८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारलाई एमालेका तीन सर्त

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेमा सरकारले तीन सर्त पूरा गरे बजेटअघि गर्नेगरी स्थानीय तहको चुनाव मिति सार्न सकिने निष्कर्ष निकालेको छ । स्थायी कमिटीको शनिबारको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमालेका एक नेताले भने, ‘सहमतिको वातावरण बन्छ भने वैशाख ३१ को मिति एक–दुई साता पर सार्न सकिन्छ तर त्यसका लागि हामीले तीन सर्त राखेका छौं ।’ 

उनका अनुसार एमालेले चुनाव मिति केही दिन सार्न सरकारले संविधान संशोधन फिर्ता लिनुपर्ने, बजेटअघि तर एकै चरणमा चुनाव गराउनुपर्ने र मधेसी मोर्चा पनि चुनावमा आउने ग्यारेन्टी हुनुपर्ने सर्त अघि सारेको छ । 

फागुनमा वैशाख ३१ गते एकै चरणमा मुलुकभर स्थानीय चुनाव गर्ने घोषणा गरेको सरकारले आन्दोलनरत मधेसी मोर्चालाई पनि सहभागी गराउन भन्दै एक साताअघि दुई चरणमा गर्ने निर्णय गरेको छ । सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ गते गर्ने निर्णय गरेपछि एमालेले दुई चरणको विरोध गर्दै आएको छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । बजेटपछि चुनाव गर्दा मतदाता प्रभावित हुने र पहिलो तथा दोस्रो चरणको अन्तर पनि लामो भएकाले एकै चरणमा बजेटअघि चुनाव गराउनुपर्ने माग राखेको छ ।

एमाले स्थायी कमिटीमा तीन सर्तमा चुनाव केही दिन सार्न सकिने विषयमा छलफल भए पनि बैठकपछि जारी विज्ञप्तिमा भने सरकारले चुनावलाई अन्योल र अनिश्चिततातिर धकेल्ने षडुयन्त्र गरेको आरोप लगाइएको छ । 

‘स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्योल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट भएका षड्यन्त्रलाई असफल पार्दै घोषित मित २०७४ वैशाख ३१ मा नै चुनाव सम्पन्न गर्न एमाले प्रतिबद्ध छ, यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं’, एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  

एमालेले संविधान संशोधन प्रस्ताव पारित गर्न नदिन संसद अवरुद्ध गर्नुपर्ने अवस्था आए पनि पछि नहट्ने जनाएको छ । विज्ञिप्तमा संशोधन पारित हुन नदिन सबै प्रकारका प्रयत्न गर्ने जनाइएको छ । 

प्रकाशित: १७ वैशाख २०७४ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App