coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ग्रानाडा रेलिगेसनमा

मड्रिड – रियाल सोसिडाडसँग शनिबार २–१ ले पराजित भएपछि ग्रानाडाको लगातार ६ सिजनसम्मको स्पेनिस ला लिगा यात्रा समाप्त भएको छ । 

लिगमा तीन खेल बाँकी रहँदा अन्तरिम प्रशिक्षक टोनी एडमको टोली रेलिगेसनमाथिको टोलीभन्दा १० अंकले पछि परेपछि रेलिगेसनमा पर्ने पक्का भएको हो । ग्रानाडाका एड्रियान रामोसले प्रशिक्षक एडमको नेतृत्वमा पहिलो गोल गरे पनि ग्रानाडालाई रेलिगेसनबाट जोगाउन सकेन । पछिल्लो ६ वर्ष घरेलु फुटबलमा उच्च स्तरको लिग खेले पनि ग्रानाडाले पछिल्लो समय खराब नतिजालाई भने रोक्न सकेको थिएन । 

खराब नतिजाका कारण आर्सनलका पूर्वरक्षक टोनीले ग्रानाडाका प्रशिक्षक लुकाज अल्भारिजलाई प्रतिस्थापन गरेका थिए । ग्रानाडा पछिल्ला तीन खेलमा पराजित भएको थियो । मध्यान्तर हुन केही मिनेट बाँकी रहेका बेला कार्लोज भिलाले गोल गर्दै घरेलु टोली सोडिडाडलाई अग्रता दिलाएका थिए । 

डिमित्री फाल्कक्विरिजको पासमा रामोसले गोल गरेपछि रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको ग्रानाडामा केही उत्साह देखिएको थियो । तर, त्यो उत्साहले निरन्तरता भने पाउन सकेन । ८४औं मिनेटमा जुअन्मीले गोल गर्दै सोसिडाडको युरोपा लिगको आशा जीवित राख्दा ग्रानाडा भने रेलिगेसनमा पर्याे ।

जितपछि सोसिडाड लिग अंकतालिकाको छैटाैँ स्थानमा छ । घरेलु मैदानमा मालागासँग २–० ले पराजित भएपछि ग्रानाडा करिब रेलिगेसन नजिक पुगेको थियो । 

यसै गरी सेडरिक बाकाम्बुले दुई गोल गरेपछि अर्को खेलमा भिल्लारियालले स्र्पोटिङ गिजोनलाई घरेलु मैदानमा ३–१ ले हराएको छ । भिल्लारियालका लागि रोबर्टाे सोल्डाडोले ३३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सेडरिकले ४७आैँ र ५९आैँ मिनेटमा गोल गरे । स्र्पोटिङका लागि डुगलाजले ७३औ मिनेटमा सान्त्वना गोल फर्काए । 

 

प्रकाशित: १७ वैशाख २०७४ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App