८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच वर्षमा दश अर्बको चिया निर्यात

काठमाडौं— अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने कृषि क्षेत्रमा आशा जगाएको छ। चिया उत्पादन वृद्धि हुँदै गएपछि हरेक वर्ष चिया निर्यात बढ्दै गएको हो।

पछिल्लो पाँच वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँको चिया विदेश निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। पाँच वर्षको अवधिमा निर्यात पनि ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०६७/६८ मा एक अर्ब ५४ करोड रुपैयाँको चिया निर्यात भएकोमा आव ०७२/७३ मा दुई अर्ब ४० करोड रुपैयाँको निर्यात भएको छ। मुलुक चियामा आत्मनिर्भर छ।

नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रंतिशत र अर्थोडक्स चिया ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ।

बोर्डले शनिबार ‘नेपालको अर्थतन्त्रमा योगदान गर्नका लागि चिया, निर्यात उद्योग रक्षा र विकास गरौं’ भन्ने नारासहित २०औं राष्ट्रिय चिया दिवस मनाएको छ।

चियाबाट आम्दानी भएपछि खेती लगाउने क्षेत्रफल पनि वृद्धि हुँदै गएको छ । आव ०६७/६८ मा १७ हजार चार सय ५१ हेक्टर क्षेत्रफलमा खेती भएकोमा करिब पाँच वर्षको अन्तरमा थप १० हजार हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ । आव ०७२/७३ मा २७ हजार ६ सय ८८ हेक्टरमा चिया खेती भइरहेको छ।

चिया खेतीको क्षेत्रफल बढेसँगै उत्पादन बढेर निर्यात पनि वृद्धि भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । ‘चिया र कफी विदेश निर्यात गरेर हामीले राम्रो आम्दानी गर्न सक्र्छौं,’ गौतमले भने, ‘अहिले वार्षिक साढे दुई अर्बको चिया निर्यात भएको छ ।’

गत आवमा दुई करोड ४२ लाख ६३ हजार किलो चिया उत्पादन भएको थियो। पाँच वर्षको अवधिमा ५९ लाख किलो चिया उत्पादन बढेको छ । आव ०६८÷६९ मा एक करोड ८३ लाख किलो चिया उत्पादन भएको थियो।

नेपालको चिया अन्तर्राष्ट्रिय बजारमा माग उच्च रहेकाले किसान चिया खेतीमा आकर्षित छन् । अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रंतिशत र अर्थोडक्स चिया ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ। पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापा लगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ । झापामा ११ हजार पाँच सय २३ हेक्टरमा, इलाममा सात हजार आठ सय पाँच, पाँचथरमा एक हजार एक सय ३८, धनकुटामा नौ सय ४०, तेह्रथुममा तीन सय ३७ र अन्य जिल्लामा चार हजार पाँच सय २२ हेक्टरमा चियाखेती लगाइएको छ।

पछिल्लो समयमा मध्यमाञ्चल र पश्चिमाञ्चलका जिल्लामा उत्साहजनक रुपमा चिया खेती विस्तार भएको बोर्डले जनाएको छ। त्यस्तै दोलखा, रामेछाप, सिन्धुपलाञ्चोक, ललितपुर, कास्की, लमजुङ लगायत पहाडी जिल्लामा विस्तार भएको बोर्डले जनाएको छ।

यहाँको चियाले अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्दै गएको छ। अहिलेसम्म नेपाली चिया नपुगेका मुलुकबाट समेत यहाँको चिया माग हुन थालेपछि किसानले उत्पादन बढाउँदै लगेका छन्।  सिटिसी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारतसहित अमेरिका, फ्रान्स, जर्मन लगायत मुलुकमा निर्यात हुन्छ। सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडेक्स चिया नेपाली उद्योगीमार्फत विदेश निर्यात हुन्छ । पहाडी क्षेत्रमा अर्थोडक्स चिया हुन्छ । नेपालीले दूध हालेर चिया खाने प्रचलन रहेको सिटिसी चिया उपभोग गर्छन्।

उत्पादन राम्रो भएको भए पनि अपेक्षित रुपमा बजार प्राप्त गर्न सकेको छैन । सिटिसी चिया भारतीय बजारमा जाने भएकाले दार्जलिङका व्यापारीले दुःख दिने गरेका छन्।

चियाको सार्वजनिक खरिद–बिक्री हुने स्थान ‘अक्सन’ स्थापना नहुँदा स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय बजारमा किनबेचमा अझै कठिनाइ रहेको सरोकारवाला बताउँछन्। अक्सन मार्केट स्थापना गर्नुपर्ने व्यवसायीको माग छ। नेपाली चियाको ठूलो परिणाम भारत हुँदै विदेशी बजारमा जाने गरे पनि ‘अक्सन’ अभाव भएको हो । बेलायतबाट सुरु भएको यो ‘अक्सन’ विधि भारतले सन् १९८० देखि नै प्रयोगमा ल्याए पनि नेपालमा अझै सञ्चालनमा आउन सकेको छैन।

अक्सन नहुँदा चियाले बजार पाउन कठिनाइ भएको कञ्चनजंगा टी–स्टेटका अध्यक्ष दिपक बाँस्कोटाले बताए। ‘अक्सन स्थापना गरे चिया निर्यात अझै बढ्छ,’ उनले भने, ‘सरकारले नीति बनाएर चिया प्रवद्र्धन गर्नुपर्छ।’ उनले चियाको बिमा हुनुपर्ने बताए।

चिया निर्यातमा भारतीयले विभिन्न समयमा दुःख दिने गरेको व्यवसायीले गुनासो गर्छन्। यहाँको चियाले दार्जलिङको चियालाई विस्थापित गर्ने डरले विभिन्न बहाना बनाएर दुःख दिने गरेका हुन्। तेस्रो मुलुकमा निर्यात गर्दा भन्सार अधिकारीले बैंक ग्यारेन्टी खोज्ने, कोलकातामा रहेको अक्सनमा नेपाली चिया राख्न नदिने, प्रत्येक व्यापारीले निर्यात गर्दा ल्याब टेस्ट गर्न लगाउने, नियमविपरित अतिरिक्त रकम माग्ने गरेको बताउँछन्।

चिया उद्योगले करिब ६० हजार श्रमिकलाई रोजगारी दिएको छ। चिया रोपेको तीन वर्षमा नै उत्पादन दिन्छ । करिब हजार मिटर तलको उचाइमा चियाखेती हुँदै आएको छ । बोर्डका अनुसार अहिले १८ हजार किसानले चियाखेती गरिरहेको छन्।

प्रकाशित: १७ वैशाख २०७४ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App