coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

'टिनएज प्रेगनेन्सी'का असर

डा. सुमन राज ताम्राकार

राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांक अनुसार धेरै नेपालीको बिहे २० देखि २४ वर्षमा भएको पाइए पनि महिला र पुरुषको बिहे हुने उमेरमा भने भिन्नता पाइयो। १९ वर्ष सम्मको समूहमा बालिका वा किशोरीको धेरै र बालक वा किशोरको कम बिहे देखाएको छ भने २० वर्षदेखि माथिको उमेर समूहमा पुरुषको धेरै बिहे देखाएको छ। १५ देखि १९ वर्ष समूहमा करिब २१ लाख ७६ हजार ७ सय ८४ जना पुरुष र ४३ लाख ४० हजार ४ सय ९७ महिलाले बिहे गरेका छन्। उमेरगत हिसाबले सबैभन्दा धेरै नेपाली महिलाले यही उमेरमा बिहे गरेको देखिन्छ।

तर, कहालीलाग्दो तथ्यांक त १ लाख १५ हजार बालिकाले १० वर्ष अगाडि र १० वर्षदेखि १४ वर्ष उमेर समूहमा ११ लाख १ हजार ८ सय ८५ किशोरीले बिहे गरेको देखिन्छ। यी उमेर समूहका बालक वा किशोरको दाजोमा ५ गुणा बढी बालिका वा किशोरीले बिहे गरेको पाइयो। यसले हाम्रो समाजमा अझै छोरा र छोरी बीचको विभेद देखिन्छ।

प्राकृतिक नियम अनुसार बिहे भएको दुई वर्ष भित्रमा करिब ८० प्रतिशत दम्पत्तिले बच्चा पाउने गरेको छ। अस्पताल वा स्वास्थ्य संस्थामै आई सुत्केरी गर्नेको संख्यामा कमी तथा घरमै सुत्केरी भएकाको सही तथ्यांक नआए पनि पछिल्लो जनगणनाका तथ्यांक केलाउँदा नेपालमा पनि 'टिनएज प्रेगनेन्सी'को संख्या मनग्गे छ भन्ने कुरामा दुई मत छैन। स्वास्थ्यका दृष्टिले २० वर्षको उमेरपछि मात्र बच्चा पाउनु राम्रो हुन्छ। युवावस्थामै वा उमेर नपुगिकनै (प्रायः १३ देखि १९ वर्षभित्र) गर्भवती हुनुलाई अंग्रेजीमा टिनएज प्रेगनेन्सी अर्थात् वैंशैमा गर्भाधारण गर्नु भनिन्छ। कानुनी रूपमा वयस्क नभइकनै गर्भधारण गर्नुलाई पनि टिनएज प्रेगनेन्सी मानिन्छ।

विश्वमा हेर्ने हो भने नाइजर तथा नाइजेरियाजस्ता अफ्रिकी मुलुकमा १४३ प्रति हजार टिनएज प्रेगनेन्सी (वैंशैमा गर्भाधारण)को समस्या छ। पश्चिमी युरोपेली राष्ट्रमा २० देखि ३० प्रति हजारको हाराहारीमा रहेको यो समस्या भारत, अमेरिका, इण्डोनेसियामा ५०–६० प्रतिहजार छ। दक्षिण कोरियामा यो समस्या सबैभन्दा कम अर्थात् केवल ३ प्रति हजार छ।

विश्वमा बर्सेनि करिब १ करोड ३० लाख बच्चाको जन्म टिनएजर आमाबाट हुन्छ। यसमध्ये ९० प्रतिशत भन्दा बढीजसो घटना विकासोन्मुख देशमा हुने गरेको छ। सहरी तथा दुर्गम भेगबीच व्यापक भिन्नता छ। टिनएज प्रेगनेन्सी र गर्भपात गराउनुसँग अन्योन्यासि्रत सम्बन्ध छ। अनपेक्षित रूपमा अमेरिकामा पनि टिनएज प्रेगनेन्सीका कारण गर्भ तुहाउनेको संख्या मनग्गे छ।

सन् २००६ मा गरिएको जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणमा उल्लेख गरिए अनुसार कलिलै उमेरमा गर्भवती हुनु तथा आमा बन्नु नेपालको प्रमुख सामाजिक तथा स्वास्थ्य समस्या हो। सर्वेक्षण अनुसार १५ देखि १९ वर्ष उमेर समूहका करिब १९ प्रतिशतले बच्चा पाइसकेका वा गर्भ बोकिरहेको पाइयो। सहरी क्षेत्रमा यो समस्या अलि कम देखिए पनि गाउँसँग त्यति धेरै फरक भने रहेनछ। निरक्षर केटीमा गर्भवती बन्ने सम्भावना तीन गुणाले बढी पाइएको र एसएलसी (अहिलेको एसइई) तथा उच्च तह अध्ययन गरेका युवतीमा निकै कम पाइएकाले नेपालमा पनि साक्षरता र वैंशैमा गर्भाधारण हुने समस्याबीच गहिरो सम्बन्ध रहेको प्रमाणित हुन्छ।

न्यून साक्षरता, उच्च गरिबी, उमेर नपुगेका आमाबाट पाएका बच्चाको दयनीय स्थितिसँग टिनएज प्रेगनेन्सीको प्रत्यक्ष सम्बन्ध छ। बाल्यावस्थामा यौन दुर्व्यवहारबाट प्रताडित बालिका नै कालान्तरमा गएर यौन कार्य चाँडै स्थापित गर्ने, आफू भन्दा धेरै वयस्क पार्टनर छान्ने, जोखिमपूर्ण यौन कार्यमा संलग्न हुने, धेरै जनासँग र धेरै पटक यौन सम्बन्ध स्थापित गर्ने गर्छन्।

टिनएज प्रेगनेन्सीका घटनाबाट घरेलु हिंसालाई पनि प्रश्रय पाइरहेको छ। बाल्यावस्थामा घरेलु हिंसा, पारिवारिक बेमेल, अनेक खाले दुर्व्यवहार भोगेका बालिका सानै उमेरमा आमा बन्ने सम्भावना बढी हुन्छ।

असर

विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा आमाको मृत्यु हुने सम्भावना दोब्बर हुन्छ। यससँग सम्बन्धित गर्भपात गैरकानुनी छ भने मृत्यु हुने दर अझ बढ्छ। यस्ता खाले गर्भको जटिलताका कारण विकासोन्मुख देशमा मात्र बर्सेनि ७० हजार युवतीको अकालमा मृत्यु भइरहेको छ। अपर्याप्त मात्रामा, ढिलो गरी, समस्या उत्पन्न भएपछि मात्र गर्भजाँचका लागि आउने हुनाले गुणस्तरीय मातृ सेवा पुग्दैन। पुठ्ठाको हड्डी अविकसित हुने, प्रसव व्यथा कष्टपूर्ण हुन सक्ने कारणले सिजेरियन अपरेसनको सम्भावना बढी हुन्छ। यसले गर्दा कम्पन छुट्ने तथा पिसावको समस्या र शिशु तथा मातृ मृत्युदर पनि बढ्छ।

टिनएजर आमाले उनका बच्चालाई स्पर्श, मुस्कान, तोतेबोलीका माध्यमबाट संवेगात्मक विकासमा जोड दिन सक्दैन। र, बच्चाप्रतिको दायित्व, संवेदनशीलता, अपनत्व देखाउन सक्दैन। बच्चाप्रति बढ्ता रिस पोख्ने, पिट्ने, सताउने, दुःख दिने गर्छन्। यसले कालान्तरमा शिशुको मानसिक तथा सामाजिक विकास र वृद्धि विकासमा नकारात्मक असर पुग्छ।

प्रकाशित: १९ वैशाख २०७४ ०४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App