coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

छनोट भएका उम्मेद्वारहरू चुनावी प्रचारमा

अर्घाखाँची  – आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा दुई राजनीतिक दलले मात्र सबै  उम्मेद्वारहरुको टुङ्गो लगाएका छन् । नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले सबै पदका उम्मेद्वारहरु तय गरेपनि कांग्रेस र माओवादी केन्द्र लगायतका अन्य साना दलहरुले अझै उम्मेद्वार तय गर्न सकेका छैनन् । दोस्रो चरणमा जेठ ३१ गते निर्वाचन हुने भएपछि दलहरुले उम्मेद्वार छनोट गर्न ढिलाइ गरेका हुन । एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेद्वारहरु चुनावी प्रचारमा जुटेका छन् । उनीहरु आफ्ना चुनावी एजेण्डाहरु लिएर  मतदाताहसँग भोट माग्नमा व्यस्त छन् ।  एमालेले सन्धिखर्क नगरपालिकामा कृष्ण श्रेष्ठ, भुमिकास्थान नगरपालिकामा पिताम्बर भुसाल, र सितगंगा नगरपालिकामा बसन्त श्रेष्ठलाई मेयरको रुपमा अघि सारेको छ ।

यस्तै पाणिनी गाउँपालिकामा जीवनारायण कोइराला, मालारानी गाउँपालिकामा बालकृष्ण आचार्य र छत्रदेव गाउँपालिकामा ऋषिराम अधिकारी प्रमुखमा प्रतिस्पर्धा गर्दैछन् ।  राष्ट्रिय जनमोर्चाको तर्फबाट सन्धिखर्कमा कल्पना पोख्रेल, भुमिकास्थानमा कविराम खनाल, सितगंगामा गोविन्द थापा, पाणिनीमा  देवी भुसाल, मालारानीमा नरेन्द्र थापा  र छत्रदेवमा हरि न्यौपानेले प्रतिस्पर्धा गर्दैछन् । माओवादी केन्द्रले मालारानी गाउँपालिकामा पदम क्षेत्रीलाई उम्मेदवार बनाएको छ  । अन्य ठाउँमा भने माओवादी केन्द्रका उम्मेद्वार तय भएका छैनन् । जिल्लामा चार दलको उपस्थिति दरिलो छ ।  संविधानसभा २०७० को समानुपातिक मतमा एमाले पहिलो, कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राष्ट्रिय जनमोर्चा चौथो हो । छ स्थानीय तह मध्ये धेरै स्थानमा कांग्रेस÷एमालेकै प्रतिस्पर्धा हुने देखिएको छ । 

पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा कांग्रेस बलियो  देखिन्छ  । यि दुई स्थानमा कांग्रेस, एमाले बीच प्रतिस्पर्धा हुने संभावना छ  । भुमिकास्थान नगरपालिका र मालारानी गाउँपालिकामा एमाले बलियो देखिन्छ ।०७० को संविधानसभामा मालारानीमा  माओवादी केन्द्र अघि रहेको भएपनि अहिले माओवादी केन्द्र भन्दा एमाले बलियो बन्दै गइरहेको छ  । मालारानीमा एमाले र माओवादी केन्द्रका बीचमा प्रतिस्पर्धा हुने  देखिन्छ । यहाँ एमालेका बालकृष्ण आचार्य र माओवादी केन्द्रका पदम क्षेत्री दुबै बलिया उम्मेद्वार हुन । 

भुमिकास्थानमा एमाले अघि देखिएपनि कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समेत बलियो उपस्थिति छ । भुमिकास्थानमा चार पार्टी बीचमै प्रतिस्पर्धा  हुने देखिन्छ । यहाँ एमालेले पूर्व जिविस सभापति पिताम्वर भुसाल र राष्ट्रिय जनमोर्चाले अखिल नेपाल युवक संघ अध्यक्ष कविराम खनाललाई प्रतिस्पर्धामा उतारेको छ । सन्धिखर्क नगरपालिका र सितगंगा नगरपालिकामा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा हुने संभावना छ ।

एमालेले यि दुबै ठाउँमा प्रभावशाली उम्मेद्वारलाई प्रतिस्पर्धामा उतारेको छ । कांग्रेसले पनि प्रभावशाली उम्मेद्वारलाई प्रतिस्पर्धामा उतार्ने तयारी गरिरहेको बुझिन्छ । स्थानीय तहको निर्वाचनमा जिल्लामा  तालमेलको संभावना  बढि रहेको छ । तालमेलका लागि सबैजसो दल छुट्टाछुट्टै वार्तामा बसेपनि अझै निष्कर्षमा पुग्न सकेका छैनन् । माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चालाई आफ्नो पक्षमा लिएर चुनावमा गई प्रतिस्पर्धी शक्तिलाई कमजोर बनाउने दाउमा कांग्रेस÷एमाले दुबै दल देखिन्छन् ।  माओवादी केन्द्रले धेरै सिट मागेका कारण कुनै दलसँग पनि अझै सहमति हुन नसकेको बुझिएको छ । यद्यपी कांग्रेस, एमाले बीच पनि तालमेलको कुरा चलिरहेको छ । 

प्रकाशित: २३ वैशाख २०७४ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App