८ वैशाख २०८१ शनिबार
अन्य

राजेन्द्रका कथाको राज

'छोटो कथा एउटा सानो आँखीझ्याल हो, जहाँबाट संसार चिहाउन सकिन्छ' –महाकवि लक्ष्मीप्रसाद देवकोटा।

साहित्यकार एवं नागरिक सहकर्मी राजेन्द्र पराजुलीको पछिल्लो कृति 'शुक्रराज शास्त्रीको चस्मा' कथा–संग्रहले झल्झली देवकोटाका तिनै अमर अभिव्यक्ति मानसपटलमा आइरहेका छन्। एउटा सानो परिघटना समाजका व्यापक व्यवहार र आयाम बुझ्न सहायक हुन्छ। पराजुलीका २० थान कथा हामीले भोगेको पछिल्लो सामाजिक–राजनीतिको 'सोकेस' रहेको अनुभव हुन्छ।

पत्रकारितामा दैनिक हजारौँहजार शब्द पढिन्छ। कतिपय त यस्ता घटना हुन्छन् जो पढ्दै जाँदा बिर्सिइन पनि सकिन्छ। कतिपय पढिसकेका समाचार वा घटनाबाटै पनि एउटा भिन्न दृष्टिकोण प्रस्तुत गर्न सकिन्छ। ती घटनालाई अक्षर र एउटा संरचनाको माध्यमबाट कुचिकारले पेन्टिङ प्रस्तुत गरेजस्तै अनुभूति पनि यी कथा पढ्दै गर्दा भएको छ।

'शुक्रराज शास्त्रीको चस्मा'मा आँखा दौडिन थालेपछि 'शारदामैँको 'झी'मा पुगुञ्जेलमा आफ्नै मनका धेरै घाउमा खाटा बसेको अनुभूति अवस्यै हुन्छ। पुस्तक पढ्न थालेपछि बिसाउन मन लाग्दैन। सायद आफ्नै समकालीन समयलाई साहित्यको माध्यमबाट पुनरवलोकन गर्ने अवसर पाएका कारण पनि यस्तो अनुभूति भएको हुन सक्छ। लेखनी आफैमा बेजोड छ।

पहिलो कथादेखि अन्तिम कथासम्म जहाँसुकै उनी राजनीतिक विषयवस्तुले तानिएको महुसस गर्न सकिन्छ। अझ भन्न मनलाग्छ– उनको विशेषता नै राजनीतिलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्नु हो। झन् त्यसमा उनको व्यंग्य चेतनाले भरिएको प्रस्तुतिले सुनमा सुगन्ध थप्छ।

राजेन्द्रका कथा मुलुकले भोगेको 'दीर्घकालीन जनयुद्ध' समाप्तिपछि निकट विगत अर्थात् भारतीय नाकाबन्दी, तराई–मधेस आन्दोलनसम्मको हो। तर, केही कथाले २०४६ सालको जनआन्दोलनका बेलालाई समेत प्रतिनिधित्व गरेका छन्। यी सबै राजनीतिक घटनाक्रममा सबैलाई महसुस भएकै विषय हो– सहिद, संघर्ष र बलिदानको अवमूल्यन भएको छ। 'हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए' भन्ने बलिदानका उदात्त भावना अभिव्यक्त गर्ने हाम्रो समाज र परम्परा स्खलित हुँदै १० लाखे सहिदसम्म आइपुगेको छ।

कतिपय अवस्थामा गोरुचोरहरूलाई समेत सहिदको कोटामा राखेर बलिदानकै अवमूल्यन गर्न दलाल समूह क्रियाशील भएको देखिन्छ। र, हामी हजारौँ सहिदको मुलुक भएका छौँ यतिबेला। 'शुक्रराज शास्त्रीको चस्मा' पढिसकेपछि एकपटक हाम्रो मनमस्तिष्क हल्लिन्छ। कथाको अन्त्यमा पुगेपछि एउटा गहिरो शून्यताले हाम्रो मनमा घर गर्छ। मुलुकका निम्ति बलिदान गर्नेभन्दा पनि दलहरूले जसलाई पाए पनि झण्डा ओढाउने प्रवृत्तिले हामीलाई नराम्ररी गाँजेको छ। त्यो प्रवृत्तिविरुद्धको यो सशक्त कथा हो शीर्षकथा शुक्रराज शास्त्रीको चस्मा।

पञ्चायतको अन्त्य, २०४६ सालको परिवर्तन र त्यसपछि संघीय गणतन्त्रसम्मको 'छलाङ' मुलुकले लगाएको छ। 'मेटामोर्फोसिस' कथा गाउँको प्रधानपञ्चको छोरामाथि लेखिएको शिल्पका हिसाबले पनि उत्कृष्ट रचना लाग्छ। विज्ञान पढाउने शिक्षकले अन्डा, लार्भा, प्युपा र पुतलीसम्मको जीवन चक्र नबुझ्ने पात्रको जीवन आन्दोलनको रमिते हुने क्रममा अन्त्य हुन्छ। अनि विज्ञानका यी बिम्बलाई ल्याएर यहाँनिर जोड्ने उनको कौसलले कायल बनाउँछ।

'गुलाफी सुट'ले गाउँका क्रान्तिकारी कामरेडहरूको जीवनमा आएको आमूल परिवर्तनलाई सटिक चित्रण गरेको छ। उद्देश्य प्राप्तिको चरण र प्राप्तिपछिको चरणमा उनीहरूले देखाएको दोहोरो चरित्रलाई यो कथाले जीवन्त चित्रण गरेको छ। तराई–मधेस आन्दोलन चलिरहेका समयमा गर्भमा रहेको भ्रुणले आमासँग गरेको संवाद 'माई, म अहिले जन्मन चाहन्नँ!'ले पाठकको दिमागलाई रन्थनाइदिन्छ। चाहे 'जनआन्दोलन' होस् वा तराई–मधेस आन्दोलन सीमान्त मानिसहरू सत्ता र नेतृत्वमा पुग्ने भर्‍याङमात्र बन्छन् भन्ने यथार्थको तस्बिर बनेको छ यो कथा।

पत्रकारितामा क्रियाशील रहेकै कारण पराजुलीका कथामा यस क्षेत्रका पात्रहरूको उपस्थिति बाक्लै देखिन्छ। त्यसमा कसैको 'भर्‍याङ' बनेको एउटा सम्पादकमा पछि मात्र त्यस्तो नबन्ने चेत पलाउँछ। 'प्रेम :  मुर्दाबाद' मा पात्रले अन्त्यमा लिएको बदलापूर्ण तुष्टिले मानवीय स्वाभावलाई राम्रैसँग प्रतिबिम्बित गरेको छ।

मुलुकमा अकल्पनीय राजनीतिक परिवर्तन भएका छन्। यति छिटै यो मुलुकमा गणतन्त्र स्थापना होला भन्ने स्वयं राजनीतिकर्मीहरूलाई पनि विश्वास थिएन। भैँसी चराउँदाचराउँदै, घाँस काट्दाकाट्दैका मानिसहरू सत्ता शिखरमा पुगेर तलको कहालीलाग्दो जमिनलाई अवलोकन गरिरहेका छन्। तिनलाई यत्रो ठूलो परिवर्तनमा आइपुगेपछि विगतलाई सम्झँदासमेत कहाली लाग्दो हो।

यस्तै एउटा पात्रको चित्रण गर्ने कथा हो– 'युद्ध अझै जारी छ'। एकाएक राष्ट्रपति भइसकेपछि पनि उसले भाषण गर्न छाडेको छैन– 'युद्ध अझै जारी छ।' मानिसहरू अवाक छन्– अब केका लागि युद्ध अझै जारी छ? प्रश्न उठिरहेको छ, तर त्यसको उत्तर आइरहेको छैन।

उसको भाषण सुनिरहेका सर्वसाधारणको आँखामा उभिएका प्रश्नलाई उनले कथा टुंग्याउन प्रस्तुत गरेका छन्। ती प्रश्नहरू पढ्दै गर्दा कुनै कविता पंक्ति पढेको अनुभूति हुन्छ–

'अब कसका विरुद्ध लड्ने हो युद्ध बेखालाल?

अब हाम्रो दुष्मन को हो?

कहाँ लुकेको छ त्यो दुष्मन?

कहिले अन्त्य हुन्छ युद्ध बेखालाल?

तिनका आँखाका प्रश्नले शब्दको रूप लिन भने बाँकी नै थियो (पृष्ठ १६३)।'

पछिल्लो समय प्रविधिले पनि साथ दिएको समय हो। फेसबुक हाम्रो जीवनको अभिन्न अंग भएको छ। कथाकारका पात्रहरू पनि यसलाई भरपुर उपयोग गर्छन्। कहिले ती फेसबुकमै रहेर 'फ्रेन्ड रिक्वेस्ट' स्वीकार गरेको प्रतीक्षा गरिरहेका हुन्छन् (एकालाप, पृष्ठ १०७)।

पराजुलीका कथामा पात्रहरूको मनोदशालाई राम्ररी चित्रण गरिएको छ। 'गोस्ट राइटर' एउटा यस्तै कथा हो, जसले विगत उधारेर पुस्तक लेखिदिन चाहनेको इच्छा पूरा गर्नबाट स्वामी प्रेमराज वञ्चित हुन्छन्। गोस्ट राइटरको अहिले समाजमा चर्चा हुन थालेको छ। तिनीहरू कथा लेख्न नसक्नेका कथा लेखेर रातारात नाम–दाम दुवै कमाइदिने माध्यम बन्न थालेका छन्। यो परिप्रेक्षमा गरिएको प्रेमराज पात्रको कल्पनाले वास्तवमै जीवनमा सबै कथा लेख्न नसकिने यथार्थलाई उजागर गर्छ।

सबै कथा पढिसकेपछि यसमा प्रयुक्त पात्र, तिनका संवाद, तिनको सोच्ने शैली र तिनका भोगाइसँग पाठकले पनि निकटता राख्न सक्छन्। वास्तवमा यी हाम्रो समयका कथाहरू हुन्। प्रत्येक कथाको अन्त्य यस्तो ठाउँमा पुगेर जहाँ पाठकले केही छिन विश्राम लिएर ती पात्रको मनोदशा, घटना र भविश्यका बारेमा सोच्न बाध्य पनि पार्छन्।

कथाहरू लेख्दा धेरै पंक्तिमा कविताको लालित्य पाइन्छ। ती पंक्तिलाई दोहोर्‍याएर हेर्न मन लाग्छ। कारण त्यहाँ एक किसिमको लय अनुभव हुन्छ।

उनका कथामा रहेको व्यंग्य चेत अर्को उल्लेख्य पक्ष हो। प्रेममा आएका असजिला अवस्था, राजनीतिमा रहेका विकृतिपूर्ण व्यवहार र सामाजिक विषमतालाई व्यंग्यजस्तो नलेख्दानलेख्दै पनि त्यहाँ व्यंग्यको भरपूर प्रयोग भएको अनुभव हुन्छ। उनको त्यही सीपले 'नारा' कथा पढ्दै गर्दा पटक–पटक ओठमा मुस्कान ल्याउँछ।

केही रमाइला बान्कीयुक्त पंक्तिहरू–

–'त्यो हँसियाले अहिले नै घाँस काट्ला वा त्यो घनले यत्ति नै खेर ढुंगा फुटाउलाजस्तो देखिन्थ्यो (गुलाफी सुट, पृष्ठ १६)।'

–'मेरो जिन्दगीमा 'भुइँचालो' त नौ वर्षअघि नै आएको थियो। पाँच वर्षपछि आएको पराकम्पन (पराकम्पन, पृष्ठ ८१)।'

–सधैँ जित्नेको मात्र इतिहास लेखिँदैन, कहिलेकाहीँ हार्नेका पनि सुनौलो इतिहास लेखिएको हुन्छ (इतिहास, पृष्ठ, १२७)

–'मासिकरूपमा भेटीको हिसाब गर्ने हो भने एउटा चल्तीको पत्रिकाको सम्पादकको भन्दा पूजारीको तलब बढी हुन्थ्यो (शारदामैँको 'झी', पृष्ठ १६८)।'

'कसले फेर्‍यो हाम्रो महान नारामा पिसाब (पृष्ठ १३२)?' उनको 'नारा' कथाको पहिलो पंक्ति सुरु हुन्छ। यो कथा पढ्दै जाँदा अर्थ न वर्थका विषयमा हुने आन्दोलन, माग र घेराबन्दीबाट जानकार हामीलाई आफ्नै समयको पदचाप सुनेको अनुभूति हुन्छ।

गुरुप्रसाद मैनालीका कथालाई आफ्नो परिवेश सुहाउँदो भएकै कारण पाठकले औधी रुचाएका हुन्। साहित्य पुरानो हुँदैन। तर, समय अघि बढ्दै जाँदा तिनले त्यो समयको अभिलेख गरेको थाहा भने पाउन सकिन्छ। जसरी मैनालीका कथा पढ्दा तात्कालीन समयमा फर्केर अवलोकन गर्ने मौका मिलेको जस्तो लाग्छ, भोलि राजेन्द्रका यी कथाहरू अहिलेको हाम्रो समयलाई एकैछिन रोकेर हेर्ने साधन बन्ने निश्चित छ। यी यथार्थमै हाम्रो समयलाई अवलोकन गर्ने स–साना आँखीझ्याल हुन्।

कृतिः शुक्रराज शास्त्रीको चस्मा

विधा :  कथा

लेखकः राजेन्द्र पराजुली

प्रकाशकः सांग्रिला बुक्स

मूल्यः रु २५०/–

पृष्ठः १८०

प्रकाशित: १ श्रावण २०७३ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App