coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अरु उम्मेदवार घरदैलोमा, नारफूका प्रमुख करु रोप्न खेतबारीमा

लमजुङ – निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरु आ–आफ्नो उम्मेदवारी दर्तागरी भोट माग्न मतदाताको घरदैलोमा पुगिरहँदा मनाङको नारफू गाउँपालिकाका प्रमुख मिङ्मार छिरिङ गुरुङको चुनावी दौडधूप नै छैन । उनलाई न कुनै मतदाताको घरदैलोमा पुग्नु छ, नत आफ्नो चुनाब चिन्ह देखाएर छाप लगाउन सिकाउँदै भोट माग्नु नै छ । कार्यकर्ता देखि उम्मेदवार र नेतासम्म लाई स्थानीय तह निर्वाचनको चरम व्यस्तताले छोपिरहेका बेला पत्यार नलाग्न सक्छ, उनी भने हिमालको फेंदीमा एकहल गोरुको पछि–पछि कुँदीरहेका छन् ।  

हिमालपारीको जिल्ला मनाङका ४ गाउँपालिका मध्ये उत्तरीभेगको नारफू गाउँपालिकाको प्रमुखमा निर्विरोध भएपछि स्वतःनिवार्चित भएका गुरुङ चुनावी दौडधूपमा नभई करु रोप्न खेतबारीमा व्यस्त हुन थालेका हुन् । मोवाइल फोनमा कुरा गर्दै उनले भने, ‘आजभोलि त नार–फू मा करु, आलु, बन्दा, फूलगोभी लगाउने चटारो छ, त्यै भएर छरछिमेकी सँगै हलगोरु लिएर बारीमा जुटेको छु ।’ वर्षौंदेखि मुख्य पेशाका रुपमा खेतीपाती र पशुपालन गर्दै आएका मिङ्मारलाई गाउँपालिका प्रमुख बन्नका लागि चुनाबी प्रकृयाको लम्बेतान र तामझाम पूर्ण ‘रेस’मा उत्रिनु नपरे पछि ढुक्कले खेतीपातीमा लाग्ने फुर्सद मिलेको छ ।

देशको राजनीतिक परिवर्तन र परिवेशले उनलाई बेलाबखत माथिल्लो भेगबाट राजनीतिक जिम्मेवारीमा तानिरहन्छ । तर उनी राजनीतिमा कम र घरायसी काम धन्दा, खेतीपाती र बस्तुभाउको स्याहार सुसारमा बढी समय खर्चिन्छन् । २०७० मा भएको संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक उम्मेदवारका टिकट पाएका उनी स्थानीय निकाय निर्वाचनमा भने माथिल्लो भेगबाट नेपाली काँग्रेसको प्रतिनिधिका रुपमा निर्विरोध निवार्चित भएका हुन् । झण्डै ३० मिनेट जति मोवाइलफोन संवादका क्रममा उनले दोहोर्याइ, तेहर्याई भनिरहे–‘नार र फू दुई गाउँको दाजुभाई र इष्ट्रमित्रले हाम्रो हित हुन्छ भने काँग्रेसमै गएर अघि बढ न त भन्यो अनि म अघि सरेको ।’ करिब साँढे ४ हजार आसपासको उचाईमा रहेको नार र फू गाउँलाई अहिलेसम्म सडकले छोएको छैन । त्यसैले उनी गाउँपालिका प्रमुख भएसँगै प्रमुख एजेण्डा नै गाउँलाई सडकले जोड्ने । 

गाउँमा उत्पादन हुने भनेकै करु, आलु नै हो, पहिले–पहिले फापर, जौ पनि हुन्थ्यो तर पछिल्लो समयमा त्यो पनि राम्रो नफल्ने उनले बताए । खानको लागि रासन छिमेकी जिल्ला लमजुङको बेसीशहरबाट लैजानु पर्छ । बेसीशहर देखि कोतोसम्म जीपमा र कोतोदेखि गाउँसम्म घोडा, खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । उनका अनुसार खाद्यन्न ढुवानी नै स्थानीयको मुख्य समस्या हो । हिउँदमा गाउँमा हिउँ पर्ने भएकाले बस्न सकिदैन, बेसीतिरको मेता र च्याकु गाउँमा बसाई सर्नुपर्छ । वर्खाको समयमा प्रशस्त खाद्यन्न लगायतको समस्याले गाउँको बसाई त्यति सहज हुँदैन । गाउँलेको जीवनयापन सहज बनाउने पहिले उपाय यातायात सेवा गाउँमा पुर्याउनु नै भएको उनको ठहर छ ।

मौसम अनुसारको खेतीपाती सँगै भेंडा, चौरी, घोडा र गाईगोरु पालेर हिउँदमा नम्ङग्या खर्क र बर्खामा लेप्चे लेकको खर्कतिर धाउँदै हिमाली जीवनयात्रा गर्दै आएका ४५ वर्षे गुरुङको अर्को योजना पनि छ । आफ्नो गाउँवस्ती र लेकमा पाईने यार्सागुम्बा लगायतका थुप्रै हिमाली जडीवुटीको संकलन देखि बिक्री वितरणसम्म अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्दै राम्रो आम्दानी गर्नु उनको अर्को योजना हो । दुर्गम वस्तीमा राम्रो स्कूल नहुँदा गाउँलेले छोराछोरी बेसीशहर, पोखरा, काठमाडौं लगायतका शहरमा महँगो शुल्क तिरेर पढाउनु पर्ने वाध्यताको अन्त्य गर्नुपर्ने जिम्मेवारी पनि आफ्नो काँधमा रहेकाले गुणस्तरीय पठनपाठनको व्यवस्था मिलाउने योजना बनाएको पनि उनी बताउँछन् ।

साविक नार गाविस ४ वा हालको नारफू गाउँपालिका १ नारगाउँमा बस्दै आएका मिङमार संयुक्त परिवारमा बस्दै आएका छन् । आफ्नो आमा–बाबा, श्रीमति, २ छोरा, २ वहिनी, १ दिदी भएको बताउने उनका भाईहरु र दिदी गुम्बामा सेवा गर्ने, बहिनी मेतामा होटल व्यवसाय गर्दैछन् । एकमात्रै दाजु भएको तर गतसाल हिउँ पहिरोमा परेर ज्यान गुमाए पछि उनी निकै दुःखी भएको उनले बताए । ६ वर्षीय ठूलो छोरा काठामाडौंमा अध्ययन गर्दैछन् भने सानो छोरा आफुसँगै रहेको उनी बताउँछन् । माथिल्लो मनाङ्गीहरुको भविष्यका स्वास्थ्य, शिक्षा, स्वरोजगारी, पर्यटन, जडीवुटी, स्थानीय खेतीपाती लगायतका क्षेत्रमा गर्न सकिने थुप्रै अवसरहरुको विचमा आफु भएकाले नेताहरुले पनि सकरात्मक रुपमा साथ दिएमा ५ वर्षे कार्यकालमा मनाङबासीको खुशी हेर्न पाउनेमा आशावादी भएको समेत मिङमार बताउँछन् ।

स्थानीय निकाय निर्वाचन प्रकृया सुरु भएसँगै मुलुकमै पहिलो निर्विरोध निवार्चित गाउँपालिका प्रमुख गुरुङ सँगै नारफू गाउँपालिकाको उपप्रमुखमा स्वतन्त्रबाट कोञ्जा् तेन्जिङ लामा निर्विरोध निर्वाचित भएका छन् भने १ देखि ३ वडा सदस्यमा पनि नेपाली काँग्रेस, ४ र ५ नं वडामा स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराइएकोमा ति सबै निर्विरोध हुन् ।

प्रकाशित: २१ वैशाख २०७४ ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App