coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्वार्ता

‘म डराएको छैन, प्रस्तावको सामना गर्छु’

संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीशबाट निलम्बित भएकी सुशीला कार्कीस“ग नागरिककी भाषा शर्माले गरेको कुराकानी:

तपाईंमाथि लागेको महाभियोगलाई कसरी लिनुभएको छ ?

मलाई त केही ‘फिल’ नै भएको छैन । ममाथि महाभियोग लाग्दैछ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) बिडारीले मलाई पटकपटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ,  एकपटक भेट्नुप¥यो भनिरहनुभएको थियो । तर, मैलै भेट्न मानिनँ । बिडारीलाई मैले ‘महाभियोग लगाउनुहोस्’ भनेकी थिएँ । आनन्दमोहन (भट्टराई¬) लाई गरेजस्तै मलाई पनि गरेका हुन् ।

प्रधानमन्त्रीले आजै बिहान पनि दूत बनाएर वर्षमान पुनलाई मेरो निवासमा पठाउनुभएको रहेछ तर मैले भेटिनँ । मेरो श्रीमान्सँग भेटेर उहाँ फर्किनुभयो । उहाँहरुले मलाई जे आरोप लगाएर महाभियोग दर्ता गर्नुभएको छ त्यो त उहाँहरुले पुष्टि गर्नुपर्छ । तर, मैले न्यायप्रतिको निष्ठा र इमान्दारीमा कहिल्यै सम्झौता गरेकी छैन । त्यसैले म यसबाट डराएकी छैन । म यो प्रस्तावको सामना गर्छु ।

भनेपछि महाभियोग लाग्ने कुराको संकेत पाउनुभएको थियो ?

तीनचार दिनअघि देखि नै थाहा थियो । प्रचण्डजीका दूत आएका थिए । उनीहरुले जे भन्यो त्यही गरिदिनुपर्ने ? त्यस्तो पनि न्यायालय हुन्छ ? मैले धेरै मुद्दामा दबाब सहिनँ । भ्रष्टाचारका मुद्दामा त्यत्तिकै दबाब आएका थिए । महान्यायाधिवक्ताले सारा सरकारी वकिललाई चुनावमा पठाएर बहसमा नआउने बनाए। सरकारी वकिलको पनि भूमिका छ नि । महान्यायाधिवक्ता सरकारको सल्लाहकार हो । उनी सबैजसो भ्रष्टाचारका ठूल्ठूला मुद्दामा विपक्षको तर्फबाट वकिल छन् । आजै सर्वोच्चबाट फैसला भएको सुडान घोटाला काण्डमा पनि उनी विपक्षीको तर्फबाट वकिल छन् ।

तपाईंमाथि कार्यकारीको अधिकारमाथि हस्तक्षेप गरेको आरोप छ नि ?

तपाईंहरुले पनि मूल्यांकन गर्नुस् । भ्रष्टाचारका मुद्दा हेर्नुस् । मैले कति फस्र्योट गरिसकें । तपाईंहरु मैले गरेको कामको मूल्यांकन गर्नुस् । मैले राम्रो काम गरेकी छु कि छैन । मैले भन्ने कुरा होइन । मैले जे देखें त्यही गरें ।

अब कसरी अघि बढ्नुहुन्छ ?

ममाथि महाभियोग लगाएपछि अब उनीहरुले के गर्दै जान्छन्, हेरौं । अब अघि बढाउने उनीहरुले नै हो, मैले त केही गर्नु नै पर्दैन । अब मैले के गर्नु ! जेजे गर्छन उनीहरुले नै गर्लान् नि ।

तपाईंलाई कुनै राजनीतिक दबाब आएको थियो ?

त्यो त कति कति ! एकदमै राजनीतिक दबाब आउँथ्यो । अहिलेको राजनीतिक वातावरणमा दसथरी सत्तामा जाने अनि सत्ताधारीले बातबातमा कुरा फेर्छन् । उनीहरुलाई मन नपरे सरकारी कर्मचारीलाई पनि निकाल्छन् । अनि अदालतले चाहिं उनीहरुले गरेको काम सबै राम्रो भनिदिनुपर्ने, उनीहरुको समर्थन गरिदिनुपर्ने । यस्तो पनि न्यायालय हुन्छ ?

भनेपछि राजनीतिक दबाब निकै आयो ?

उहाँहरुले भनेजस्तो हत्याहिंसाका मुद्दामा पनि कसैलाई दोषी देखाउनै नहुने अवस्था आयो । सबैलाई सफाइ दिनुपर्ने रे । थर्काएर मात्र होइन, फकाएर पनि दबाब नै आयो । जस्तो कि तपाईं महान् व्यक्तित्व हुनुहुन्छ, तपाईंले गरेपछि सबै काम हुन्छ भन्नु पनि दबाब हो । कुनै प्रधान न्यायाधीशले राजनीतिक दलले रुलिङ गरेको कामलाई सदर गर्छ भने त्यो प्रधान न्यायाधीश नै हुन सक्दैन । निष्पक्ष निर्णय लिएकै कारण प्रधानमन्त्रीसँग झगडा हुने गर्छ । मैले नटेरेकै हो । नटेरेकै कारण महाभियोग लगाइएको हो। स्वतन्त्र न्यायापालिका हो । उनीहरुले दबाब दिए भन्दैमा मैले कानुनविपरीत काम गर्न मिल्छ र ! प्रचण्डजीले महाभियोगको दबाब दिएर मलाई भेट्नुस् भनेका थिए । मैले राजनीतिक दलका नेतालाई भेट्दिनँ, मलाई भेट्ने समय पनि छैन भनिदिएँ ।

न्यायालयलाई पनि यति दबाब आउँदो रैछ ?

कुरै छोड्नुस् । दबाब, प्रभाव, सबै कुरा न्यायालयमाथि छ । कतिपय न्यायाधीशलाई उचालेर मेरै विरुद्धमा पनि लगाइएको छ । महाभियोग लगाएर मैले गरेको काममा केही बाधा पुग्दैन ।

प्रकाशित: १८ वैशाख २०७४ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App