coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सदरमुकाममै घुमिरहेका ‘फरार’ देख्दैन प्रहरी

इलाम-युवतीमाथि यौनजन्य दुव्र्यवहार आरोप लागेका एक स्वास्थ्यकर्मी प्रहरीको रेकर्डमा ‘फरार’ छन्। तर, उनी कहिले जिल्ला स्वास्थ्य कार्यालय नै आएर ‘मलाई काममा फर्काइयोस्’ भन्ने निवेदन हाल्छन् त कहिले आफ्ना सहकर्मीसँग सदरमुकामकै होटलहरूमा भेटिन्छन्।

                तर, सातायता उनी सदरमुकाममै घुमिरहेपनि प्रहरीले ‘देखेको नदेख्यै’ गरिरहेको छ । माइमझुवा गाविसस्थित स्वास्थ्य चौकी इन्चार्ज असिस्टेन्ट हेल्थ वर्कर (अहेव) उमेश साह जेठ दोस्रो सातायता प्रहरी नजरमा ‘फरार’ आरोपी हुन् । आफूलाई यौनजन्य दुव्र्यवहार गरेको दाबी गर्दै २५ वर्षीया युवतीले सप्तरीको औरही गाविस–२ घर भएका साहविरुद्ध जिल्ला प्रशासन कार्यालयमा जेठ १२ मा उजुरी दिएकी थिइन् । उजुरीपछि साह फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले त्यतिबेला जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत पत्र लेखेर ‘साह कतै सम्पर्कमा भए अनुसन्धानमा सहयोग गरिदिन’ आग्रह गरेको थियो ।

                तर, साहले गत असार ३० मा जिल्ला जनस्वास्थ्य कार्यालयमै आएर आफूलाई पुनः काममा फर्काइदिन आग्रह गर्दै कार्यालय प्रमुखसमक्ष निवेदन हालेका छन् । तर, आफू असार २६ मै काठमाडौं आएकाले साहको निवेदनमाथि कुनै कारबाही नचलेको जनस्वास्थ्य प्रमुख राजकुमार पोख्रेलले बताए । ‘कार्यालयमै आएर साहले पुनरावेदन अदालतले आफूलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको भन्दै काममा फर्काइदिन आग्रहसहित निवेदन पेश गरेको जानकारी पाएँ,’ काठमाडौंमै रहेका प्रमुख पोख्रेलले भने, ‘कार्यालयमै आएर निवेदन हालेपछि त उनी हाम्रो सम्पर्कमा छैनन् भन्न मिलेन ।’

                जिल्ला अस्पतालमा विभिन्न सूचना संकलनका लागि एक प्रहरी प्रतिनिधि निरन्तरजसो खटिन्छन्। अस्पतालसँगै जोडिएको जनस्वास्थ्य कार्यालयमा फरार आरोपी आउँदासमेत प्रहरीले पक्राउ गर्न नसकेको हो । साह अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरी दाबी छ । जिल्ला प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रुद्र चुडालले जनस्वास्थ्य कार्यालय आएको जानकारी पाएर पक्राउका लागि प्रहरी पठाउँदा उनी त्यहाँबाट भागेको बताए । ‘हामी उनलाई पक्रन गएको सूचना पाएकाले हुनसक्छ, एकछिन बाहिर गएर आउँछु भनी हिँडेका साह त्यसपछि कता भागे पत्तो छैन । हामी खोजिरहेका छौं।’

                पुनरावेदन अदातले ‘फौजदारी अभियोगबाहेक साहलाई नपक्रन’ दिएको अन्तरिम आदेश प्रहरीमा पनि अदालतबाटै आएको चुडालले बताए। ‘साहविरुद्ध जुन केसमा उजुरी छ, त्यसमा सर्वोच्चलेनै आदेश गरेपनि छाड्न मिल्दैन,’ चुडालले भने, ‘हामी साहलाई भेट्नेबित्तिकै पक्रन्छौं।’ फरार साह गत असार २७ गते साँझ पनि इलाम बसपार्कको एक होटलमा केही स्वास्थ्यकर्मीहरूसहित पस्दै गरेको देखेको एक प्रत्यक्षदर्शीले बताए।

                सामाजिक संस्थामा कार्यरत एक युवतीले साहले कार्यस्थलमै आफ्नो शरीरमा हात लगाएर यौनजन्य दुव्र्यवहार गरेको भन्दै उजुरी दिएकी थिइन् । साहले ती युवतीलाई मोबाइलमा ‘तिम्रो इच्छा के छ ?’ भन्दै एसएमएस पठाएका थिए। ‘मेरो इच्छा केही छैन, तपाइँको ?’ भन्ने जवाफसहितको आफ्नो जिज्ञासामा साहले ‘एक–अर्कालाई माया गर्ने’ प्रत्युत्तर पठाएको उनले बताइन्।

 

प्रकाशित: १ श्रावण २०७३ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App