा हाम्रा युवाहरू लाठी लिएर जाने गर्थे । तर लाठी बोकेकाले हामीलाई अनेक आरोप आउन थाल्यो । कोही हिंस्रक भन्न थाले, कोही लठैत भन्न थाले त कोही अशान्ति फैलाउने र हिंसा फैलाउन आएका भनेर पनि आरोप लगाउन थाले । त्यसैले अब हामी जुलुस जाँदा लाठीको सट्टा छाता नै लिएर जाने छौँ ।’

‘मतलब...चुनाव प्रचार गर्न ?’ मैले अझ स्पष्ट हुन खोजेँ ।

तर नेताजीले त्योभन्दा नि स्पष्ट गर्नुभयो, ‘अब यसको त बहुअर्थ छ नि हेर्नोस् । कसैले छाता किन बोकेको भन्दा चुनाव प्रचार गरेको भन्न मिल्यो । प्रहरीसँग मुठभेड भएमा त्यसैले लाठी जस्तो प्रहार गर्न पनि मिल्यो । जुलुसमा जाँदाजाँदै पानी प¥यो भने ओड्न मिल्यो, घाम लाग्यो भने खोलेर छेक्न पनि मिल्यो । यो त बहुआयामिक छ । त्यसैले हामी छातालाई छोड्न सक्दैनौं । बरु चुनावै छोडिदिन्छौं छाता छोड्दैनौं । हामी लड्ने थोडै चुनावमात्र हो र ? हामी त धेरै ठाउँमा लड्नुपर्छ हेर्नोस् । त्यो सबै ठाउँमा लड्न छाता जति राम्रो चिह्न अर्को के होला र ?’

नेताजीले गर्नुभएको छाता महात्म्य सुनेर म पूरै तृप्त भएँ । नभएर के गर्नु । छाताबारे यति धेरै सुनिसकेपछि तृप्त हुनुबाहेक त्यहाँ अर्को विकल्प पनि थिएन नि ।   

       

प्रकाशित: १७ वैशाख २०७४ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App