coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

स्मार्टीकृत नेता

तपाईँ खाना पकाउँदै हुनुहुन्छ। पकाउँदा पकाउँदै अचानक तपाईँको ग्यास बन्द हुन्छ। खाना जम्मै हाफ ब्वाइल।

अथवा तपाईँ बाथरुममा आनन्दले नुहाउँदै हुनुहुन्छ। नुहाउँदा नुहाउँदै अचानक तपाईँको पानी बन्द हुन्छ। जिउभरि साबुनै साबुन। कम्मरमा एउटा कट्टु। अब गर्ने के?

वा तपाईँ भर्खर बिहे सकेर आफ्नै गाडीमा हनिमुन टुर जानुभएको छ। जाँदाजाँदै बाटोमा गाडीको स्टेयरिङ जाम हुन्छ। न अगाडि बढ्छ, न पछाडि हट्छ। के गर्ने?

स्मार्ट भनेपछि त्यो गाडी होस् वा नेता, त्यसको सञ्चालन त अर्कै ठाउँबाट भइरहेको हुन्छ। नेता नेपालमा भए पनि रिमोटचाहिँ अर्कै ठाउँमा हुन्छ। फलतः त्यसको सञ्चालन पनि उतैबाट भइरहेको हुन्छ। अब उता भनेको कता हो त्यो नेतालाई पनि थाहा हुँदैन।

बुझ्दा थाहा हुन्छ, तपाईँले त आफ्नो घर/जग्गाको करै तिर्नुभएको रहेनछ। वा घरबहाल कर बुझाएको रहेनछ। अथवा बाटो काट्दा जेब्रा क्रसिङ प्रयोग नगरेको रहेछ। यति हुनेबित्तिकै तपाईँको धारा पनि जाम, ग्यास पनि जाम, बिजुली पनि जाम, गाडी पनि जाम। अन्ततः तपाईँ पूरै जाम।

यसलाई भनिन्छ स्मार्ट सिटी। काठमाडौं महानगरपालिकाको चुनाव लडिरहेका उम्मेदवारहरू कोही पनि हारेनन् भने पूरा काठमाडौं स्मार्ट सिटी बन्ने पक्का छ। किनभने महानगरमा उठिरहेका जम्मै उम्मेदवारहरूको घोषणापत्रमा अहिले स्मार्ट सिटीको खुब चर्चा छ। स्मार्ट सिटी, स्मार्ट सिटिजन, स्मार्ट कार्ड, स्मार्ट गभर्मेन्ट, स्मार्ट सर्भिस....गनिसाध्य छैन, जम्मै स्मार्टहरूले घोषणापत्र भरिएको छ।

अहिले हुन लागेको चुनाव नै वास्तवमा एउटा स्मार्ट चुनाव हो। पहिले पहिले चुनाव भनेपछि तीन महिनाअघि नै उम्मेदवार घोषणा भइसक्थे। उम्मेदवारहरू मतदाताको घरमा मात्र होइन, मतदाताका ससुराली, मावली, काका–काकी, मामा–माइजुतिर पनि घरदैलो गर्न भ्याइसकेका हुन्थे। तर अहिले त्यो जमाना रहेन। अहिले त नामांकन दर्ताको एक घन्टाअघिसम्म पनि उम्मेदवार को हो कसैलाई थाहा हुँदैन। पार्टी कार्यालयमा आकांक्षीहरू कुरेर बसिरहेका हुन्छन्। टिकट पाउनेबित्तिकै उहीँबाट दौडेर नाम दर्ता गर्न जाने हो। नदौडे नाम दर्ता गर्न नभ्याउन पनि सक्छ।

शायद त्यसैले पनि होला, जम्मै उम्मेदवारहरू अहिले 'स्मार्टवाद' को पछि लागेका छन्। स्मार्ट सिटीका नाममा उनीहरूले दिएका कतिपय नारा पूरा होला जस्तो पनि लाग्दैन। तर यो पूरा नहोला जस्तो लागेको मात्रै हो। पूरा हुने सम्भावना भने पूरै छ। किनभने देशमा अहिले जति पनि नेता छन्, उहाँहरू पनि जम्मै स्मार्ट भइसकेका छन्। अहिले मुलुकमा जति पनि नेताहरू छन्, जम्मै 'स्मार्ट नेता' हुन्। क्लासिक नेता कोही पनि छैनन्, जम्मै स्मार्ट हुन्।

स्मार्ट सामानमा एउटा कुरा कस्तो हुन्छ भने, जो सामान हामीसँग छ त्यसलाई हामी आफैँले चलाइराख्नु पर्दैन। त्यसलाई चलाउने अर्कै एउटा वस्तु हुन्छ, जसलाई रिमोट भनिन्छ। रिमोट चलाएपछि सामान आफैँ चल्छ। हाम्रो घरको ढोका स्मार्ट छ भने त्यसलाई घरैमा गएर बन्द वा खुला गरिरहनुपर्दैन। अर्कै ठाउँमा बसेर हामी आफ्नो घरको ढोका बन्द वा खुला गर्न सक्छौं। स्मार्ट ढोका यस्तो हुन्छ।

अहिले स्मार्ट मोटरसाइकल आएको छ। कसैले चोरेर लग्यो भने त्यसलाई दौडेर समातिराख्नु पर्दैन। घरैमा बसेर मोटरसाइकलको स्टार्ट बन्द गर्न सक्छौँ। मोटरसाइकल भक्तपुरमा छ भने तपाईँ ललितपुरमा बसेर त्यसको चक्का जाम गर्न सक्नुहुन्छ।

तपाईँ पहिलो तलामा हुनुहुन्छ भने छैटौं तलाको चुलो मजाले बन्द गर्न सक्नुहुन्छ, तपाईँको चुलो 'स्मार्ट चुलो' हो भने। तर दाउराले बाल्ने चुलो हो भनेचाहिँ त्यसरी मजाले 'अन' वा 'अफ' गर्न सक्नुहुन्न। पोहोर तीन महिना दाउरावाला चुलो बाल्दा मैले यो कुरा थाहा पाएको हुँ।

अहिले बजारमा स्मार्ट फोन, स्मार्ट बत्ति, स्मार्ट फ्यान, स्मार्ट हिटर आदि आदि स्मार्ट सामानहरू प्रशस्त आएका छन्। यही हुलमुलमै नेपालमा 'स्मार्ट नेता' पनि आएको हुनुपर्छ। अब स्मार्ट भनेपछि त्यो गाडी होस् वा नेता, त्यसको सञ्चालन त अर्कै ठाउँबाट भइरहेको हुन्छ। नेता नेपालमा भए पनि रिमोटचाहिँ अर्कै ठाउँमा हुन्छ। फलतः त्यसको सञ्चालन पनि उतैबाट भइरहेको हुन्छ। अब उता भनेको कता हो त्यो नेतालाई पनि थाहा हुँदैन। हाम्रो सामु चलिरहेको त हुन्छ। तर कहाँबाट चलाइरहेको हो त्यो हामीलाई थाहा हुँदैन। नेतामात्रै भए त यस्तो सम्भव छैन। 'स्मार्ट नेता' भएपछि यो सम्भव हुन्छ।

अहिले देशको राजनीति नै पनि विस्तारै 'स्मार्टीकरण' हुँदै गइरहेको देखिन्छ। यस्तो स्मार्टीकृत राजनीतिमा नेताहरू स्मार्ट हुनु जरुरी पनि छ। होइन भने राजनीतिमा टिक्नै सकिँदैन। यसरी राजनीति र राजनेता दुवै 'स्मार्ट' हुँदै गइरहेकाले हाम्रो सहर पनि स्मार्ट हुन्छ भन्ने कुरामा शंका गर्नुपरेन।                    

यो समय भावनामा बगेर म यो पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर जस्तोसुकै उम्मेदवारलाई भोट हाल्ने बेला होइन, यो त सबैको लागि हित गर्न सक्ने समाज, देश र जनताको हितको लागि रक्षा गर्न सक्ने कर्मठ, इमान्दार र योग्य उमेदवारलाई एक भोट हाल्ने साहस देखाउने बेला हो।

प्रकाशित: २२ वैशाख २०७४ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App